६ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

खस्कँदै चिनियाँ र भारतीय पर्यटक आगमन

–चिनियाँ र भारतीय नआउँदा सिजन खल्लोः व्यावसायी

पर्यटकीय सहर पोखराले सबैभन्दा बढी अपेक्षा गरेको पर्यटनका श्रोत मुलुक हुन् चीन र भारत। तर, पछिल्लो समय पर्याप्त पर्यटक भित्रिने अपेक्षा गरिएका तिनै श्रोत मुलुकबाटै पाहुना नआएपछि पर्यटन क्षेत्र यो सिजनमा चम्किन नसकेको व्यावसायीले बताउँदै आएका छन्। छिमेकी मुलुकका पाहुना भित्रिन कम हुँदा मुख्य पर्यटकीय सिजन गुल्जार हुन नसकेको उनीहरुको भनाई छ।  

पर्यटन बोर्डको तथ्यांकले पनि पछिल्लो समय नेपालमा चिनियाँ र भारतीय पर्यटकको अपेक्षाकृत आगमन हुन नसकेको देखाउने गरेको छ। गत अक्टोवरमा नेपालमा जम्मा १६ हजार ३ सय १३ जना भारतीय पर्यटक भित्रिए। यो अघिल्लो वर्षको यही समयमा भन्दा झन्डै १२ प्रतिशत कमी हो। त्यस्तै चिनियाँको आगमन पनि उत्साहजनक नरहेको सरोकारवालाले बताउँदै आएका छन्। यो अक्टोवरमा जम्मा ७ हजार ७ सय ५० जना चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए।  

‘चिनियाँ र भारतीय पाहुनाको आगमन अपेक्षा गरे अनुसार हुनै सकेन,’ पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा भन्छन, ‘चिनियाँ र भारतीय पाहुना नहुँदा सिजन नै खल्लो अनुभव भएको छ।’ उनका अनुसार अहिले पनि पोखरामा केही यूरोपियन मुलका पर्यटक त छन्। तर, पोखराको पर्यटन क्षेत्रले बढी अपेक्षा गरेको चिनियाँ र भारतीय पाहुना भित्रिन सकेनन्। त्यसले गर्दा मुख्य सिजन नै केही सुस्ताएको देखिएको उनले बताए।  

सापकोटाका अनुसार चिनियाँ र भारतीय लगायतका मुलुकका पाहुना समूहमा आउँछन्। समूहमा आउने भएकोले पनि बजारमा भीडभाड देखिन्थ्यो। तर, सेप्टेम्बर–नोभेम्बरको यो सिजनमा नेपालमा चिनियाँ र भारतीयको त्यो भीडभाड देख्नै नपाएको उनले बताए। ‘नेपालका केही घटनाक्रमका कारण भारतीय पर्यटक भित्रिन सकेनन्। बाढीपहिरो जस्ता प्राकृतिक विपद्का कारण भारतीयको आगमनमा असर परेकै हो,’ उनले भने, ‘चिनियाँ पाहुना पनि अपेक्षाकृत आउन सकेनन्।’  

उनको अनुमानमा चीनले सन् २०२५ मा चिनियाँ पर्यटकका लागि नेपाल भ्रमण वर्ष मनाउने तयारी गरिरहँदा त्योवर्ष आउने भएकोले अहिले नआएको हुनसक्ने छ। उनका अनुसार चिनियाँ र भारतीय पाहुनाको बसाई अवधि यूरोपियनको तुलनामा केही बढी पनि हुन्छ। तर, अहिले नआउँदा त्यसको असर पर्यटन क्षेत्रमा देखिएको हो।

‘यतिबेला पदयात्रामा केही यूरोपियन मूलका पर्यटक छन्। पदयात्रा सकेर पोखरा ओर्लेका उनीहरुको बसाई अवधि बढीमा एकदिन हुने भएकोले पनि बजार सुस्ताएको देखिएको हो,’ उनले भने, ‘भारतीय, चिनियाँ र इजरायली मुलका पर्यटक भित्रिने हो भने मात्र पर्यटन क्षेत्रमा चमक छाउँछ।’  

बोर्डको तथ्यांक अनुसार नेपालमा चिनियाँ पर्यटकको आगमन कोरोना भाइरस संक्रमण सुरु भएपछिका हरेक वर्ष खस्केको थियो। त्यो आगमन अझै पनि उकालो लाग्न सकेको छैन। सन् २०१९ मा नेपालमा सबैभन्दा बढी विदेशी पाहुना भित्रिएका थिए। त्यो वर्ष (२०१९) मा नेपालमा अगष्टमा १२ हजार ८ सय १७, सेप्टेम्बरमा १३ हजार १ सय ९५ र अक्टोवरमा १४ हजार ८ सय ९६ जना चिनियाँ पाहुना भित्रिएका थिए। त्यो आगमन खस्कँदै जाँदा सन् २०२३ को अगष्टमा ५ हजार २७, सेप्टेम्बरमा ८ हजार १ सय ७४ र अक्टोवरमा ६ हजार ८ सय ८० जना मात्र चिनियाँ पाहुना भित्रिएका थिए। यो वर्षको अगष्टमा ६ हजार ६ सय १४, सेप्टेम्बरमा ८ हजार ४२ र अक्टोवरमा ७ हजार ७ सय ५० जना मात्र चिनियाँ पाहुना भित्रिएका छन्।  

त्यस्तै भारतीयको नेपाल आगमन पनि पछिल्लो समय प्रभावित भएको छ। सन् २०१९ को अगष्टमा २७ हजार ५ सय ५५, सेप्टेम्बरमा १८ हजार ४ सय ९७ र अक्टोवरमा १५ हजार ६ सय १२ जना भारतीय पाहुना भित्रिएका थिए। त्यो आगमन गतवर्ष अगष्टमा २६ हजार ६ सय ६५, सेप्टेम्बरमा २८ हजार ६ सय ९४ र अक्टोवरमा १८ हजार ४ सय ८० थियो। यो वर्ष भने आगमन प्रभावित भएको छ। यो वर्ष अगष्टमा २५ हजार ८ सय ३२, सेप्टेम्बरमा २२ हजार ९ सय ८४ र अक्टोवरमा १६ हजार ३ सय १३ जना मात्र भारतीय पाहुना नेपाल भित्रिएका थिए।  

पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने पछिल्लो समय भारतीय र चिनियाँ पर्यटकको आगमन बिथोलिँदा पर्यटन क्षेत्रमा केही असर परेको बताउँछन। ‘भारतीय पाहुनाको आगमन पनि यो वर्ष प्रभावित भयो। चिनियाँ पाहुना त सोचेजति आउँदै आएनन्,’ उनले भने। उनका अनुसार भारतीय पाहुनाको आगमन प्रभावित हुनुमा प्राकृतिक विपद् मूख्य कारण हो।  

‘चीनबाट अपेक्षा गरे अनुसार पाहुना आएनन । चीनको अर्थतन्त्र सुस्ताउन पुग्दा केही असर परेको अनुमान छ,’ उनले भने, ‘भारतीयपछिको चिनियाँ पाहुनाको आगमन बढी हुनुपर्ने हाम्रो बुझाई थियो। तर, त्यो अपेक्षा मेल खाएन। पछिल्लो समय त चिनियाँको आगमन अझै खस्किँदै गयो।’

‘पर्यटनले लिएको गति गत जुलाई पछि बिग्रन थालेको हो। त्यो गति पछिल्लो समय अझै बिग्रिँदै गएको पनि उनले बताए। ‘घटनाक्रम पनि त्यही अनुसार थपिँदै गए। कहिले हवाई त कहिले स्थलमार्गमा दुर्घटना, अनि कहिले प्राकृतिक विपद्ले पनि पाहुना आगमनमा अवरोध सिर्जना गरेको हो,’ उनले भने।  

नेपालमा भएको भारतीय बस दुर्घटना, त्यसपछि राजमार्गमा पहिरोले यात्रुबाहक सवारी बगाउनु, विपद्का कारण यात्रा असुरक्षित हुनु, त्यस्तै पछिल्लो समयको प्राकृतिक विपद्ले यात्रालाई अझै अनिश्चित बनाउँदा भारतीय पाहुना प्रभावित भएको उनले बताए।  

प्रकाशित: ३ मंसिर २०८१ १७:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App