उत्पादन बढाउन रासायनिक विषादीको व्यापक प्रयोग भइरहेको पाइन्छ। अधिकांश साना तथा ठुला किसानले रासायनिक विषादीको प्रयोगबिना उत्पादन गर्नै छाडेका छन्। बजारमा रासायनिक मल र विषादी अभाव हुँदा त्यस्ता किसानलाई निकै छटपटाहट हुने गरेको छ। तर चितवनका केही किसान भने रासायनिक विषादीको प्रयोग नगरी पनि मनग्गे उत्पादन गर्न सकिन्छ भन्ने प्रमाण बनेर उभिएका छन्।
भरतपुर महानगरपालिका–१५ का चन्द्रप्रसाद अधिकारीले जैविक विषादी र प्रांगारिक मलको मात्र प्रयोग गरेर राम्रै उत्पादन लिइरहेका छन्। चार बिघामा तरकारी खेती गरिरहेका उनले रासायनिक विषादीबिना पनि उत्पादन सम्भव छ भन्ने उदाहरण पेस गरिरहेका छन्। उनको जमिनले पछिल्लो समय मात्र नभएर २०४७ सालदेखि नै रासायनिक पदार्थ देख्न पाएको छैन। ‘रासायनिक मल, विषादी र औषधि किन्न धेरै पैसा खर्च हुन्छ। यताबाट एक लाख रुपैयाँ कमाउँदा उता पसलमा त्योभन्दा बढीको बिल बनिरहेको हुन्थ्यो,’ उनले भने, ‘अहिले मेरोमा एग्रोभेटको बिल शून्य छ। गोडमेलमा खर्च बढे पनि उत्पादन कत्ति पनि घटेको छैन।’ प्रांगारिक खेतीबाट लगानी उठाउन कुनै गाह्रो नपर्ने उनी बताउँछन्।
२०३० सालबाट व्यावसायिक रूपमा खेती गरेका अधिकारीले सुरुआती दिनमा रासायनिक पदार्थको व्यापक प्रयोग नगरेका होइनन् तर विषादीले माटो बिगारेपछि उनी नयाँ विकल्प खोज्नतिर लागेका हुन्। ‘रासायनिक मल र विषादीको प्रयोग गर्दा रोग किराको प्रकोप बढ्न थाल्यो। प्रत्येक वर्ष लगानी पनि बढ्दै गयो,’ विगत सम्झँदै अधिकारीले भने, ‘माटो बिग्रिएर विषादी हाल्दा समेत नभएर दुई वर्ष तीन बिघामा लगाएको टमाटर सत्यानाश भयो।’ बढी विषादी प्रयोगका कारण खेती हुन छाडेपछि प्रांगारिक खेतीतर्फ मोडिएको उनले बताए।
अधिकारीले २०४७ सालबाट आफ्नो खेतबारीमा कृत्रिम कृषि रसायन प्रयोग गर्न छाडेका हुन्। व्यावसायिक रूपमै खेतीमा लागेका अधिकारीले सुरुआती वर्षहरू सोचेजस्तो उत्पादन गर्न सकेनन्। ‘सुरुको वर्ष उत्पादन कम भयो। दोस्रो वर्ष छिमेकीको भन्दा अलिकति मात्र कम भयो,’ उनले भने, ‘तेस्रो वर्षदेखि पहिलाकै जति उत्पादन हुन थालिहाल्यो।’
अधिकारीले रसायन नहाली उत्पादन त्यत्तिकै वृद्धि भने गरेका होइनन्। उनले माटोको अम्लीयपन हटाउन गोठेमलसहित प्रांगारिक मलको बढी प्रयोग गरेका थिए। अधिकारीले अहिले जैविक विषादीसमेत आफैँले बनाउने गरेको बताए। ‘जैविक विषादी र मल आफैं बनाउँछु। बालीनालीमा रोग लाग्दा जैविक विषादीको प्रयोग गर्छु,’ उनले भने, ‘रासायनिक विषादी प्रयोग गर्न छाडेपछि माटोमा अम्लीयपनसमेत घट्दै गयो।’ अधिकारीका अनुसार पारिस्थितिक प्रणालीलाई व्यवस्थापन गर्न सके रसायन विषादीको प्रयोग गर्नुनपर्ने उनले बताए।
‘इको सिस्टम म्यानेज गर्न सक्यौँ भने रोग कम लाग्छ,’ उनले भने, ‘गोठेमलको बढी प्रयोग गर्ने किसानहरूले विषादी प्रयोग गर्नैपर्दैन।’ उनले गोठे मल, कम्पोस्ट मल, जीवामृत, पञ्चामृत, वेस्ट डिकम्पोजर, निमजस्ता मल र विषादी उत्पादन गर्दै आएका छन्। उनका अनुसार वस्तुको आलो गोबर र पिसाबबाट जीवामृत बनाउने गरिन्छ। त्यसमा दालको पिठो, भेली, अक्सिजन दिने रुखमुनिको माटो मिसाएर जीवामृत बनाइन्छ। यसले माटोलाई मलका रूपमा परिणत गर्छ। मौसमअनुसार १५ देखि २२ दिनसम्म राखेपछि यस्तो मल तयार हुन्छ। यसलाई भाँडोमा राखेर ‘स्प्रे’ गरिन्छ।
तरकारीबाहेक गाजर, चुकन्दर, धान, मकै, गहुँ, तोरीमा पनि उनी त्यही मल लगाउँछन्। यी बालीमा रासायनिक मल राख्न अन्य किसान दिनभर लाइन बस्छन्। उनलाई भने त्यस्तो दुःख छैन। रासायनिक विषादी प्रयोग गरेर उत्पादन गरेका वस्तुसँग प्रतिस्पर्धा गर्न सकिने उनको दाबी छ। अहिले उनले उत्पादन गरेको गाजर र चुकन्दर जर्मनीमा समेत निर्यात हुन्छ। तीन वर्षयता तीन क्विन्टल गाजर र सात क्विन्टल चुकन्दर जर्मनी निर्यात भएको उनले जानकारी दिए। यो वर्ष पनि उनले जर्मनी पठाउने तयारी गरेका छन्। उनले वार्षिक १३ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्। उपभोक्ताको चाहना प्रांगारिक भए पनि बजार व्यवस्थापन हुन नसक्दा उपभोक्ताहरू विषादी हालेर उत्पादन गरिरहेका वस्तु उपभोग गर्न बाध्य भएको उनले बताए।
अधिकारी प्रांगारिक खेतीका अभियानकर्तासमेत हुन्। रसायनले माटोको उर्वराशक्ति कम हुँदै गएपछि अन्य किसानलाई समावेश गरेर २०५९ सालमा चितवन जिल्लामा प्रांगारिक कृषि उत्पादक सहकारी संस्थासमेत स्थापना गरे। हाल यस सहकारीमा दुई सय जना सदस्य छन्। यस्तै जिल्ला प्रांगारिक संघसमेत चितवनमा स्थापना गरिएको छ। संघकै सक्रियतामा अर्गानिक वस्तुको बिक्री–वितरण गर्न काठमाडौंको टोखामा अर्गानिक भेन्चरसमेत स्थापना गरिएको छ। उनले आफ्नो उत्पादन त्यहाँ पठाउँछन्। संघमार्फत चितवन जिल्लाका अन्य किसानहरूलाई समेत प्रांगारिक खेतीतर्फ आकर्षित गर्ने काम भइरहेको छ।
कालिका नगरपालिका–५ का महेन्द्र पौडेलको बालीमा नौ वर्षअघिसम्म रासायनिक विषादीको प्रयोग हुन्थ्यो। तर आठ वर्षदेखि भने रासायनिक पदार्थ प्रयोग भएको छैन। १० कट्ठा जग्गामा प्रांगारिक खेती नै गरिरहेका छन्। ‘हाम्रो बारी बिग्रिएर विषादी नहाली उत्पादन हुने अवस्था थिएन। हाम्रो स्वास्थ्य पनि विषादीकै कारण बिग्रिरहेको थियो,’ मेवाको गोडमेल गर्दैगर्दा भेटिएका पौडेलले भने, ‘रासायनिक खानाकै कारण होला बुवालाई क्यान्सर भएपछि प्रांगारिक खेतीमा लागें।’ भारतमा १५ र मलेसियमा तीन वर्ष बिताएका पौडेलले बुवा बिरामी भएपछि नेपाल आएर अर्गानिक खेतीमा लागेको बताए। उनले असुरो, निम, तितेपातीलगायत वनस्पतीबाट जैविक मल बनाउनेसमेत गर्छन्। लगानी कटाएर वार्षिक चार लाख रुपैयाँ आम्दानी गर्छन्। उत्पादन बढाउन रासायनिक विषादी प्रयोग गर्नुनपर्ने उनको अनुभव छ।
किसानहरूले भोग्नुपरेको ठुलो समस्या हो रासायनिक मलको अभाव। खेती लगाउने समयमा मल नपाउँदा उत्पादन बढाउन नसकिएको गुनासो उनीहरूको हुने गर्छ। तर रत्ननगर नगरपालिकाका–१५ स्थित माधवपुरका किसान महेन्द्र श्रेष्ठलाई रासायनिक मलको कुनै चिन्ता छैन। करिब नौ कट्ठामा खेती गर्दै आएका श्रेष्ठले प्रांगारिक मलकै भरमा उत्पादन बढाइरहेका छन्। विगतमा रासायनिक विषादी हालेर खेती गर्दै आएका श्रेष्ठले पाँच वर्षदेखि प्रांगारिक खेती गर्दै आएका छन्। ‘सामाजिक सञ्जालमार्फत रासायनिक पदार्थको प्रयोगले स्वास्थ्यमा समस्या हु्ने थाहा पाएपछि अर्गानिक खेती गर्न सुरु गरेको हुँ,’ उनले भने, ‘विगतका केही वर्ष उत्पादन घटे पनि अहिले राम्रो उत्पादन भइरहेको छ।’ अर्गानिक वस्तुको उत्पादनका लागि सरकारले प्रांगारिक मलमा अनुदान दिनुपर्नेमा उनको जोड छ।
अघिल्ला वर्ष परीक्षण गरिएको चितवनको माटोमा ५५ प्रतिशतसम्म अम्लीयपन भेटिएको थियो। प्रांगारिक खेतीका लागि पशुपालन आवश्यक छ। बस्तुभाउको मल, झारपात कुहाएर बनाएको मलले माटोलाई खाद्यत्व प्राप्त हुन्छ। प्रांगारिक मलको अपुगका कारण विभिन्न रोग लाग्ने कृषकहरू बताउँछन्। बालीलाई मल चाहिने बेला रासायनिक मलको हाहाकार हुने र तिनको गुणस्तरको यकिन नहुँदा उत्पादनमा प्रतिकूल असर पर्नेसँगै परनिर्भरता बढाएकाले आफूहरू परम्परागत प्रांगारिक खेतीतिर लागेको श्रेष्ठको भनाइ छ।
चितवनमा प्रांगारिक कृषि प्रमाणीकरण अभियानसमेत थालेका छन्। चितवनमा जिल्ला प्रांगारिक संघ चितवनअन्तर्गतका २९ जना कृषकले अर्गानिक सर्टिफिकेसन नेपाल (ओसिएन) प्राप्त गरेका छन्। उनीहरूले ३६ दशमलव ४ हेक्टर क्षेत्रफलमा खेती गरेका छन्। त्यसबाहेक अन्य किसानले पनि प्रांगारिक खेती गरेको पाइन्छ। अहिले प्रांगारिक उत्पादनका लागि बजारीकरणमा समस्या रहेको अधिकारीले बताए।
नेपालमा करिब दुई लाख हेक्टरमा दुई लाख किसानले प्रांगारिक खेती गरेको तथ्यांक छ। कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेल प्रांगारिक खेतीको प्रवर्द्धनमा कार्यालय लागेको बताउँछन्। यस वर्ष हामीले प्रांगारिक खेतीको प्रवर्द्धन गर्न प्रांगारिक मल वितरणमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेका छौं,’ उनले भने, ‘विगतका वर्षमा प्रांगारिक खेतीको बजारीकरणका लागि प्याकेजिङ गर्ने र बिक्रेतालाई सहयोग गर्ने काम भएको थियो।’
रासायनिक विषादीबाट नेपालमा अर्बौं रुपैयाँ बाहिरिएको छ। क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको विषादी प्रयोग विधि पुस्तिकामा उल्लेख भएअनुसार नेपालमा ११ लाख ८३ हजार सात सय ४१ किलो विषादी बाहिरी मुलुकबाट भित्रिएको छ। रकमका आधारमा हेर्दा एक अर्ब ६९ करोड ६३ लाख रुपैयाँको विषादी आयात भएको छ। मुलुकमा मुख्यतः सात प्रकारका विषादी आयात हुन्छ। ती विषादी कीटनाशक, ढुसीनाशक, ब्याक्टेरियानाशक, झारनाशक, शंखेकीरानाशक, मुसानाशक र जैविक विषादी हुन्। यो रकम वैधानिक रूपमा आयात भएको परिमाणको हो। यस्तै गत वर्ष नेपालले चार लाख २६ हजार सात मेट्रिक टन रासायनिक मल आयात गरेको थियो।
यसरी बढ्दो विषादीको प्रयोगका कारण मानव स्वास्थ्यमा समेत असर परिरहेको नेपाल जनस्वास्थ्य प्रतिष्ठानको कृषि स्वास्थ्य तथा वातावरण विभागकी प्रबन्धक सिर्जना भट्टराई बताउँछिन्। ‘हाम्रो सर्भेअनुसार किसानमा विषादी न्यूनीकरणसम्बन्धी ज्ञान छ तर सरकारी स्तरबाट बजारीकरण लगायतका कुरामा ध्यान नपुग्दा अपनाउन सक्नुभएको छैन,’ उनले भने, ‘अर्गानिक वस्तुका उत्पादन तथा बजारीकरणका लागि जनस्तरसम्म जनचेतनामूलक कार्यक्रम गर्न आवश्यक छ।’
प्रकाशित: १ माघ २०८१ ०७:२० मंगलबार