१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

आन्दोलनरत ‘क्याबिन क्रु’ सँग पर्यटन मन्त्रीको वार्ता सकारात्मक

दसैँको समयमा आन्दोलनमा उत्रिएका क्याबिन क्रु(विमान परिचारिका तथा परिचारक)सँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले वार्ता गरेका छन् । शनिवार आन्दोलनरत समूह र नेपाल एयरलाइन्सका प्रतिनिधिलाई बोलाएर पर्यटन मन्त्री पाण्डेले वार्ता गरेका हुन् । 

वार्ताका क्रममा मन्त्री पाण्डेले चाडबाडका बेला अत्यावश्यक सेवा अवरुद्ध हुने गरी कुनै किसिमका आन्दोलन र गतिविधि नगर्न आग्रह गरेका छन् । 

‘तपाईँहरूको विषयमा सर्वोच्च अदालतले समेत दुई पटक छुट्टाछुट्टै आदेश दिएको छ। उक्त विषय अदालतले अन्तिम टुङ्गो लगाएको छैन,’ मन्त्री पाण्डेको भनाई उद्धृत गर्दै उनको सचिवालयले भन्यो,‘यसबिचमा वि नियमावली परिवर्तन गर्न मिल्छ कि मिल्दैन ?  यसबारे कानुनविद् र महान्यायाधिवक्तालाई बुझ्छौँ। चाडबाड र सङ्कटको अवस्थामा कुनै पनि हालतमा सेवालाई नरोकिइदिनुहोस् ।’ 

नेपाल एयरलाइन्समा कार्यरत क्याबिन क्रु सदस्यहरू विद्यमान रहेको ४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै  आन्दोलनमा छन् । निगममा कार्यरत परिचारिका र परिचारकहरूको संस्था नेपाल वायुसेवा क्याबिन क्रु संघले ४५ वर्षपछि अनिवार्य अवकाशमा जाने नियम, सेवा सुविधामा विभेद भएको भनी ०८० पुसमा सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । उक्त मुद्दाको किनारा लागेको छैन । 

यसैबीचमा निगमले ४५ वर्ष उमेर पुगेका क्याबिन क्रुको करार नवीकरण नगरेपछि असोज १६ यता उनीहरू आन्दोलनमा छन् । आन्दोलनका कारण दुबई र हङकङका दुई वटा उडान रद्द भएका थिए ।

मन्त्रालयमा भएको वार्ता सकारात्मक भएको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ । शनिवारै फेरी छलफल गरेर क्याबिन क्रुलाई काममा फर्काउने गरी वार्ता उन्मुख रहेको सचिवालयको भनाई छ ।  

प्रकाशित: १९ आश्विन २०८१ १३:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App