१८ माघ २०८२ आइतबार
image/svg+xml
अर्थ

वैदेशिक रोजगारीमा धनुषा निरन्तर अग्रस्थानमा

वैदेशिक रोजगारीका लागि धनुषा निरन्तर पहिलो स्थानमा देखिएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा पनि तराईका जिल्लाहरूबाटै सबैभन्दा धेरै बैदेसिक रोजगारीमा गएका छन्। हिमाली जिल्लाबाट भने सबैभन्दा कम गएका छन्।

बैदेसिक रोजगार विभागका अनुसार सबैभन्दा धेरै बैदेसिक रोजगारीका लागि जानेमा धनुषा पहिलो स्थानमा छ भने सबैभन्दा कम मनाङ रहेको छ। चालु आवको साउनदेखि मंसिरसम्ममा धनुषाबाट १७ हजार तीन सय ७३ जना र हिमाली जिल्लाको मनाङबाट ९५ जनाले मात्रै विभागबाट श्रम स्वीकृति लिएर बिदेसिएका छन्।

जिल्लागत तवरले हेर्दा कम संख्यामा मनाङपछि क्रमशः मुस्ताङ, मुुगु, डोल्पा र हुम्लाका नागरिक बैदेसिक रोजगारीमा गएको तथ्यांक छ। त्यस्तै वैदेशिक रोजगारीमा सबैभन्दा बढी बिदेसिनेको संख्या धनुषा पहिलो हो भने दोस्रो झापा र तेस्रो सिराहा रहेको छ। विभागको तथ्यांक अनुसार झापाबाट १५ हजार तीन सय ५८ र सिराहाबाट १३ हजार चार सय ५३ जनाले श्रम स्वीकृति लिएर विदेश गएका छन्।

यस्तै धनुषा र झापापछि बैदेसिक रोजगारीमा धेरै जाने जिल्लामा मोरङ, सिराहा, महोत्तरी, सुनसरी, रूपन्देही, सर्लाही र सप्तरी रहेका छन्। यो नयाँ र पुरानो श्रम स्वीकृति लिने दुवैको संख्या हो। यी जिल्लाबाट रोजगारीका लागि सबैभन्दा धेरै युएई गएका छन्।

                                                                                                                  स्राेत: वैदेशिक राेजगार विभाग

स्वदेशमा बढ्दो बेरोजगारी र आर्थिक अवस्थाले पीडित मधेसी युवाको घरपरिवार चलाउने भरपर्दो माध्यम बैदेसिक रोजगारी बनेको छ। स्वदेशमा भरपर्दो रोजगारी नहुँदा अहिलेका युवाको उद्देश्य भनेकै बिदेसिनु हो। एक पटक वैदेशिक श्रमबाट कमाएको पैसाले नपुगेर दोहोर्‍याएर बिदेसिनेको संख्यासमेत मधेसमा अत्यधिक छ।

नेपालीहरू वैदेशिक रोजगारीमा जानु सामान्य हो । सरकारप्रतिको अविश्वास र राजनीतिक अस्थिरताका कारण रोजगारीको अवसर नपाउँदा काम गर्न विदेश जानेको संख्या बढिरहेको छ। पछिल्लो तथ्यांक हेर्दा सबैभन्दा धेरै तराईबाट बैदेशिक रोजगारीका लागि गएका छन्। बैदेसिक रोजगार विभागका अनुसार उनीहरू म्यानपावर कम्पनीमार्फत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन्। केही वर्षदेखि धनुषा एक नम्बरमै छ। बैदेसिक रोजगारीमा जानेको संख्या हरेक वर्ष बढे पनि अन्य जिल्लाले धनुषालाई उछिन्न सकेका छैनन्।

विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीका अनुसार आर्थिक अवस्था सुधार्न घरपरिवार छाडेर बिदेसिन बाध्य अधिकांश युवा प्रायः मधेसबाट हुने गरेको छ। साथै जनसंख्याको आधारमा पनि तराईमा बढी जनसंख्या भएकाले बिदेसिनेको लर्को तराईबाट धेरै भएको उनले सुनाए। ‘नेपालको जनसंख्या हेर्ने हो भने सबैभन्दा धेरै तराईमा छन्,’ सुवेदीले नागरिकसँग भने, ‘त्यहींमाथि बेरोजगारी पनि उस्तै छ। पारिवारिक समस्या समाधान गर्न, बालबालिकालाई पठनपाठन गराउन, परिवारमा आर्थिक पाटो कमजोर भएपछि निम्तिने झैझगडा साम्य पार्न र ऋणको बोझबाट उन्मुक्ति पाउन बिदेसिन बाध्य छन्।’

आर्थिक अवस्था सुधार्न घरपरिवार छाडेर बिदेसिन बाध्य अधिकांश युवा प्रायः मधेसबाट हुने गरेको सुवेदी बताउँछन्। विभागको ढोकामा वैदेशिक रोजगारीबाट ठगिएको भन्दै सबैभन्दा बढी उजुरी मधेसबाट दिने गरेको उनले बताए। ‘मधेसबाट अधिकांश युवा मजदुरी गर्न खाडी मुलुक जाने गरेका छन्। त्यहाँ प्रायः अशिक्षित युवा हुन्छन्। उनीहरूले राम्रो सिपसँगै कामबारे जानकारी पनि त्यस्तो हुँदैन। यस्तोमा कतिपय दलालबाट ठगीको सिकार हुने र पछि ऋणको भारले थिचिनेसमेत गर्छन्,’ उनले भने।

चालु आवको पाँच महिना सकिँदा सबैभन्दा धेरै नेपाली मजदुरीका लागि बाहिरिएको देखिन्छ। त्यसै गरी कारखाना तथा निर्माण क्षेत्रमा काम गर्न र सरसफाइ गर्न नेपालीहरू बिदेसिइरहेको देखिन्छ । श्रमिक, घरेलु कामदार र सुरक्षा गार्डका रूपमा पनि धेरै नेपाली विदेश जान्छन्।

 म्यानपावरमार्फत नभई व्यक्तिगत प्रयासमा वेटर र परामर्शदातालगायतका रूपमा विदेश जानेहरू पनि रहेको तथ्यांकले देखाएको छ। वैदेशिक रोजगारीका लागि सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरेबिया, कतार र कुवेतका लागि श्रम स्वीकृति लिइएको देखिन्छ। वैदेशिक रोजगारीको पहिलो गन्तव्य मुलुक खाडी र मलेसिया बन्दै गर्दा नेपाली कामदारका लागि जोखिमपूर्ण भूमि पनि तिनै बनेका छन्। बिदेसिनेको संख्या बढ्दै गर्दा मृत्यु हुनेको संख्यामा पनि वृद्धि भएको छ।

सुवेदीका अनुसार तराईका स्थानीय स्तरमा पाइने रोजगारीको न्यून आम्दानी, छिटो काम नपाउनु र दुई/चार वर्ष विदेशमा काम गरे खेतबारी जोडेर राम्रो व्यवसाय गर्न पुँजी बन्ने भएकाले यो लहर तराई क्षेत्रका गाउँमा चलेको हो। मधेसका शिक्षित युवा अमेरिका र अस्ट्रेलिया, काम गर्न लगानी जुटाउन सक्नेहरू खाडी र मेलेसिया जान्छन् भने त्यो पनि नसक्नेहरू भारतका विभिन्न ठाउँमा कामका लागि जाने गरेको भनाइ अधिकारीहरूको छ।

प्रकाशित: १७ पुस २०८१ ०९:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App