नेपाल एकीकरणताका पूर्वी सीमा विजय गरेर गाडिएका निसान फर्काइएको बाटोको संरक्षण गर्दै निसान पदयात्रा गरिँदै छ । पुस २४ देखि २६ सम्म भारतको नागरीगढीदेखि इलाम बजारको माइस्थानसम्म निसान पदयात्रा गर्ने गरी तयारी थालिएको आयोजकले जानकारी दिएको छ ।
तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भू–भाग विजय गरेर गाडेका निसान सुगौली सन्धिपछि फर्काएर राखिएका स्थानलाई जोडेर निसान पदयात्रा तयारी गरिएको हो । नेपाल–भारत पूर्वी सीमा मेची बजारबाट २४ गते बिहान पदयात्रा शुभारम्भ गरिने पदयात्रा आयोजक समितिले जनाएको छ ।
पदयात्रा निसान ल्याएर राखिएको अर्को स्थान करफोकको पूर्णेडाँडामा त्यस दिन आउनेछ । पुस २५ मा पूर्णेडाँडामा पदयात्राको औपचारिक उद्घाटन गरिने आयोजकमध्ये इलाम नगरपालिकाका वडा सदस्य विमल वैद्यले जानकारी दिए । उद्घाटनपछि पुनः सुरु भएको पदयात्रा निसान राखिएको अर्को स्थान माइजोगमाईको नामासालिङस्थित हात्तीटार आउनेछ ।
२६ गते बिहान नामसालिङबाट पुनः सुरु भएको पदयात्रा माइबेनी हुँदै अहिले निसान र तोप राखिएको इलाम बजारस्थित माइस्थानमा आउनेछ । पदयात्रामा करिब सय पदयात्री सहभागी हुनेछन् । इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकाले संयुक्त रूपमा पदयात्रा आयोजना गरेका हुन् । यो पदयात्राले पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरणको इतिहासलाई सम्झाउने र इलामको पर्यटकीय क्षेत्रमा नयाँ गन्तव्य तय हुने इलामका इतिहासकार युद्धप्रसाद वैद्य बताउँछन् ।
नेपाल एकीकरण गर्दै जाँदा पूर्वमा टिस्टा नदीसम्म पुगेको नेपालको सीमा सुगौली सन्धिपछि अहिलेको विन्दु (मेची नदी) कायम भएको इतिहास छ । नेपाल एकीकरण गर्दै जाँदा नेपाली सेनाको तत्कालीन श्रीनाथ पल्टनले पुरानो सीमा विन्दु नागरी गढीमा गाढेको निसान सुगौली सन्धिपछि १८७५ सालमा इलाम ल्याइएको थियो ।
त्यस बेला पूर्वी सीमा टिस्टाबाट फर्काइएका निसान करफोकको पूर्णेडाँडामा ल्याएर राखिएको थियो । त्यसपछि सुरक्षाको कारण देखाउँदै नामसालिङको हात्तीटार ल्याइएको र पछि इलाम सदरमुकाम भएपछि सदरमुकामस्थित माइथानमा ल्याइएको इतिहास रहेको वैद्यको भनाइ छ । जुन बाटो भएर निसान ल्याइएको थियो, त्यही मार्गलाई पदमार्ग बनाएर इतिहास संरक्षण र पर्यटन प्रवर्द्धन प्रयास थालिएको हो । निसान पदमार्ग करिब ४१.१ किलोमिटरको हुनेछ ।
पदमार्गमा पर्ने स्थानका स्थानीयले पदयात्रीको स्वागतका लागि तयारी गरिरहेका छन् । विभिन्न ठाउँमा पदमार्ग सहज बनाउने, सरसफाइ गर्ने र पदयात्रीको खाने–बस्ने व्यवस्थाका लागि स्थानीय जुटेको माइजोगमाई ४ का वडाध्यक्ष डुरन देवानले जनाए ।
पदयात्राका माध्यमबाट पर्यटक आकर्षित गर्न यो यात्रा सफल रहने विश्वास गरिएको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले बताए । उनले यो ऐतिहासिक पदमार्गमा पर्यटक आकर्षित हुनसके पर्यटनको नयाँ गन्तव्य विकास हुने बताए ।
इलाम नगरका मेयर केदार थापाले पदयात्रा पर्यटनबाट आर्थिक विकासमा सहयोग गर्न यो पदमार्ग प्रचार गर्न लागिएको जनाए । यो ऐतिहासिक र नेपालीको वीरतासँग जोडिएको ऐतिहासिक महत्वको मार्ग भएकाले इतिहास अध्ययन गर्नेहरूका लागिसमेत उपयोगी भएको बताए ।
नागरीगढीबाट इलाम बजार ल्याइएको निसान र तोप इलामको माइस्थान मन्दिरमा नेपाली सेनाको निगरानीमा राखिएको थियो । सशस्त्र द्वन्द्वका बेला असुरक्षाको कारण देखाउँदै नेपाली सेनाले यहाँको निसान र तोप काठमाडौं स्थानान्तरण गरेको थियो । तर, इलामबासी, पर्यटनकर्मी र इतिहासकारलगायतको निरन्तर दबाबपछि २०७४ सालमा निसान र २०७९ सालमा तोप माइस्थान मन्दिरमै ल्याएर पुनर्स्थापित गरिएको छ ।
ऐतिहासिक निसान ल्याएको र जिल्ला सदरमुकाम स्थापना भएको दुई सय वर्ष पुगेको अवसरमा २०७५ सालमा इलाम नगरले महोत्सवसमेत आयोजना गरेको थियो । निसान पदमार्गले इलाममा मुख्य बसोबास रहेको आदिवासी लोपोन्मुख लेप्चा र लिम्बू जातिको पुरानो थातथलोको इतिहास झल्काउने, नेपालको पुरातात्त्विक सम्पदाबारे नयाँ पिँढीलाई जानकारी दिने इतिहासकार युद्धप्रसाद वैद्य बताउँछन् ।
नेपाल–अंग्रेज युद्धपछि १८७२ फागुन २० मा भएको सुगौली सन्धिले पूर्वमा मेची नदीलाई नेपाल–भारत सीमा कायम गरेको थियो । मिरिकस्थित नागरी गढीमा रहेको श्रीनाथ पल्टन अहिले इलामको सूर्योदय नगरपालिकाको करफोकस्थित पूर्णेडाँडामा आएर बस्यो । मेचीदेखि नागरीगढी हुँदै टिस्टासम्मको भू–भाग ४० दिनभित्र गढी खाली गर्न सम्झौता भयो ।
इलामको यही इतिहासबारे सबैलाई जानकारी गराउन जरुरी रहेको उनी बताउँछन् । ‘यो विषय नेपालको इतिहासमा समेत लेखिएको छैन,’ इतिहासकार वैद्य भन्छन्, ‘इलाम नेपालमा गाभिनु पृथ्वीनारायण शाहको राज्य एकीकरणको सुरुआत थियो । सुब्बा जयन्त खत्रीले नागरीगढी खाली गरी सदरमुकाम सारेर करफोक ल्याएका हुन् । पूर्णेडाँडा भारतीय सीमानजिक भएको र अंग्रेजले जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले मुकाम खडा गर्नेक्रममा यो पल्टन इलामको माइस्थान ल्याइएको थियो ।’ निसान रहेको माइस्थान मन्दिर १८८० स्थापना भएको अनुमान छ ।
प्रकाशित: २१ पुस २०८१ १८:२८ आइतबार