२५ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

अझै उल्झनमा अर्थतन्त्र

शिथिल बनेको मुलुकको अर्थतन्त्र अझै उल्झनमा छ। राजनीतिक नेतृत्वले आर्थिक सुधारलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै आए पनि अर्थतन्त्र कठिन अवस्थाबाटै गुज्रिरहेको छ।

आर्थिक गतिविधि बढेर अर्थतन्त्र चलायमान भई आर्थिक वृद्धिमा सुधार हुने अपेक्षा गरिए पनि अर्थतन्त्रमा अझै समस्या देखिएको तथ्यांकले देखाउँछ। राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा आर्थिक वृद्धि ३.४ प्रतिशत मात्र छ।

पोहोरको पहिलो त्रैमासको तुलनामा आर्थिक वृद्धि ०.२ प्रतिशतले खुम्चिएको छ। आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा आर्थिक वृद्धि ३.६ प्रतिशत थियो। आर्थिक वृद्धि आव २०७९/८० को पहिलो त्रैमासमा ४.६ र २०७८/७९ को सोही अवधिमा ३.८ प्रतिशत थियो।

अहिलेको आर्थिक वृद्धिले मुलुकको अर्थतन्त्र अझै समस्यामा रहेको देखिएको अर्थविज्ञहरू बताउँछन्। यो आर्थिक वृद्धि सन्तोषजनक नभएको अर्थशास्त्री विश्व पौडेल बताउँछन्। ‘३.४ प्रतिशत मात्र आर्थिक वृद्धिलाई राम्रो मान्न सकिँदैन,’ उनले भने, ‘अर्थतन्त्रमा निजी क्षेत्रको योगदान बढाएर त्यसलाई चलायनमान बनाउनुपर्‍यो।’

गत आवको अन्तिम चौमासको तुलनामा भने अर्थतन्त्र ०.२ प्रतिशत मात्र विस्तार हुने अनुमान छ। गत आवको अन्तिम चौमासमा आर्थिक वृद्धिदर ३.२ प्रतिशत थियो। सरकारले चालु आवमा करिब ६ प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य राखेको छ। विश्व बैंकले भने यो वर्ष ५.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ।

गत आवको चौथो त्रैमासको तुलनामा चालु आवको प्रथम त्रैमासिक तुलनाअनुसार कुल १८ वटा औद्योगिक क्षेत्रमध्ये ६ वटाको ऋणात्मक रहेको तथ्यांक कार्यालयले जनाएको छ। अन्य क्षेत्रको सामान्य वृद्धिका कारणले समग्र कुल गार्हस्थ्य उत्पादन झिनो अंकले मात्र वृद्धि हुने अनुमान गरिएको हो। निर्माण क्षेत्र भने ऋणात्मक छ।

सरकारले करिब ४० अर्ब रूपैयाँ भुक्तानी नदिएको निर्माण व्यवसायीले बताउँदै आएका छन्। कोरोना महामारीबाट संकुचनमा भएको निर्माण क्षेत्र अहिले पनि ०.३ प्रतिशतले ऋणात्मक छ। ऋणात्मक रहेका क्षेत्रमध्ये निर्माणपछि खानी तथा उत्खनन १३.९ प्रतिशत, व्यापार ३.७ प्रतिशतले खुम्चिएको छ।

विद्युत् र सूचना तथा सञ्चार क्षेत्रको आर्थिक वृद्धि उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ। सबैभन्दा उच्च दरले वृद्धि विद्युत् र ग्यासमा देखिएको छ। यो क्षेत्रको वृद्धिदर २१.४ प्रतिशत छ।

यो त्रैमासिकमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा कृषि उत्पादनमा भएको वृद्धिले सघाउ पुगेको छ। अर्थमन्त्रमा सबैभन्दा ठुलो हिस्सा ओगटेको कृषिमा ३ प्रतिशतमात्र वृद्धि भएको छ। धानलगायत बर्खे बाली वृद्धि, तरकारी र नगदे बाली वृद्धि तथा पशुपन्छी उत्पादनमा भएको वृद्धिले कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव परेको हो। समयमा मल उपलब्धता, उन्नत बिउ प्रयोग, पर्याप्त मनसुनी वर्षाले समेत कृषि उत्पादनमा सहयोग पुगेको छ।

विद्युत् उत्पादन तथा वितरणमा भएको वृद्धि, पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको वृद्धि प्रमुख कारक रहेका छन्। यसका अतिरिक्त यातायात क्षेत्रमा भएको वृद्धि, स्वास्थ्य सेवामा भएको वृद्धि, सार्वजनिक प्रशासनका क्षेत्रमा भएको वृद्धिले समग्र अर्थतन्त्र सकारात्मक वृद्धितर्फ उन्मुख गराएको तथ्यांक कार्यालयले जनाएको छ।

विशेषगरी यस अवधिमा गएको बाढी तथा पहिरो र निर्माण क्षेत्रको वृद्धि ऋणात्मक भएका कारणले अर्थतन्त्रको वृद्धि सामान्य रहन गएको दाबी गरिएको छ। तथ्यांक कार्यालयले अर्थतन्त्रका विभिन्न १८ क्षेत्र गणना गरी जिडिपीको अनुमान गर्छ।

आवास तथा भोजन क्षेत्रको वृद्धिदर ६.३ प्रतिशत, निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा बिमा क्षेत्रको मूल्य अभिवृद्धि दर ५.७ प्रतिशत, प्रशासनिक सहयोगी सेवा क्षेत्र वृद्धिदर ५.४ रहने अनुमान छ।

त्यसैगरी वैज्ञानिक तथा प्राविधिक सेवा वृद्धिदर ५.१ प्रतिशत, थोक तथा खुद्रा व्यापारको ०.५ प्रतिशतले मात्र विस्तार भएको छ। औद्योगिक वस्तु उत्पादन क्षेत्रको वृद्धिदर २.३ प्रतिशत, शिक्षा ०.४, स्वास्थ्य ४.१ र घरजग्गा कारोबारमा ३.१ प्रतिशतको वृद्धि भएको तथ्यांक कार्यालयले जनाएको छ।

प्रकाशित: २४ पुस २०८१ ०६:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App