६ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

हवाई भाडा वृद्धिले मारमा पर्यटन क्षेत्र

स्तरवृद्धि गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन समय घटाउँदा उडान कटौती भएसँगै आन्तरिक र अन्तर्राष्ट्रिय हवाई भाडा बढाइएको गुनासो पर्यटन व्यवसायीले गरेका छन्। आन्तरिकसँगै अन्तर्राष्ट्रिय हवाई उडानको भाडा वृद्धि हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको व्यवसायीले बताएका हुन्।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले शुक्रबारबाट लागु हुनेगरी राति १० देखि बिहान ८ बजेसम्म व्यावसायिक उडान रोकेर पूर्वाधार विस्तार तथा निर्माण कार्य थालेको छ। यो क्रम चैत १८ गतेसम्म चल्ने छ। यसबाट अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान संख्या कटौती हुँदा एयरलाइन्सले भाडा बढाएको पर्यटन व्यवसायीको गुनासो छ। पोखरा आएका पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेसँगको छलफलमा पर्यटन व्यवसायीले पर्यटक भित्रिने मौसममा विमानस्थल बन्द गरेर पूर्वाधार बनाउँदा मार परेको गुनासो गरे। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा सरकारले पोखरा र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई विकल्पमा राखेको भए पनि पोखरामा अहिलेसम्म कुनै पनि अन्तर्राष्ट्रिय हवाई कम्पनी उडान भर्न तयार भएका छैनन्। भैरहवामा चारवटा अन्तर्राष्ट्रिय हवाई कम्पनीले उडान थालिसक्दा पोखरामा उडान हुन नसक्दा पर्यटन क्षेत्र थलिएको व्यवसायीको भनाइ छ।

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुलीले नेपालमा विदेशी पर्यटक भित्रिने समयमा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान समय कटौती गर्दा पर्यटन क्षेत्र प्रभावित भएको बताए। उनले भने, ‘विमानस्थल सञ्चालन अवधि घटेसँगै हवाई उडान कटौती भएका छन्। सीमित उडान हुँदा भाडा बढाइएको छ। यसले पर्यटकलाई आउजाउमा असर पर्ने पक्का छ।’ पर्यटक आवागमनमा अवरोध खडा गरेर पोखरासहितका पर्यटकीय सहरलाई ‘डेड सिटी’ बनाउन खोजिएको गुनासो उनले सुनाए। ‘मनलाग्दी हवाई भाडा बढाउँदा पनि कारबाही भएन। पर्यटन क्षेत्र अन्योलमा परिसकेको छ,’ उनले भने, ‘पर्यटक भित्रिने मुख्य सिजनमा दिनमा १० घण्टा विमानस्थल बन्द हुँदा त्यसको असर पर्यटन क्षेत्रले बढी बेहोर्नुपरेको छ।’ पर्यटन क्षेत्रसँग सल्लाह नगरी हचुवाका भरमा विमानस्थल सञ्चालन अवधि कटौती गरिएको उनले बताए। ‘पर्यटन क्षेत्र बाँच्नै मुस्किल छ। पर्यटक आउने बाटो नै छैन। हवाई भाडा महंगिएको छ,’ उनले भने।

अगुवा पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पर्यटन क्षेत्रमा अहिले सबैतिरबाट अप्ठेरो आइपरेको बताए। उनका अनुसार हवाई र स्थल मार्गको असुविधाले पर्यटकीय गन्तव्यमा पाहुना आउजाउ गर्न सकेका छैनन्। ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झन्डै दुई वर्ष हुनै लाग्दा पनि अन्तर्राष्ट्रिय उडानको कुनै टुंगो लागेको छैन,’ उनले भने, ‘स्थल मार्गको अवस्था पनि नाजुक छ। पोखरा–काठमाडौं स्थल मार्ग सहज नहुुँदा पर्यटक हिँडडुल नै ठप्प जस्तै भयो।’ अर्का पर्यटन व्यवसायी धर्मराज पन्थीले एक महिना ढिलागरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार थालेको भए अहिलेको सिजनका पाहुना भित्रिने बताउँछन्। ‘डिसेम्बरबाट काम थालेको भए पर्यटक प्रभावित हुँदैनथे। अहिले त बुकिङ गरेका पाहुना पनि आउन पाएनन्,’ उनले भने, ‘यो सिजन डामाडोल भयो। सिजनका बेला विमानस्थल बन्द गर्नु अव्यवहारिक कदम हो।’

व्यवसायीसँगको छलफलमा मन्त्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार थाल्ने योजनासँगै पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्नेगरी हवाई कम्पनीलाई उडान सार्न अनुरोध गरे पनि पोखराका लागि भने उनीहरू आकर्षित नभएको बताए। ‘सरकारले हवाई कम्पनीलाई पोखरा जानेगरी सहुलियतसहित आकर्षक कार्ययोजना दिए पनि यहाँका लागि उनीहरूको आकर्षण देखिएन,’ उनले भने, ‘पोखरामा आउँदा छुटसहितका प्याकेज सरकारले दिएको हो तर पनि हवाई कम्पनी तयार भएका छैनन्।’ उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सक्दो पहल गरिरहेको पनि सुनाए। ‘म जहाँ जान्छु, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरौं भन्छु’, उनले भने। ४० प्रतिशत भार कटौती गरेपछि मात्र न्यारोबडी जहाज पोखरामा आउन सक्ने भन्ने हल्ला चिर्न नेपाल एयरलाइन्सको जहाजमा पूर्ण क्षमतामा यात्रु राखेर परीक्षण उडानको तयारी भइरहेको जानकारी पनि उनले दिए। ‘प्राविधिक समस्याले साँच्चै नै भार कटौती गर्नैपर्ने हो भने भन्नुपर्छ नत्र भने अनावश्यक हल्ला गर्न मिल्दैन,’ उनले भने, ‘अहिलेसम्म पोखरामा जेजति अन्तर्राष्ट्रिय उडान भएका छन, ती कसैले भार कटौती गरेको होइन।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नोभेम्बर मसान्तसम्म दैनिक १० घण्टा बन्द नगरौं भनेर आफूले भने पनि सम्भव नभएको मन्त्री पाण्डेले बताए। विमानस्थलबारे ६ महिनाअघि नै सूचना जारी गरिसकेकाले तत्कालै समय परिवर्तन गर्न नमिल्ने भनेर आफूले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट जवाफ पाएको उनले बताए। ‘अहिलेको सूचनालाई पुनरवलोकन गर्ने नै हो भने पनि सूचना जारी गरेको ४२ दिनपछि मात्र कार्यान्वयन गर्न मिल्ने रहेछ,’ उनले भने, ‘त्यसैले तत्कालै हुने अवस्था रहेन।’

प्रकाशित: २५ कार्तिक २०८१ ०८:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App