४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाल-कोरिया कूटनीतिको ५० वर्ष: लगानी तथा व्यापार विस्तारमा कोरिया प्रमुख साझेदार मुलुक

कोरिया र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण जयन्तीका अवसरमा गणतन्त्र कोरियाली दूतावासले नेपाल–कोरिया इन्फ्रा विज नाइट २०२४ आयोजना गरेको छ। गणतन्त्र कोरियाले यस वर्षभरि ५०औं वर्षसम्बन्धी कार्यक्रम गर्दै आएको कोरियाली दूतावासले जनाएको छ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालको आर्थिक विकासमा कोरियाली व्यवसायीहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए। मन्त्री दाहालले गणतन्त्र कोरिया नेपालको ठूलो व्यापार साझेदार मुलुक भएको उल्लेख गर्दै भविष्यमा पनि यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे।

दक्षिण कोरियाबाट सहयोग विस्तार र दीर्घकालीन ‘सफ्ट लोन’ को आवश्यकता रहेको औंल्याउँदै मन्त्री दाहालले यसमा कोरिया सरकारको सकारात्मक भूमिका रहने विश्वास व्यक्त गरे।

नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थेयङले नेपालमा कोरियाली लगानी भित्र्याउन र व्यापार प्रवर्धन गर्न निरन्तर लागिपर्ने जानकारी गराए। नेपालको आर्थिक समृद्धिका लागि सहयोग गर्न गणतन्त्र कोरिया सदा तयार रहेको पनि उनले बताए।

उद्योगी तथा व्यवसायीहरूले पनि नेपालमा लगानी बढाउन कोरियाली लगानीकर्तालाई आग्रह गरेका थिए।

कार्यक्रममा कोरिया सरकारले नेपाली व्यवसायी आइजे ग्रुपका अध्यक्ष रविभक्त श्रेष्ठलाई सम्मान गरेको छ। गणतन्त्र कोरिया सरकारले कोरिया र नेपालबिच आर्थिक सहयोग विस्तारमा वर्षौंदेखिको योगदानलाई कदर गर्दै अध्यक्ष श्रेष्ठलाई हौसलास्वरूप प्रशंसापत्र प्रदान गरेको हो।

अध्यक्ष श्रेष्ठले कोरियासँग व्यापार सहजीकरणका लागि सन् १९९२ मा नेपाल–कोरिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनकेसिसिआई) स्थापना गरी गणतन्त्र कोरिया र नेपालबिचको लगानी तथा व्यापार विस्तारमा योगदान गर्दै आएका छन्। उनले एनकेसिसिआईको प्रथम अध्यक्षका रूपमा महत्त्वपूर्ण भूमिकासमेत खेलेका थिए।

उनले पूर्वाधार विकासका सम्बन्धमा कोरिया एक्जिम बैंकको आर्थिक साझेदारी कार्यक्रम (इडिसिएफ) सफ्ट लोन प्रयोग गरी नेपालमा चमेलिया जलविद्युत् आयोजना निर्माणमा पनि सहभागी भएर कोरियासँगको सहकार्यमा प्रशंसनीय भूमिका खेलेका थिए।

गणतन्त्र कोरिया सरकारले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५०औं वर्षगाँठको उपलक्ष्यमा नेपालसँग आर्थिक साझेदारी थप मजबुत बनाउने योजना बनाएको उल्लेख गरेको थियो। गणतन्त्र कोरिया र नेपालबिच विभिन्न माध्यमबाट आर्थिक क्षेत्रको सहकार्य विस्तार हुने र रोजगारी सिर्जना गरी आर्थिक विकासमा योगदान पुग्ने हिसाबले कार्यक्रम सञ्चालन गर्दै जाने उनको भनाइ थियो।

नेपाल राष्ट्र बैंकले गत अगस्टमा प्रकाशन गरेको तथ्यांकअनुसार नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने देश (पेडअप क्यापिटल) मध्ये कोरिया तेस्रो रहेको छ। भविष्यमा पनि मझौला तथा ठूला लगानीकर्तामार्फत नेपालको अर्थतन्त्रमा सकारात्मक भूमिका खेल्ने दूतावासले जनाएको छ।

प्रकाशित: १ आश्विन २०८१ ०८:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App