सुर्खेत पश्चिमको चौकुने गाउँपालिका–७ सान्नेघारीका विजय कसेरा आँगनअगाडिको सडक कालोपत्र गर्न धमाधम काम भइराखेको देख्दा दंग परेका छन्। जिल्ला सुर्खेत भए पनि सरकारी कामकाजबाहेक अन्य कामका लागि सुदू्रपश्चिमको कैलालीमा निर्भर हुनुपर्ने बाध्यताको अन्त्य यो सडकले गर्ने विश्वास उनमा छ।
हुन पनि चौकुनेबाट सदरमुकाम वीरेन्द्रनगर आउन अहिलेको सडकको अवस्थाले दिनभर लाग्छ। बर्खामा त झन् सडककै कारण गन्तव्यमा पुग्ने नपुग्ने कुनै टुंगो हुँदैन।
‘मेरो घरदेखि सदरमुकामसम्मको दूरी जम्मा ६० किलोमिटर हो,’ उनले भने, ‘जीर्ण सडकका कारण हामी प्रशासनिक कामबाहेक अरू कामका लागि सदरमुकाम वीरेन्द्रनगरको सट्टा कैलाली जाने गर्दछौं।’ सुर्खेत पश्चिमका तीनवटा पालिकाका गाउँ बस्ती छिचोल्दै मदन भण्डारी राजमार्ग निर्माणले तीब्रता पाएको छ।
मदन भण्डारी राजमार्ग सुर्खेतको वीरेन्द्रनगरदेखि डोटीको सिमानासम्म एक सय ४१ किलोमिटर पर्छ। योमध्ये वीरेन्द्रनगरदेखि बड्डीचौरसम्मको २९ किलोमिटर खण्ड कर्णाली राजमार्गमा पर्छ। यो खण्ड कालोपत्र भएको दुई दशक पुग्यो। बड्डीचौरदेखि लगामसम्मको ८७ किलोमिटरमध्ये कुनै खण्डमा काम भइरहेको छ भने कतै प्रक्रियामै छ ।
मदन भण्डारी राजमार्गले सुर्खेत पश्चिमको सदरमुकामसमेत रहेको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसँग सोझो सम्बन्ध मात्रै स्थापित गर्ने छैन, दुईवटा प्रदेशलाई पनि जोड्ने छ। ‘त्योभन्दा महŒवपूर्ण पश्चिमको समग्र जनजीवनमा समृद्धिको रेखा बन्नेछ,’ लगामका जय विकले भने, ‘मदन भण्डारी राजमार्गले वषौंदेखि पछाडि पारिएको पश्चिम सुर्खेत विकासको मार्गमा प्रवेश गर्ने अपेक्षा हामीले लिएका छौं ।’
अहिले सदरमुकाम वीरेन्द्रनगरसम्म पुग्न पनि दिनभर गाडी चढ्नुपर्ने भए पनि सडक कालोपत्र भए तीन घण्टामा सदरमुकाम पुगिने उनले बताए। सडक कालोपत्र भएसँगै पश्चिमको उत्पादनले पनि बजार पाउने उनको भनाइ छ। सदरमुकाम जोड्ने सडक वषौंदेखि निर्माण तथा स्तरोन्नति नहुँदा यहाँका बासिन्दा दैनिक उपभोग्य वस्तुुदेखि अन्य कुरामा कैलालीसँग भर पर्नुपर्ने बाध्यता छ।
मदन भण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेतका इन्जिनियर रेशम ओलीले सुर्खेत पश्चिम खण्डको काम धमाधम भइरहेको बताए। उनका अनुसार मदन भण्डारी राजमार्ग आयोजनाको कार्यक्षेत्र पर्ने भए पनि बड्डीचौरदेखि खम्बागाडेसम्मको १३.१ किलोमिटर खण्ड कर्णाली प्रदेश सरकारले निर्माण गरिरहेको छ।
यो खण्डको निर्माण कार्य अत्यन्त सुस्त छ। यो खण्ड कालोपत्र गर्न अनक जयदेवी जेभीले ४२ करोड ४७ लाखमा २०८१ असार २४ गतेभित्र कालोपत्र सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म ३० प्रतिशत मात्रै काम भएको छ। सडक निर्माणको जिम्मा संघीय सांसद दिक्पाल शाहीको निर्माण कम्पनीले पाएको छ।
यस्तै खम्बागाडे–विद्यापुर १०.३ किलोमिटर र विद्यापुर–गुटु–बिजौरा–बल्दे २२ किलोमिटर मदन भण्डारी राजमार्ग आयोजनाले निर्माण गरिरहेको छ। बल्देदेखि लगामसम्म १५ किलोमिटर ठेक्का भइसकेको छ भने लगाम–धनरास–धामीसैन–पाल्पाघाटसम्मको करिब २५ किलोमिटरमध्ये १८ किलोमिटर सडक खण्डको डीपीआर सम्पन्न भएर स्रोत सुनिश्चितताको क्रममा छ। लगामदेखि बेनीघाटसम्मको २७ किलोमिटरको प्रक्रिया पनि अगाडि बढिरहेको छ ।
सुदूरपश्चिमसँग जोडिएका चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिका छेउका धेरै बस्ती दुर्गम छन्। बराहतालको केही भागलाई मात्रै कर्णाली राजमार्गले छुन्छ।
चौकुने गाउँपालिकाका अध्यक्ष खड्क बिकले पश्चिम सुर्खेतको चौकुनेका अधिकांश वडा कैलाली, डोटी र अछामसँग जोडिएपनि कैयौँ गाउँमा यातायात र अन्य पूर्वाधारको समस्या भएको बताए। ‘यातायातको सहज पहुँच नभएको पश्चिम सुर्खेतका लागि मदन भण्डारी राजमार्ग समृद्धि मार्ग हो,’ अध्यक्ष विकले भने, ‘अहिले पनि पश्चिममा बाख्रापालन, केराखेती, खाद्यान्न, तरकारी–फलफूल खेतीमा राम्रो गरेका परिवार छन्, राम्रो सडकको पहुँच नहुँदा उत्पादनको बजारीकरण हुन सकेको छैन। यो राजमार्ग समयमा नै बनेपछि यहाँको जीवनशैली नै बदलिदिनेछ।’
उपसभापति खड्काद्वारा अनुगमन
नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुर्खेतको पश्चिम क्षेत्रको विकास र समृद्धिका लागि आफू निरन्तर क्रियाशील रहेको बताएका छन्। उनले पश्चिम क्षेत्रको विकास र समृद्धिको मार्गको रूपमा रहेको मदन भण्डारी राजमार्गलाई पूर्णता दिन आफू निरन्तर लागिपरेको बताए।
‘यहाँको विकास र समृद्धिका लागि बड्डीचौरदेखि सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला जोड्ने मदन भण्डारी राजमार्ग समयमै पूरा हुन आवश्यक छ,’ सडक अनुगमनपछि खड्काले भने, ‘मदन भण्डारी राजमार्गलाई समयमै सम्पन्न गर्नका लागि म निरन्तर लागिरहेको छु।’
मदन भण्डारी राजमार्ग अन्तर्गत बड्डीचौर–खम्बागाडे सडकको १३.१ किलोमिटर सडक कर्णाली प्रदेश सरकारले निर्माण गरिरहेको छ। यस्तै खम्बागाडे–विद्यापुर १०.३ किलोमिटर र विद्यापुर–गुटु–विजौरा–बल्दे २२ किलोमिटर मदन भण्डारी राजमार्ग आयोजनाले निर्माण गरिरहेको छ। यस्तै बल्देदेखि लगामसम्म १५ किलोमिटर ठेक्का भइसकेको छ भने लगाम–धनरास–धामीसैन–पाल्पाघाटसम्मको करिव २५ किलोमिटर मध्ये १८ किलोमिटर सडक खण्डको डीपीआर सम्पन्न भएर स्रोत सुनिश्चितताको क्रममा छ।
पश्चिम खण्डमा निर्माण भइरहेका सडक खण्डको अनुगमनपछि उपसभापति खड्काले सडक निर्माणका क्रममा देखिएका समस्या समाधान गर्दै तोकिएकै समयमा सम्पन्न गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित रहेको बताए।
‘सडक निर्माण सम्पन्न नहुँदासम्म पटक–पटक यो क्षेत्रमा आएर निरन्तर अनुगमन गर्नेछु, देखिएका नीतिगत र प्राविधिक समस्या समाधानमा लाग्नेछु,’ उनले भने, ‘मदन भण्डारी राजमार्ग पश्चिम सुर्खेतको विकासको मेरुदण्ड हो, समयमै सम्पन्न गर्न सम्पूर्ण रूपमा लाग्नेछु ।’ उनले बड्डीचौर–खम्बागाडे सडक खण्डमा पर्ने रुखहरू कटानको प्रक्रिया अन्तिम चरणमा पुगेको बताए। ‘रुख कटानी र सडक कसले बनाउने विषयमा केही समस्या देखियो, अहिले त्यसको पनि समाधान भइसकेको छ,’ उनले भने, ‘चाँडै यो सडक निर्माणले पनि गति लिन्छ।’
उपसभापति खड्काले पश्चिम सुर्खेतमा प्रदेशको प्रहरी तालिम केन्द्र स्थापनाको प्रक्रियामा रहेको बताउँदै मन्त्रिपरिषद्बाट निर्णय नहुँदासम्म यसमा आफूले ठोस प्रतिक्रिया नदिने बताए।
उनले आफू सधैं जनताको काम र विकासप्रति उत्तरदायी रहेको बताउँदै आफ्नो नाम जोडेर कसैलाई राजनीति नगर्नसमेत आग्रह गरे। उनले केही समयमै पश्चिम सुर्खेतको केन्द्र बाबियाचौरबाट मालपोत तथा नापी कार्यालय स्थापना गरेर सेवा प्रवाह हुने पनि बताए।
ररर
प्रकाशित: २० कार्तिक २०८१ १०:०५ मंगलबार