२७ पुस २०८१ शनिबार
image/svg+xml
अर्थ

हिउँ कुर्दै जुम्लाका किसान, सुके गहुँ र जौ

जुम्लाको तातोपानी गाउँपालिका–३ की ५६ वर्षीया एलिसा रावललाई अन्न उत्पादनमा ह्रास आएपछि जीविका चलाउन धौ–धौ छ। दशक अघिको जस्तो अवस्था अब रहेन, कहिले खडेरी, कहिले असिनापानी, कहिले बाढीपहिरोले किसान मर्कामा परेका छन्। यो वर्ष हिउँ नपर्दा गहुँ र जौ सुक्न थालेका छन्, जसले कृषकहरूलाई खाद्यान्न अभावको चिन्तामा डुबाएको छ। 

किसानहरू निराश छन् किनभने बाहिरबाट आयातित सेतो चामलमा निर्भर हुनुपर्ने अवस्था आएको छ। केही वर्ष अघि ८ क्विन्टल गहुँ र १३ क्विन्टल जौ उत्पादन गर्ने रावलले गत वर्ष मुस्किलले २ क्विन्टल मात्र उत्पादन गरेकी छन्। ‘खडेरीले अनाज उत्पादन हुनै छाड्यो,’ रावलले भनिन्, ‘अन्न उत्पादन घटेपछि बाहिरबाट आयातित सेतो चामलको मुख ताक्नुपर्ने बाध्यता छ।’ एक दशकअघि सिमी, आलु, कोदो र फापर उत्पादन गर्ने गाउँलेहरू अहिले बजारबाट खरिद गर्न बाध्य छन्। 

जलवायु परिवर्तनको प्रभावले हिउँ नपर्दा उत्पादन घटेको छ, जमिन बाँझो छ। सिँचाइको अभावमा खेती प्रभावित भएको छ, र हिउँदे बालीमा ठूलो गिरावट आउने निश्चित छ। अन्न, स्याउ, र तरकारीमा पनि रोगकिरा र प्रकोप देखिएको छ, जसले उत्पादनमा थप ह्रास ल्याएको छ। स्थानीय किसान जगत न्यौपाने भन्छन्, ‘गाउँमा हिउँ परे र वर्षा भए सुबिकाल आउँछ, तर,सुख्खा खडेरीले खेतबारीमा छरेको बिउँ पनि उत्पादन हुँदन।

सधैं खडेरी परेपछि कसरी बालबच्चा पाल्ने।’ जलवायु परिवर्तनको प्रभावले हिमाली बस्तीमा हिउँ नपर्दा वर्षेनी उत्पादन घट्दै गएको कृषि विज्ञहरूको भनाइ छ। ‘उर्भर भूमि बर्सेनि बाँझिँदै गएको छ,’ उनले भने, ‘अन्नबाली उत्पादनबाटै आत्मनिर्भर भएका किसानलाई पनि बाहिरको खाद्यान्न किन्नुपर्ने बाध्यता छ।’ जुम्लामा धेरै किसानहरूको अवस्था उस्तै छ। ६३ वर्षकी कौशिला रावल सिजन अनुकूल वर्षा र हिमपात नहुँदा समस्यामा छिन्। हिमाली बस्तीका धेरै किसान खडेरीले खेतीयोग्य जमिनमा लगाएको गहुँ र जौ सुक्न थालेपछि किसानहरू निराश बनेका छन्।

गाउँको पाखोबारीमा चिनु, कागुनो र फापर फल्न छोडेको छ। एक दशकअघिसम्म उत्पादन गर्ने बालीहरू अहिले लगभग आधाले घटेको छ। जग्गा बाँझिँदै गएको स्थानीय किसानहरूको गुनासो छ। जुम्लाका किसानहरूले हिउँ कुरिरहेका छन्, जसले उनीहरूको आय आर्जनमा सुधार ल्याउन सक्छ। सुख्खा खडेरीले खेतबारीमा छरेको बीउ पनि उत्पादन हुँदैन। 

कृषि विज्ञहरूले जलवायु परिवर्तनको प्रभावले हिमाली क्षेत्रमा हिउँ नपर्दा उत्पादन घट्दै गएको बताउँछन्। यस वर्ष पुस महिनाको अन्तिमसम्म पनि हिमपात नहुनुले जौँ, गहुँ र उवा बालीमा मात्र नभई स्याउ बाली उत्पादनमा पनि ह्रास आउने देखिएको छ। कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार जुम्लामा कृषियोग्य जमिनको क्षेत्रफल ३८ हजार ४८६ हेक्टर छ, जसमध्ये धेरै जमिन बाँझो छ र खेती भइरहेको जमिन पनि कम छ। 

प्रकाशित: २७ पुस २०८१ ११:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App