११ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

गोपालको उद्यम यात्रा : शिक्षकको जागिर छाडेर कृषिकर्ममा रमाउँदै

जुम्लाको हिमा गाउँपालिका, मोफ्ला गाउँका गोपालबहादुर रोकायाले आफ्नो जीवनको महत्वपूर्ण क्षणमा शिक्षकको जागिर छाडेर कृषि कर्ममा लागे। 

४४ वर्षीय गोपालका लागि यो सजिलो थिएन। तर उनले कृषिमा नयाँ चुनौती स्वीकार गरे। चार वर्षअघि, उनले राहदेव माविमा सामाजिक विषय पढाउने शिक्षकको रूपमा मासिक चालीस हजार तलब खान्थे।

तर, उनको मनमा सधैँ केही अरू गर्ने चाहना थियो। गाउँकै एकजनाबाट प्रेरणा पाएपछि उनले शिक्षण पेशा छोडेर व्यावसायिक स्याउ खेतीमा आफ्नो भविष्य बनाउने निर्णय गरे। 

अहिले गोपालको रुम्तु फलफूल उत्पादन तथा नर्सरी जडिबुटी प्रशोधन उद्योग जुम्लाको प्रमुख कृषि व्यवसायिक केन्द्रमध्ये एक बनिसकेको छ। उनले स्याउ, स्ट्रबेरी, काफल, ओखर र स्थानीय बाख्रापालन गर्दै आएका छन्।

१३ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको बगैँचामा ५ टनेल र आधुनिक कृषि उपकरणहरू जडान गरिएको छ। गोपालको फार्ममा १ सय ५० गाला जातका स्याउका बिरुवा, ३ सय ५० ओखरका बिरुवा, १ सय खरायो र २५ स्थानीय बाख्रा पालेका छन्। 

गोपालले गत वर्ष ११ लाख ८० हजार रुपैयाँको कृषि उपज बिक्री गरेका थिए। यस वर्ष भने उनले १३ लाख ७० हजार रुपैयाँ बराबरको बिक्री भइरहेको छ। उनका उत्पादनहरू स्थानीय बजार हुँदै जुम्ला सदरमुकाम खलङ्गासम्म पुग्छन्। यसको दायरा बढाएर लैजाने उनको इच्छा छ।

उनी भन्छन्, “मेरो कृषि कर्मप्रतिको लगाव, निरन्तर, प्रयोग र अभ्यासले मलाई पूर्ण बनाए जस्तो लाग्छ।” उनले फर्मभित्र जङ्गली जनावर र घरपालुवा गाईवस्तु नपसून् भनेर फलामे तारबारसहित बगैँचा घेरेका छन्। पानी सङ्कलन गर्ने दुईवटा पोखरी पनि छन्। उनले गाईवस्तुबाट उत्पादित मललाई स्याउ बारीमा प्रयोग गर्दै आएका छन्। 

६९ लाख रुपैयाँको लगानीबाट सुरु भएको उनको उद्यममा अहिले लगानी बढेर एक करोड रुपैयाँभन्दा माथि पुगेको छ। सडक सञ्जाल जोडिएसँगै अहिले सहजता भएको भन्दै उनले भने, “अहिले सडक बनेपछि उत्पादित सामान बजार पुर्याउन सहज भएको छ।” गुणस्तरीय सामान उत्पादन गर्नेलाई बजारको कुनै समस्या नहुने उनको अनुभव छ। 

“उत्पादन गर्न सके बजारमा खोसाखोस हुन्छ”,उनी भन्छन्, “जिल्लाका विभिन्न कृषकसहित व्यक्ति मेरो फार्म हेर्न आउनुहुन्छ, मलाई हौसला दिएर जानुहुन्छ। यसरी मानिस मेरो कर्म हेर्न आउँदा मलाई आत्मसम्मान र आत्मगौरव मिलिरहेको महसुस हुन्छ।” उनलाई परिवारको पनि राम्रो साथ छ। श्रीमती रुद्रकली रोकायाले कृषि पेसामा उनको साथ दिने गरेकी छिन्। 

गोपालले कृषि व्यवसायलाई केवल एक पेशा मात्र नभएर एउटा जीवनशैलीको रूपमा लिएका छन्।  अब गोपाल किसानलाई उद्यमीका रूपमा विकास गर्ने ठूलो सपनासँगै अगाडि बढेका छन्। यदि कृषकलाई उद्योगसँग जोड्न सकियो भने कृषि व्यवसाय दिगो र सशक्त बन्ने उनको विश्वास छ। रोकायाले जिल्लामा सफल किसानको पहिचान बनाउन सफल भएका छन् । उनका अनुभव र कष्टपूर्ण यात्रा अहिले स्थानीय कृषकका लागि एक प्रेरणा बनेको छ। 

प्रकाशित: २५ मंसिर २०८१ १२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App