पछिल्लो समय अमेरिकाका रेस्टुराँमा जाने ग्राहक ‘फाइन डाइनर’हरूले तिर्ने रकममा थोरै भए पनि टिप्ससमेत दिने गर्थे। अचेल त्यसरी दिइने टिप्स घट्न थालेको मात्र होइन यो चिन्ताजनक तरिकाले घटिरहेको एउटा अध्ययनले देखाएको छ। यस्तो टिप्स दिने प्रवृत्ति १९.३ प्रतिशतले घटेको देखिएको रेस्टुराँको व्यापार हेर्ने संस्था ‘टोस्ट’ले जनाएको छ।
टिप्स घट्नुको मूल कारण रेस्टुराँको खान्कीमा बढेको अचाक्ली शुल्क रहेको पनि अध्ययनमा देखिएको छ। हिजोसम्म ठिकैको खान्की अहिले बढेर खल्ती नै रित्तिने अवस्था आएपछि अमेरिकीहरूले टिप्स दिन कञ्जुसी गर्न थालेका छन्।
उता रेस्टुराँ सञ्चालकको दुःख पनि कम छैन। पछिल्लो समय कच्चा पदार्थको बढ्दो मूल्यका कारण उनीहरूले खान्कीको मूल्य पनि बढाउनु परेको छ। त्यसै पनि रेस्टुराँमा काम गर्ने कामदारको अभाव बढिरहेका बेला तिनलाई रेस्टुराँमा काम गर्न लोभ्याउन पैसासमेत बढाउनु परेको छ। यी सबैको मूल्य खान्कीमा जोडिन थालेपछि रेस्टुराँमा बसेर खानु निकै महँगो साबित हुन थालेको हो। यसले टिप्समा असर गरेको विज्ञहरू बताउँछन्।
सन् २०२१ को सुरुवाती समयसम्म अमेरिकीहरू रेस्टुराँमा गएर खान निकै बल गर्थे। त्यस अवधिका करिब ६ वर्ष रेस्टुराँको आम्दानी पनि निकै बढेको थियो। जब कोभिड १९ ले सर्वत्र बन्दाबन्दी भयो त्यसपछि भने रेस्टुराँको बिल पनि बढ्न थाल्यो।
बिल बढ्न थालेपछि रेस्टुराँ जाने, त्यहाँ खाने क्रम तीव्र गतिमा घट्न थालेको छ। पछिल्लो समय व्यापार कम हुन थालेपछि कतिपय रेस्टुराँले खान्कीको बिलमा टिप्ससमेत जोडर ल्याउने गरेका कारण पनि रेस्टुराँमा खानु महँगो हुन थालेको टोस्टले जनाएको छ।
पहिला एक झमटको बसाइमा गर्ने खर्चको आकार घट्दा प्रतिटेबल हुने आम्दानी पनि घट्न पुगेको छ।
सन् २०२१ सम्म रेस्टुराँमा छिर्ने व्यक्तिहरूमध्ये ५६ प्रतिशतले टिप्स दिने गर्थे। २०२४ मा घटेर २० प्रतिशतमा सीमित भएको छ। सन् २०२३ मा अमेरिकीहरू जति नियमित रूपमा रेस्टुराँ छिर्थे, २०२४ मा तीव्र गतिमा घटेको छ। यसको मूल कारण चाहिँ कोभिड १९ पछि धमाधम रेस्टुराँ बन्द भएकाले पनि रहेको केहीको दाबी छ।
खासगरी पछिल्लो समय रेस्टुराँलाई कंगाल घोषित गर्ने क्रम पनि बढेको छ। अमेरिकाको सबैभन्दा प्रख्यात रेस्टुराँ चेन टिजीआई फ्राइडेज्ले सन् २०२४ मा आफूलाई कंगाल घोषित गरेको छ।
दक्ष कामदारको अभाव पछिल्लो समय चुलिएका कारण पनि रेस्टुराँ बन्द हुँदैछन्। अर्कोतर्फ रेस्टराँका कामदारले पनि उपयुक्त दाम पाउँदैनन्। सन् २०२३ मा केन्द्रीय तथ्यांक विभागले रेस्टुराँका कामदारले उपयुक्त रकम नपाउने गरेको तथ्यांक जारी गरेको थियो। जसमा वेटर, बार टेन्डर, कुक र रेस्टुराँका अन्य कामदारसमेत परेका थिए।
कतिपय रेस्टुराँका कामदारले खान आउनेहरूसँग सिधै टिप्स पनि माग्ने गरेका छन्। नदिए गाली गर्ने गरेका भिडियो पनि सार्वजनिक भएका थिए। यसपछि केही सञ्चालकहरूले उपाय लगाएर रेस्टुराँको बिलमै टिप्सहरू पनि संलग्न गराउन थालेका हुन्।
प्रकाशित: २८ पुस २०८१ १०:४० आइतबार