१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

पर्यटक आगमनमा ‘रेकर्ड ब्रेक’

नेपालमा हवाई यात्रामार्फत सेप्टेम्बरमा मात्रै ९६ हजार तीन सय पाँच जना विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को सेप्टेम्बरमा भित्रिएको विदेशी पर्यटकको यो संख्या अहिलेसम्मकै बढी हो। अघिल्ला वर्षका सेप्टेम्बर महिनाको आगमनलाई पछाडि पार्दै यस पटक नयाँ रेकर्ड कायम गरेको पर्यटन बोर्डको भनाइ छ।

नेपालमा सन् २०२३ को सेप्टेम्बरमा ९१ हजार १२ जना पर्यटक भित्रिएका थिए। पोहोरको तुलनामा यो सेप्टेम्बरमा झन्डै ६ प्रतिशत बढी विदेशी नेपाल भित्रिएको पर्यटन बोर्डको भनाइ छ।

नेपालमा सबैभन्दा बढी विदेशी पर्यटक भित्रिएको २०१९ मा हो। सन् २०१९ मा नेपालमा सबैगरी ११ लाख ९७ हजार विदेशी पर्यटक भित्रिएका थिए। २०१९ को सेप्टेम्बरमा नेपालमा ९२ हजार ६ सय चार जना विदेशी पाहुना भित्रिएका थिए।

पर्यटन बोर्डका निर्देशक मणि लामिछाने भन्छन्, ‘सरकारले नेपाल भित्रिएका विदेशी पर्यटकको तथ्यांक राख्न थालेदेखि सेप्टेम्बरमा भित्रिएका पाहुनाको आकार यो पटक सर्वाधिक हो। सेप्टेम्बरको मात्र तथ्यांक हेर्दा पनि यो पटक रेकर्ड ब्रेक भएको छ।’

बोर्डका अनुसार कोरोना भाइरस संक्रमणका कारण अघिल्ला वर्षको आगमन प्रभावित भएको थियो। सन् २०२२ को सेप्टेम्बरमा भने नेपालमा ५८ हजार तीन सय १४ जना विदेशी पाहुना भित्रिएका थिए। त्यो संख्या २०२१ को सेप्टेम्बरमा नौ हजार नौ सय सात थियो। २०२० सेप्टेम्बरमा पाँच सय ८४ जना विदेशी पाहुना मात्र नेपाल भित्रिएका थिए। ‘यस पटक युरोपियन र अमेरिकी पाहुना बढेका छन्।

भारतीय र चिनियाँ पाहुना घटिरहँदा पनि आगमनको आकार निकै बढेको छ,’ उनले भने, ‘अमेरिकी र युरोपियनमूलका पाहुना भित्रिँदा त्यसको लाभ समग्र नेपाली अर्थतन्त्रलाई हुन्छ।’

यो सेप्टेम्बरमा नेपाल भित्रिएका युरोपियन मूलका पाहुनाको संख्या १७ हजार एक सय चार छ। यो संख्या अघिल्लो सेप्टेम्बरमा १५ हजार दुई सय ७६ थियो। अघिल्लो सेप्टेम्बरमा भन्दा यस पटक १२ प्रतिशत बढी युरोपियन पाहुना भित्रिएको उनले बताए।

तथ्यांक अनुसार अमेरिकी पाहुनाको संख्या पनि यो पटक बढेको छ। यो सेप्टेम्बरमा नेपालमा ११ हजार पाँच सय ४९ जना अमेरिकी मूलका पाहुना भित्रिए । जबकि यो संख्या अघिल्लो सेप्टेम्बरमा आठ हजार चार सय ७३ थियो। अघिल्लो सेप्टेम्बरको तुलनामा यो सेप्टेम्बरमा ३६ प्रतिशत बढी अमेरिकी मूलका पाहुना नेपाल भित्रिएको पनि लामिछानेले बताए।

नेपालमा यो वर्ष अहिलेसम्म (जनवरी–सेप्टेम्बर) मा आठ लाख १६ हजार विदेशी पर्यटक भित्रिएका छन्। नौ महिना अवधिमा नेपालमा आठ लाख १६ हजार ६ सय ३९ जना विदेशी भित्रिएका छन्। नेपालमा सन् २०२४ को जनवरीमा ७९ हजार एक सय विदेशी पाहुना भित्रिएका थिए। त्यो संख्या फेब्रुअरीमा ९७ हजार चार सय २६ थियो। मार्चको आगमन संख्या एक लाख २८ हजार एक सय  ६७ थियो।

अप्रिलको आगमन भने एक लाख ११ हजार तीन सय ७६ रहेकोमा मे महिनामा ९० हजार दुई सय ११ जना विदेशी पाहुना नेपाल भित्रिएका थिए। जुन महिनामा नेपाल भित्रिने विदेशी पाहुनाको संख्या ७६ हजार सात सय ३६ थियो। जुलाईको आगमन  ६४ हजार पाँच सय ९९ हुँदा अगष्टको आगमन भने ७२ हजार सात सय १९ रहेको थियो।

सेप्टेम्बरमा   ९६ हजार तीन सय पाँच जना विदेशी नेपाल भित्रिए। सरकारले यो आर्थिक वर्ष १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ।

भारतीयको आगमनमा गिरावट

भारतीय पाहुनाको आगमनमा भने यो पटक ठूलो गिरावट आएको छ। त्यस्तै चिनियाँ पाहुनाको आगमन पनि पोहोरको तुलनामा घटेको बोर्डका निर्देशक लामिछानेले बताए।

लामिछानेका अनुसार २०२३ को सेप्टेम्बरमा २८ हजार ६ सय ९४ जना भारतीय पर्यटक नेपाल भित्रिएका थिए तर यो सेप्टेम्बरमा २० प्रतिशत कम अर्थात् २२ हजार नौ सय ८४ जना भारतीय पाहुना भित्रिएको उनले बताए।  

‘नेपालमा भएका घटनाक्रम, हवाई र सडक दुर्घटनाले गर्दा भारतीय पाहुनाको आगमन खस्केको हो,’ उनले भने, ‘भारतीय पर्यटकको आगमनमा निकै सुधार भइरहेको थियो तर यस पटक खस्कियो।’

गत अगष्टमा भन्दा पनि अहिले भारतीय पाहुना घटेका छन्। गत अगष्टमा नेपालमा २५ हजार आठ सय ३२ जना भारतीय पाहुना आएका थिए। त्यो संख्या घटेर अहिले २२ हजार नौ सय ८४ मा झरेको छ।

त्यस्तै चिनियाँ पाहुनाको आगमन पनि प्रभावित छ। चिनियाँको आगमन २०२३ को सेप्टेम्बरमा आठ हजार एक सय ७४ थियो तर अगष्टमा केही घटेर आठ हजार ४२ मा झरेको छ। ‘चिनियाँको भन्दा पनि भारतीयको आगमन बढी प्रभावित छ। भारतीय पाहुनाको आगमनमा छोटो समयमै सुधार हुन्छ भने गिरावट हुँदा पनि धेरै लामो समय लाग्दैन । सानातिना घटनाबाट प्रभावित हुन्छ,’ लामिछानेले भने।

प्रकाशित: १८ आश्विन २०८१ ०७:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App