व्यवसायी महिलाको हकहितमा काम गर्ने उद्धेश्यसहित दक्षिण एसियाका तीन देश सहभागी नेटवर्क गठन भएको छ। अमेरिकामा मूख्यालय रहेको सेन्टर फर इन्टरनेशनल प्राइभेट अन्टरप्राइज (साइप)को अग्रसरतामा नेपाल, बंगलादेश र श्रीलंकाका प्रतिनिधि सहभागी क्षेत्रीय सञ्जाल व्यवसायिक महिला संगठन (आरएनबीडब्लूओ, रेन्बो) नेटवर्क गठन भएको हो । नेटवर्कको अध्यक्षता बंगलादेशले गर्नेछ भने उपाध्यक्षमा नेपाल र सचिवमा श्रीलंका चयन भएका छन् ।
फिलिपिन्सकफ मनिलामा जारी 'पावर इन हर' कन्फ्रेन्सको पहिलो दिन बिहीबार एक समारोहका बीच बंगलादेश विमेन चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीज (बीडब्लूसीसीआई) की सालिमा अहमुद, नेपाल महिला उद्यमी महासंघ (एफवीन)की अध्यक्ष शोभा ज्ञवाली र श्रीलंका विमेन चेम्बर अफ इन्डष्ट्री एन्ड कमर्श (डब्लूसीआईसी)की तुसिता कुमारातुंगाले नेटवर्कको एमओयूमा हस्ताक्षर गरे।
नेटवर्कको पहिलो कार्यकालका लागि बंगलादेशकी सालिमा अध्यक्ष, नेपालकी शोभा उपाध्यक्ष र श्रीलंकाकी तुसिता सचिव चयन भएका छन् । उनीहरुको कार्यकाल तीन वर्षको हुने एमओयूमा उल्लेख छ ।
रेन्बोले दक्षिण एसियामा रहेका व्यवसायी महिलाहरुको क्षमता अभिवृद्धि, नेटवर्किङ विस्तार, पैरवी, विभिन्न विषयमा छलफल, आगामी दिनको सम्भावनालगायत विषयमा तालिम दिनुका साथै सवल र सक्षम बनाउन सहयोग गर्नेछ । व्यवसायी महिला उद्यमीहरुलाई उनीहरुको कमजोरी पत्ता लगाएर त्यसमा फोसक हुँदै निवारणको उपाय पनि सुझाउने बताउँदै साइपले आन्तरिक सञ्जाललाई पनि बलियो बनाउने उल्लेख गरेको छ ।
नेटवर्क घोषणा कार्यक्रममा साइपले यसलाई दक्षिण एसियामा मात्रै सीमित नराखी एसिया प्यासिफिकसम्मै विस्तार गर्दै बलियो नेटवर्क बनाउने दाबी गर्यो ।
साइपले यसअघि पनि नेपाल महिला उद्यमी महासंघमार्फत् महिला उद्यमीहरुको हकहितका लागि काम गर्दै आएको छ ।
प्रकाशित: २९ कार्तिक २०८१ १८:५३ बिहीबार