१६ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

खानेपानीको गुणस्तर सुधार गर्ने परियोजना निर्माणको चरणमा

खानेपानीको गुणस्तर सुधार गर्न विराटनगरमा नयाँ खानेपानी परियोजना निर्माणको चरणमा पुगेको छ। परियोजनाको भौतिक काम सुरु गर्ने तयारी थालिएको परियोजनाका इन्जिनियर अरविन्द्र कर्णले जानकारी दिए।

कर्णका अनुसार महानगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ जापान सरकारको सहयोगमा बृहत्तर खानेपानी परियोजनाका लागि पाइपलाइन बिछ्याएर परीक्षणसमेत गरिसकिएको छ।

२ अर्ब २९ करोड जापानी ऐन लागत रहेको उक्त परियोजनाका लागि ६८ किलोमिटर पाइपलाइन विस्तार गर्ने योजना रहेको छ। देवकोटाचोक, तीनपैनीचोक र मुनालपथस्थित खानेपानी संस्थान परिसरमा १२–१२ लाख लिटर क्षमताको अण्डरग्राउण्ड ट्यांकी निर्माण गरिनेछ।

त्यस्तै, विराटनगर–५ स्थित महानगर बहु प्राविधिक शिक्षालय नजिक १२ लाख लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण हुनेछ। त्यस्तै, सोही स्थानमा साढे ४ लाख लिटर क्षमताको अण्डरग्राउड ट्यांकी पनि निर्माण हुने इन्जिनियर कर्णले जानकारी दिए।

कर्णका अनुसार सबै ट्यांकी भएको स्थानमा ३–३ वटा पानी तान्ने बोरिङ, पानी प्रशोधनका लागि फिल्टरसमेत जडान हुनेछ। सन् २०२६ को मे ३१ तारिखमा सम्पन्न गर्ने गरी सुरु गरिएको परियोजनाबाट १ लाखभन्दा बढी महानगरवासी लाभान्वित हुने उनले बताए।

हाल विराटनगरमा खानेपानी संस्थानले वितरण गरेको पानीमा ज्यादा आइरन मिसिएका कारण धारको पानी पहेँलो आउने गरेको छ। विराटनगर क्षेत्रमा बिछ्याइएका कतिपय पाइपलाइन पञ्चायतकालिन भएका कारण पानीमा फोहोर मिसिने र साँघुरा पाइपलाईनका कारण उपभोक्ताको धारामा पानी नआउने समस्या देखिँदै आएको छ।

करिब १० वर्ष पहिलो विराटनगरमा फैलिएको जण्डीसको महामारी पनि खानेपानी संस्थानकै दूषित पानीका कारण भएको आरोप लाग्दै आएको छ। यही कारण धेरैजसो उपभोक्ताले अझै पनि ढुक्कसँगले खानेपानी संस्थानले वितरण गरेको पानी पिउन सकेका छैनन्।

अधिकांश उपभोक्ताले लुगा धुने, भाँडा माझ्ने, सरसफाइका काममा र गाई बस्तुलाई खुवाउन  संस्थानको पानी प्रयोग गर्दै आएका छन्। पिउनका लागि भने जारकै पानीमा भर पर्नुपर्ने अवस्था रहेको छ। यसैबीच परियोजनाको निर्माण सुरु गर्ने विषयमा विराटनगरमा सरोकारवालाहरूसँ सुझाव सङ्कलन गरिएको छ।

विराटनगर महानगरपालिकामा आयोजित कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, खानेपानी संस्थान, विद्युत् प्राधिकरण, नेपाल टेलिकमलगायतका प्रमुख तथा प्रतिनिधिहरू सहभागी थिए।

कार्यक्रममा परियोजना सञ्चालनका क्रममा आइपर्ने समस्या समाधान गरिदिन परियोजनाका इन्जिनियर कर्णले आग्रह गरे। कर्णले सरोकारवालाहरूले सहयोग गरे तोकिएको समयमै परियोजना सम्पन्न गर्ने जानकारी दिए।

कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरपालिका र सबै जनप्रतिनिधिहरू परियोजनाको काममा सहयोग गर्न तत्पर रहेको भन्दै परियोजनालाई आश्वस्त पारेका छन्। छलफलमा परियोजना सञ्चालन हुने वडाका अध्यक्षहरू र अन्य जनप्रतिनिधिहरू पनि सहभागी थिए।

प्रकाशित: १६ आश्विन २०८१ २०:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App