नेपालमा विदेशी पर्यटक आगमनमा चौथोपटक १० लाखको संख्या नाघेको छ। सन् २०२४ को नोभेम्बरको विदेशी पाहुनाको आगमन संख्या १ लाख १४ हजार ५ सय १ सहित योवर्ष अहिलेसम्म १० लाख ५५ हजार ५ सय ३३ जना पर्यटक भित्रिएको पर्यटन बोर्डले बताएको छ।
सरकारी तथ्यांक अनुसार यसअघि सन् २०१८ मा नेपालमा ११ लाख ७३ हजार ७२ जना विदेशी पर्यटक भित्रिएका थिए। त्यस्तै सन् २०१९ मा पाहुना आगमनको त्यो संख्या ११ लाख ९७ हजार १ सय ९१ थियो। सन् २०१९ को यो संख्या नै अहिलेसम्मको सर्वाधिक आगमन हो। अघिल्लो वर्ष (२०२३) मा पनि नेपालमा सबैगरि १० लाख १४ हजार ८ सय ८२ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए।
पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले भने, ‘यो पटकको अहिलेसम्मको आगमन अनुसार नेपालमा चारपटकसम्म विदेशी पर्यटकको आगमन १० लाख नाघेको छ। नोभेम्बरको आगमनले पर्यटन क्षेत्रमा केही सुखद् सन्देश दिलाएको छ।’ तथ्यांक अनुसार सन् २०१९ को नोभेम्बरमा नेपालमा १ लाख ३० हजार ३ सय २ जना विदेशी पाहुना भित्रिएका थिए। त्यो आगमन २०२० मा कोरोना भाइरस संक्रमणका कारण १९ सय ५६ मा झरेको थियो। स्न २०२१ को नोभेम्बरको आगमन २६ हजार १ सय ३५ थियो। २०२२ को नोभेम्बरको आगमन ७२ हजार ६ सय ५३ रहँदा २०२३ को आगमन १ लाख ८ हजार ६ सय ३० रहेको थियो।
‘२०२३ को नोभेम्बरको तुलनामा यो वर्षको त्यही महिनाको आगमनमा झन्डै साढे ५ प्रतिशत वृद्धि भएको छ। त्यस्तै २०१९ नोभेम्बरको तुलनामा २०२३ नोभेम्बरमा भन्डै ८८ प्रतिशत आगमन भएको छ,’ उनले भने। अघिल्लो महिनामा भने नेपालमा १ लाख २४ हजार ३ सय ९३ जना विदेशी पाहुना आएका थिए।
पर्यटन बोर्डले सन् २०२४ मा नेपालमा १३ लाख २० हजार हाराहारीमा विदेशी पाहुना आउने वर्षको सुरुवातमा अनुमान गरेको थियो। सबैभन्दा बढी पाहुना भित्रिएको वर्ष (२०१९) को आगमन संख्याको कम्तिमा १० प्रतिशत पाहुना योवर्ष बढ्न सक्ने सुरुवाती आँकलन बोर्डको थियो। त्यही आँकलन अनुसार बोर्डले १३ लाख २० हजारको लक्ष्य अनुमान गरेको थियो।
‘बोर्डको यो वर्षको लक्ष्य भने पुरा नहुने भयो। अबको एकमहिनाको आगमनले बोर्डको लक्ष्य भेटिँदैन,’ उनले भने। उनका अनुमानमा सन् २०२४ मा ११ लाख २५ हजार हाराहारीमा मात्र विदेशी पाहुनाको आगमन हुने छ।
‘अब एकमहिना मात्र बाँकी छ। पर्यटकीय सिजन सकिनै थालेकोले डिसेम्बरको आगमन करिब ७० हजार हाराहारीमा हुनसक्छ,’ उनले भने, ‘त्यो आगमन जोड्दा पनि ११ लाख २५ हजार हाराहारीमा आगमन हुने देखिएको छ।’
अक्टोवरको तुलनामा नोभेम्बरमा आगमन निकै नै खस्कने अनुमान रहेपनि त्यसमा उत्तिसारो गिरावट नआएकोले पनि उनले बताए। ‘हवाई उडान कटौतीको प्रभावका कारण नोभेम्बरको आगमनमा प्रभाव पार्ने देखिएको थियो। तर, हामीले अनुमान गरे भन्दा बढी आगमन भएको छ,’ लामिछानेले भने, ‘बोर्डको लक्ष्य पुरा नभएपनि आगमन संख्यालाई हेर्दा सकारात्मक हुन सकिन्छ।’
स्तरवृद्धिका लागि यो बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन समय कटौती नभएको भए यो वर्ष आगमनले २०१९ को तथ्यांक कट्ने अनुमान बोर्डको थियो। तर, विमानस्थलको संचालन समय कटौती हुनु, विपद्का कारण आगमन प्रभावित हुनु, हवाई र बस दुर्घटनाले पनि पर्यटक आगमनमा प्रभावित भएको उनले बताए।
‘हामीले अनुमान गरेजसो सन् २०१९ को संख्या योपटक कट्ने भएन। २०१९ को भन्दा कम्तिमा १० प्रतिशत बढ्ने सुरुवाती अनुमान हो। तर, त्यो हुन सकेन,’ उनले भने। लामिछानेले २०२३ को भन्दा कम्तिमा १० प्रतिशत आगमन बढ्ने भन्ने पक्का जस्तै रहेको बताए। विश्वव्यापी पर्यटक आउजाउमा २०१९ को तुलनामा यो वर्ष ९६ प्रतिशत रिकभर भएको अवस्थामा नेपालमा पनि त्यही आकारमा आगमन भएको उनले बताए।
नोभेम्बरमा पनि नेपालमा सबैभन्दा बढी भारतीय पाहुना भित्रिएका छन्। नोभेम्बरमा भित्रिएका पाहुनाको संख्याको आधारमा १७ प्रतिशत भारतीय पाहुना (१९ हजार ९ सय १५ जना) यो महिना भित्रिएका छन्। दोश्रोमा अमेरिकी पाहुनाको आगमन झन्डै १० प्रतिशत (१० हजार ९ सय ८१) छ। तेश्रो नम्बरमा चिनियाँको आगमन ८.३ प्रतिशत (९ हजार ४ सय ५८) रहेको छ। बेलायती पाहुनाको आगमन झन्डै ६ प्रतिशत (६ हजार ६ सय ११) रहेको छ। त्यस्तै बंलगादेशी पाहुनाको संख्या ४.५ प्रतिशत (५ हजार १ सय ४८) रहेको छ।
अघिल्लो वर्षको नोभेम्बरमा भित्रिएका भारतीयको तुलनामा यो नोभेम्बरमा भने भारतीय पाहुनाको आगमनमा गिरावट आएको बोर्डको भनाई छ। सन् २०२३ को नोभेम्बरमा नेपालमा २४ हजार ४ सय ४३ जना भारतीय पाहुना भित्रिएका थिए। तर, यो नोभेम्बरमा भने १८.५ प्रतिशत घटेर १९ हजार ९ सय १५ जना मात्र भित्रिएका छन। त्यस्तै अमेरिकी पाहुना पनि अघिल्लो वर्ष भन्दा यो वर्षको नोभेम्बरमा ४.२ प्रतिशत घटेका छन। २०२३ नोभेम्बरमा नेपालमा ११ हजार ४ सय ६१ जना अमेरिकी पाहुना आएकोमा यो नोभेम्बरमा घटेर १० हजार ९ सय ८१ मा झरेको छ।
नेपालमा सन् २०२४ को जनवरीमा ७९ हजार १ सय विदेशी पाहुना भित्रिएका थिए। त्यो संख्या फेब्रुअरीमा ९७ हजार ४ सय २६ थियो। मार्चको आगमन संख्या १ लाख २८ हजार १ सय ६७ थियो। अप्रिलको आगमन भने १ लाख ११ हजार ३ सय ७६ रहेकोमा मे महिनामा ९० हजार २ सय ११ जना विदेशी पाहुना नेपाल भित्रिएका थिए।
जुन महिनामा नेपाल भित्रिने विदेशी पाहुनाको संख्या ७६ हजार ७ सय ३६ थियो। जुलाईको आगमन ६४ हजार ५ सय ९९ हुँदा अगष्टको आगमन भने ७२ हजार ७ सय १९ रहेको थियो। सेप्टेम्बरमा ९६ हजार ३ सय ५ जना विदेशी नेपाल भित्रिए। अक्टोवरमा भने १ लाख २४ हजार ३ सय ९३ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए।
प्रकाशित: १६ मंसिर २०८१ १७:२५ आइतबार