इलामको सूर्योदय नगरपालिका स्थित कन्याम चियाबारीमा देशको पहिलो टि टेस्टिङ एन्ड प्रोमोसन केन्द्र स्थापना गरिएको छ। आगामी २७ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उक्त केन्द्रको उद्घाटन गर्नेछन्।
करीब २३ करोड रुपैयाँको लगानीमा स्थापित यो केन्द्रमा चियाको स्वाद, गुणस्तर जाँच र अनुसन्धानको सुविधा उपलब्ध हुनेछ। मेयर रणबहादुर राईका अनुसार, कन्यामको यो केन्द्रले चियाको व्यापार र गुणस्तरको प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगरले केन्द्रको स्थापना किसानहरूको लागि ठूलो सहारा हुने बताए। यहाँ चियाविज्ञ (टी–इन्स्पेक्टर)हरु चियाको गुणस्तर जाँच गर्न आउनेछन्। चियाबारी घुम्न आउने पर्यटकलाई थरिथरिका चिया चाख्ने अवसर प्राप्त हुनेछ।
केन्द्रको संचालन नगरपालिकाले गर्नेछ भने अनुसन्धानको जिम्मा नेपाल विज्ञान र प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले सम्हाल्ने छ।
प्रकाशित: २२ मंसिर २०८१ ०८:४७ शनिबार