अलैंचीको भाउ प्रतिमन (४० किलो)को लाख रुपैयाँ नाघेपछि पूूर्वी पहाडको बजार चलायमान भएको छ । अलैंची महँगो मूल्यमा बिक्री हुँदा बजारमा किनमेल पनि बढेको छ ।
अहिले इलाम, पाँचथर र ताप्लेजुङमा अलैंची प्रतिमन एक लाख पाँच हजार रुपैयाँसम्ममा कारोबार भइरहेको छ । व्यापारीका अनुसार ग्रेडअनुसार अलैंचीको भाउ उच्च बनेको हो ।
गतवर्षहरूमा किसानले अलैंची बेचिसकेर व्यापारीका हातमा परेपछि मात्र अलैंचीको भाउ आकासिने गरेको थियो । किसानले व्यापारीलाई बेचिसकेपछि भाउ बढ्दा व्यापारी मालामाल हुने तर किसानको हातमा थोरै मूल्यमात्र पर्ने गरेको थियो । यो वर्ष भने किसानले बेच्ने बेलैमा अलैंचीको भाउ राम्रो आउँदा किसानले फाइदा लिन पाएका छन् ।
माइमझुवाका किसान गिरिराज खनालले अलैंचीले यो वर्ष सबैलाई आशा जगाएको बताए । ‘कृषिकर्म गर्दा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने यो पटक अलैंचीको भाउले देखाएको छ,’ उनले भने, ‘तर, यो निरन्तर हुनुपर्छ । अलैंचीमात्र होइन, किसानले उत्पादन गरेका हरेक उपजको मूल्य किसानलाई प्रोत्साहन गर्नेखालको हुनुपर्छ ।’
इलाम उद्योग वाणिज्य संघ अध्यक्षसमेत रहेका अलैंची व्यापारी कृष्ण पौडेलले यो वर्ष किसानलाई अलैंचीको राम्रो मूल्य हात लागेको बताए । ‘सधैं व्यापारीले बेच्ने बेलामा भाउ बढाउँछन् भन्ने आरोप थियो,’ उनले भने, ‘त्यो बुझाइ असत्य भएको यो साल प्रमाणित भयो । हामी अरूबेला पनि वर्षभर किसानले जहिल्यै बेच्न ल्याएपनि अलैंची किन्छौं । किसानले बेच्ने र व्यापारीले बेच्ने बेला भन्ने हुँदैन ।’
उनले अलैंचीको मूल्य स्थानीय व्यापारीले निर्धारण नगर्ने भएकाले किसानबाट लिएपछिमात्रै भाउ बढाइयो भन्ने भनाइ सत्य नभएको बताए । उनले स्थानीयदेखि भारत नयाँदिल्लीसम्मको अलैंचीको भाउ अहिले सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट घरमै बसीबसी थाहा हुनेगरेको पनि जनाए ।
‘हामी पनि किसानले नै कृषिउपजको सबैभन्दा धेरै मूल्य पाऊन् भन्ने आशा राख्छौं,’ उनले भने, ‘देशको आर्थिक विकासका लागि किसान कृषि पेसामा उत्साही हुनुपर्छ, किसान उत्साही हुन उसले कृषिउपजको मूल्य उच्च पाउनुपर्छ ।’ पुच्छर काटेको, ठूलो दाना भएको अलैंचीलाई गुणस्तरीय मान्ने गरिएको छ ।
अलैंचीको भाउ बढ्दा अहिले स्थानीय बजार नै चलायमान भएको पनि उनले जनाए । ‘अहिले अलैंचीको भाउ राम्रो आएपछि निर्माण सामग्रीदेखि हरेक वस्तुको बजार बढेको छ,’ उनले भने, ‘व्यक्ति आम्दानी बढेपछि खर्च गर्न चाहन्छ र गर्छ, उसको क्रयशक्ति बढ्छ । त्यसैले अलैंचीले अहिले बजार नै चलायमान बनाइदिएको छ ।’
अहिले स्थानीय बजारमा खाद्यान्न, लत्ताकपडा, गरगहनादेखि सबैजसो सामग्रीको व्यापार बढेको व्यापारीको भनाइ छ । सुन व्यवसायी देवेन्द्र शंकरले चाडबाडका बेला सुनको कारोबार धेरै भएको बताए । ‘अलैंचीको भाउ बढेर पनि होला, चाडबाडले पनि होला, केही दिनअघिसम्म त गरगहनाको व्यापार निकै बढेको थियो,’ उनले भने, ‘आज–भोलि नै चाहिँ केही कम छ ।’
इलामका बिब्ल्याँटे, फिक्कल, नयाँबजार, मंगलबारेलगायत बजारमा अलैंचीको कारोबार भइरहेको छ । सन्दकपुर, माइजोगमाई, देउमाई, रोङलगायत पालिकामा अलैंची उत्पादन धेरै हुने गरेको छ । जिल्लामा बर्सेनि तीन अर्ब रुपैयाँ हाराहारीको अलैंचीको कारोबार हुनेगरेको अनुमान छ ।
२०७९ सालमा इलाममा अलैंची प्रतिमन ३२ हजार रुपैयाँमा कारोबार भएको थियो । २०८० सालमा ६० हजार पुगेको अलैंचीको दाम अहिले एक लाख पाँच हजार रुपैयाँ भएको हो । १० वर्षअघि पनि अलैंचीको मूल्य प्रतिमन लाख रुपैयाँ नाघेको थियो । तर, केही वर्ष निकै तल झरेको थियो ।
अध्यक्ष पौडेलले सरकारलाई पनि किसानले आम्दानी लिनेखालको बालीमा लगानी गर्न सुझाए । ‘सानातिना वितरणमुखी काम गर्नुभन्दा दीर्घकालीन रूपमा आम्दानी हुने बालीमा लगानी गर्न सरकारले किसानलाई सघाउनुपर्छ,’ उनले भने, ‘स्थानीय सरकारले पनि खाद्यबालीको थोरैतिनो बीउ बाँढ्नुभन्दा दीर्घकालीन हुने नगदेबालीमा जोड गर्नुपर्छ ।’ उनले अलैंचीको उत्पादन र उत्पादकत्व बढाउन सरकार, किसान, व्यापारी र सरोकारवाला सबैले हातेमालो गर्नुपर्ने पनि बताए ।
विगत वर्षहरूमा अलैंची निकासी गर्न पनि विभिन्न झन्झट बेहोर्नुपर्ने बाध्यता थियो । यो साल निकासीसमेत सहज भएको व्यापारीले बताएका छन् । भारत र तेस्रो मुुलुकसम्म यहाँको अलैंची गइरहेको उनीहरूको भनाइ छ ।
प्रकाशित: २ मंसिर २०८१ १७:३२ आइतबार