२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अर्थ

घोडेपानीमा आन्तरिक पर्यटक आकर्षित गर्न छुट

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल घोडेपानीका होटलमा आन्तरिक पर्यटकलाई छुट दिन थालिएको छ ।  

घोडेपानी टोल सुधार समिति, होटल व्यवस्थापन र पर्यटन व्यवस्थापन उपसमितिको बिहिबार बसेको संयुक्त बैठकले दशै, तिहार, छठलगायत चाडपर्वको समयमा घुम्न आउने आन्तरिक पर्यटकलाई १० प्रतिशतसम्म छुट दिने निर्णय गरेको थियो । सोही निर्णयलाई कार्यान्वयनमा ल्याउँदै व्यवसायीहरुले होटलमा छुट दिन थालेका हुन् ।  

घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले नेपाली पर्यटकले विहीबारदेखिनै लागु हुने गरी कुल बिलमा १० प्रतिशतका दरले छुट सुविधा पाउन थालेको जानकारी दिइन् । ‘आन्तरिक पर्यटनको प्रर्वद्धनका लागि यहाँका सबै होटलले छुट दिने निर्णय गरेका हौं,’ उनले भनिन् ‘चाडपर्वको समयमा घुम्न आउन पाहुनाले घोडेपानीका सबै होटलमा छुट सुविधा पाउनेछन् ।’

घोप्टेखर्कमा पहिरोले अवरुद्ध बनाएको सडक मर्मत गरेर पोखरेबगर–घोडेपानी सडकमा जिप र मोटरसाइकल सञ्चालन गर्न मिल्ने बनाएको उनले बताइन् । सवारी साधनको अलावा कास्कीको उल्लेरी, घान्द्रुक, म्याग्दीको मोहरेडाडा, पर्वतको भुक देउराली हुँदै पैदलयात्रा गरेर घोडेपानी पुग्न सकिन्छ ।  

समुन्द्रि सतहदेखि दुई हजार आठ सय मिटर उचाईमा अवस्थित घोडेपानीमा रहेका २६ वटा साना ठूला सुविधायुक्त होटलमा दैनिक एक हजार दुई सय जना पाहुना बास बस्ने क्षमता रहेको छ । प्याकेजमा प्रतिव्यक्ति एक हजार पाँच सयदेखि पाँच हजार रुपैयाँसम्मका सुविधायुक्त कोठा होटलमा छन् ।  

हिमाल, पहाडी भूगोल, सुर्योदय र गुराँसको जंगल अवलोकनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका – ६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र चर्चित छ । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा अवस्थित पुनहिल चक्रीय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । पुनहिलबाट हिमशृंखला र सूर्योदयको सुन्दर दृष्यको दृश्यावलोकन गर्न पाइन्छ ।

यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमशृंखलाका दर्जनबढी हिमाल र दर्जनौँ हिमचुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ । मनोरम प्राकृतिक दृष्यको अवलोकन, उच्च हिमाली भूगोल, शान्त र मनोरम वातावरणको कारण पर्यटकले घोडेपानी पुनहिल क्षेत्रलाई आफ्नो रोजाइमा राख्ने गरेका हुन् ।

पुनहिलको फेदीमा रहेको घोडेपानीका होटलका कोठा र डाईनिङ हलबाटै गुराँसको जंगलको पृष्ठभूमिमा हिमाल अवलोकन गर्न सकिन्छ । घोडेपानीमा बास बसेका पर्यटकहरु एका बिहानै करिब ४० मिनेट उकालो हिडेर पुनहिलमा दृष्य अवलोकन गर्न पुग्छन् । घोडेपानी पुनहिल अन्नपूर्ण चक्रीय पदमार्गमा आउने पर्यटकको रोजाइमा पर्ने गरेको पर्यटन व्यवसायीहरुले बताएका छन् ।

गण्डकी प्रदेशको राजधानी पोखरादेखि नयाँ पुल, उल्लेरी भएर एकै दिन र घान्द्रुक भएर दुई दिनमा घोेडेपानी पुग्न सकिन्छ । म्याग्दीको जिल्ला सदरमुकाम बेनी देखि अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर हुँदै गाडी चढेर तीन घण्टामा घोडेपानी पुगिन्छ ।  

प्रकाशित: १ कार्तिक २०८१ १९:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App