उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसारभर रहेका लगानीकर्ताहरुलाई आग्रह गरेका छन्। लगानीका दृष्टिकोणले नेपाल सुरक्षित भएको कुरा प्रमाणित भएको बताउँदै उनले यस्तो आह्वान गरेका हुन्। शुक्रवार (आज) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरे।
सार्वभौम क्रेडिट रेटिङको नतिजासँगै नेपाल लगानीका लागि सुरक्षित रहेको प्रमाणित हुने जिकिर उनको छ। अर्थमन्त्री पौडेलले क्रेडिट रेटिङको काम सरकारले शुरु गरेको र यो अन्तिम नभइ शुरुवात भएको बताए। उनले क्रेडिट रेटिङलाई निरन्तरता दिने र आवधिक रुपमा अर्थतन्त्रको स्वास्थ्य स्थितिलाई सार्वजनिक गर्दै जाने स्पष्ट गरेका छन्।
यस पटकको क्रेडिट रेटिङ र यसको नतिजाले स्वभाविक रुपमा नेपाल लगानीका लागि अनुकुल गन्तव्य भएको सन्देश विश्वव्यापी रुपमा गएको उनको भनाई छ। अर्थमन्त्री पौडेलले नेपालमा लगानी गर्न आह्वान गर्दै नेपालमा लगानी गर्नेहरुले राम्रो प्रतिफल पाउने जिकिर गरे।
नेपालमा लगानी गर्नका निम्ति उत्साहका साथ सहभागी हुन उनको आह्वान छ। नेपालको अर्थतन्त्रलाई अझ सबल, सुदृढ र शक्तिशाली बनाउने र लगानीका निम्ति अझ अनुकुल परिस्थिति निर्माण गर्न सबैले समान भुमिका खेल्नुपर्नेमा पनि उनले जोड दिएका छन्।
उनले भने, ‘क्रेडिट रेटिङको काम हामीले शुरु गरेका छौँ। यो अन्तिम होइन, शुरुवात थियो। क्रेडिट रेटिङलाई निरन्तरता दिन्छौँ। हामीले आवधिक रुपमा हाम्रो अर्थतन्त्रको स्वास्थ्य स्थिति के छ भन्नेकुरालाई आवधिक रुपमा सार्वजनिक पनि गर्दै जान्छौँ। यो हाम्रो क्रेडिट रेटिङको श्रृंखलाको पहिलो एपिसोड हो।’
आउने दिनमा निरन्तरता दिने उल्लेख गर्दै उनले भने, ‘यस पटकको क्रेडिट रेटिङ र यसको नतिजाले स्वभाविक रुपमा नेपाल लगानीका लागि अनुकुल गन्तव्य हो भन्ने र नेपालमा गरिने लगानी सुरक्षित हुन्छ भन्ने सन्देश विश्वव्यापी रुपमा दिन सफल भएका छौँ। क्रेडिट रेटिङको महत्वपूर्ण पक्ष यो हो। संसारभर रहेका लगानीकर्ताहरुलाई आग्रह गर्न चाहन्छु, नेपाल साँच्चै नै लगानीका दृष्टिकोणले सुरक्षित मुलुक हो। यहाँ लगानी गर्नेहरुले राम्रो प्रतिफल आर्जन गर्नसक्छन्। नेपालमा लगानी गर्नका निम्ति उत्साहका साथ सहभागी हुनुस् भनेर संसारभरका निजी क्षेत्रलाई अनुरोध गर्न चाहन्छु।’
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले कन्ट्रि रेटिङमा नेपालले डबल बी माइनसको रेटिङ पाएको र यो दक्षिण एशियामा अनुकुल नतिजा रहेको बताए। उनले क्रेडिट रेटिङको नतिजा प्रकाशित गर्ने मात्र नभइ आउने दिनमा प्रत्यक्ष वैदेशिक लगानीका निम्ति अनुकुल हुने परिस्थिति निर्माण गर्न कानूनी र संरचनागत सुधार गर्न तयार रहेको समेत स्पष्ट पारेका छन्। आफूहरु बिबि माइनसमा मात्रै चित्त बुझाएर नबस्ने भन्दै क्रमश: आगमी दिनमा सबल र सुदृढ बनाउने उनको विश्वास छ।
प्रकाशित: ७ मंसिर २०८१ ११:३८ शुक्रबार