९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ सुरु

नेपालीहरूको महान् पर्व शुभ विजय दशमीको पावन अवसरमा भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित खुल्ला मैदानमा भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ सुरु भएको छ।

भक्तपुर चेम्बर अफ कमर्सको आयोजना र सगुन इभेन्ट मेनेजमेण्ट प्रा.लि.को व्यवस्थापनमा बुधबारदेखि मेला सुरु भएको हो। 

महोत्सवको उद्घाटन कार्यवाहक प्रधानमन्त्री एवं उपप्रधानमन्त्री प्रकाशमान सिंहले गरेका छन्।

भक्तपुर जिल्लामा रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वका स्थानहरूको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउँदै यहाँका स्थानीय उत्पादनहरू लगायत राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरूको बजारीकरणमा विशेष टेवा पु¥याउने उद्देश्यले महोत्सव गरिएको बताइएको छ।

महोत्सवमा विविध उत्पादन तथा सेवाहरूको अलगअलग परिसर बनाई प्रवर्द्धन गरिएको छ। दशैको मुखमा आयोजना भएको महोत्सवमा दैनिक उपभोग्य सामानहरू सस्तो सुलभ रुपमा उपलब्ध हुनुका साथै नयाँ किसिमका उत्पादनहरूमा छुटको समेत व्यवस्था हुने जनाइएको छ।

महोत्सवमा मौलिक उत्पादन तथा हस्तकला, कृषि उत्पादनहरू, बिउ बिजन तथा मलखाद, कृषि औजार, प्रविधि तथा यन्त्र, जडीबुटी तथा औषधी, छालाका सामानहरू, गार्मेन्ट तथा जुत्ता चप्पल, गलैँचा तथा पस्मिना, सूचना प्रविधि, इलेक्ट्रिकल्स् तथा इलेक्ट्रोनिक्स्, फर्निचर तथा फर्निसिंग, पर्यटन तथा शैक्षिक संस्था, घरजग्गा तथा निर्माण सामाग्री, बैंक तथा वित्तीय संस्था, अटोमोवाइल्स् लगायत रोजगार दाता निकायका गरी एक सय ६० स्टलहरू रहेको बताइएको छ।

महोत्सव अवधिभर करिब दुई लाख पचास हजार दर्शकहरूले अवलोकन गर्ने र उक्त अवधिमा करिब १० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान रहेको छ। महोत्सव प्रवेशका लागि सर्वसाधारणलाई रु. ७० र विद्यार्थीहरूलाई रु. ५० को टिकट लाग्ने जनाइएको छ। वृद्ध वृद्धा तथा शारीरिक असक्षम व्यक्तिहरुलाई प्रवेश निःशुल्क गरिने छ। 

प्रकाशित: ९ आश्विन २०८१ १८:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App