१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

अब कार्यालय समयमा टिएमएस चलाउन नपाइने

सरकारी कर्मचारी शेयर कारोबारमा व्यस्त भई नाफा घाटाको हिसाब गर्न थालेपछि सरकारले कार्यालयमा त्यस्तो कार्यमा प्रतिबन्ध लगाएको छ।

विशेष गरी प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र कार्यालय समयमा आवश्यक काम छाडेर कर्मचारी शेयर कारोबारमा व्यस्त भएको भनी लिखित तथा मौखिक उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुमगन गरेको थियो।

आयोगको अनुमगनपछि यही भदौ २१ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्राचार गरेको थियो। आयोगको निर्देशनका आधारमा मन्त्रिपरिषद् कार्यालयले कार्यालय समयमा शेयर कारोबार गर्ने प्रणाली (टिएमएस) सञ्चालन नगर्न आग्रह गरेको छ।

कार्यालयमा बसेर शेयर बजारमा निजी कारोबार गर्नु जायज नभएको ठहर गर्दै सबै मन्त्रालय, आयोग, सचिवालय, सात वटै प्रदेशका प्रमुख सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरिएको हो।

‘नेपाल सरकारका सबै सरकारी तथा सार्वजनिक निकायमा कार्यालय समयमा टिएमएस नचलाउने व्यवस्था हुन र सो समयमा टिएमएस चलाएको वा नचलाएको सम्बन्धमा सूचना प्रविधिको प्रयोग गरी आवश्यक जाँच गर्न सकिने व्यवस्था मिलाउनु’, पत्रमा उल्लेख गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आयोगले गरेको पत्राचारको छायाप्रति राखेर सबै मन्त्रालय, आयोग र सचिवालयलाई आग्रह गरेको छ।

मङ्गलवार प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सामाजिक सञ्जालमार्फत सरकारी कार्यालयमा टिएमएस प्रतिबन्ध लगाएको जानकारी दिएका थिए। ‘सरकारी कार्यालयमा बसेर शेयर बजारमा निजी कारोबार गर्नु कानुनी दृष्टिले पनि अमान्य छ। यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आइरहेको छ। यही जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरिका सबै सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली (टीएमएस)  प्रतिबन्ध लगाएको छ। सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको छ। सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न अनुरोध गर्दछु,’ उनले उल्लेख गरेका  थिए। रासस

प्रकाशित: २६ भाद्र २०८१ ०६:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App