१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

अन्नपूर्ण आधारशिविरः पाहुनाको स्वागतमा भव्य तयारी (तस्बिर सहित)

अन्नपूर्ण आधारशिविरका लज। पाहुना आउने सिजन भएसँगै व्यावसायीले आधारशिविर क्षेत्रमा तयारी पूरा गरेका छन। तस्बिरः नागरिक

पर्यटन व्यावसायी सन्दीप श्रेष्ठ चारजनाको समूहमा हालै ४१३० मिटर उचाँइको अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गको पदयात्रामा निस्किए। वर्षायामको वावजुत पोखरा छाड्दा सुरुमा त श्रेष्ठको मनमा खुल्दुली जागेको थियो। तर, जब उकालो चढ्दै गए, उनले वर्षाले निम्त्याएको डर भुल्दै गए। किनकी जति माथि गयो, उत्ति नै त्यहाँबाट देखिने सुन्दरताले श्रेष्ठ समूहको मन जितिसकेको थियो।  

‘वर्षायाम भएपनि यो बेला पदयात्रा खुबै रमाईलो भयो। यो बेलाको पदयात्राको भिन्दै मज्जा हुने रहेछ,’ श्रेष्ठले अनुभव सुनाए, ‘जता हे¥यो, उतै रमाइलो। जता हेर्यो उतै हरियाली। खोलानाला, वनजंगल, झरना, हरियाली सबैले मन जित्ने रहेछन। उकालो बढ्दै जाँदा झनै रोमाञ्चक अनुभव हुने रहेछ।’  

वर्षायामको सिजन भएकोले यो बेला सिजनमा जस्तो पदयात्रामा भीडभाड कतै थिएन। बाटोका होटलमा खानपिन र बसोबासका लागि सहजता छँदै थियो। त्यसैमाथि भीडभाड नहुँदा पदमार्ग पनि शान्त थिए। ‘शान्त पदमार्गमा आफ्नै पाराले हिड्नुको मज्जा बेग्लै हुने रहेछ। पदमार्गमा भेटिएका फाट्टफुट्ट विदेशी बाहेक कसैसँग जम्काभेट हुनुपनि परेन। यही अवस्था सिजनका बेला हो भने हिडडुल नै भीडभाडयुक्त हुन्छ। तर, यो बेला शान्त तरिकाले पदयात्रा गर्न पाइयो,’ उनले भने, ‘सिजनमा त बास पाउन समेत हम्मेहम्मे हुन्थ्यो। तर यो बेला न जाडो, न अधिक गर्मि, सितल मौसममा पदयात्रा गज्जब भयो। बस्न र खानमा कुनै सकस परेन।’

श्रेष्ठका अनुसार वर्षायाम सकिने बेलासँगै सुरु हुन लागेको पर्यटकीय सिजनका लागि आधारशिविरसम्मका पदमार्गका व्यावसायीले भव्य तयारी गरेका छन्। सेप्टेम्बर मध्यदेखि पर्यटकीय सिजन सुरु हुन्छ। यो सिजन नोभेम्बरसम्म निकै नै चल्छ। पदयात्रा र हिमाल आरोहणका लागि यो बेला विदेशी पाहुना नेपाल आउन चाहन्छन्। उनै विदेशी नेपाल भित्रिने बेला हुनै लाग्दा पदमार्ग क्षेत्रका व्यावसायी तयारीमा जुटेका पनि छन। ‘हाम्रो वास्तविक दसैं आउन अझै एकमहिना बाँकी छ। तर, आधारशिविर क्षेत्रका व्यवासायीले त्यो क्षेत्रमा दसैं आएको जस्तै तयारी गरिरहेका छन,’ उनले भने।  

उनका अनुसार पदमार्ग मर्मतसम्भारदेखि सरसफाई गरिएको छ। होटल र लज रंगरोगन गरिएको छ। वर्षायामको लामो बिदामा गएका कामदारलाई फिर्ता बोलाएर काममा लगाइएको छ। आवश्यक पर्नेलाई तालिम दिइएको छ। भाडाकुँडा, बेड बिस्तारादेखि सर्वत्र सरसफाई गरिएको छ। बाटो ढाकेको झाडि फाँडिसकिएको छ। वर्षाको भेलले खोतलेको पदमार्गका खाडल पुरिएको छ। ‘यो बेला आधारशिविर पुग्दा दसैं आएको अनुभव हुने रहेछ। सर्वत्र तयारीका साथ व्यावसायी पाहुनाको स्वागतमा बसेका छन,’ उनले भने।  

‘यो बेलाको पदयात्रा साह्रै गज्जब हुने रहेछ। बाटोमा हिउँ पनि छैन। भीड पनि छैन। सिजन सुरुवात हुनै लागेकोले व्यावसायीले तयारी गरेका छन। स्थानीय व्यावसायीको स्वागत भव्य पाइन्छ,’ उनले भने, ‘दसैं लागेजस्तो अनुभव हुने रहेछ।’ होटलका कोठाचोठादेखि सबैतिर रंगरोगन गरेपछि पूर्वाधार चिटिक्क भएको पनि उनले बताए। ‘पाहुना आउने बेला भएको भन्दै तयारी भईरहेको छ। सेप्टेम्बर मध्यपछि पाहुना आउँछन। पाहुना आउन थालेपछि मर्मतसम्भार र तयारी थालेर भएन,’ उनले भने, ‘पाहुनाको सुखद् पर्खाइमा व्यावसायी छन्।’

अन्नपूर्ण आधारशिविर (एबिसी) भन्दा केही तल माछापुच्छ्रे आधारशिविर (एमबिसी) पर्छ। एमबिसीको फिस्टेल गेष्ट हाउसमा कार्यरत उत्तल गुरुङ तीनमहिने वर्षे बिदामा घर गएका थिए। गोरखाको लाप्राकका उनी केहीदिन अघि मात्र आधारशिविर उक्लिएका छन्। तीनमहिने बिदामा घर गएर घरको काम पनि उनले सके। ‘अब पाहुना आउने बेला भयो, त्यही भएर म त आधारशिविर फर्के,’ उनले भने, ‘हामी अब पाहुनाको पर्खाइमा छौ। सबै तयारी भईसकेको छ।’ होटलका कोठा र बाहिर मर्मतसम्भारदेखि रंगरोगन गर्नेसम्मका काम भईसकेको उनले पनि बताए। 

‘वर्षायाम भएपनि लजहरु पुर्णरुपमा बन्द हुँदैनन्। पाहुना कम हुने भएपछि स्टाफ पनि थोरै रहन्छन। अरु घर फर्किन्छन। तर, सिजन सुरु भएपनि बल्ल आउने हो,’ उनले भने, ‘म पनि तीनमहिने बिदामा थिए। अहिले काममा फर्किसके । वर्षायाममा थोरै कर्मचारी भएपनि काम चल्छ।’  

छोमरोङ पर्यटन व्यवस्थापन समिति सचिव दिलीप गुरुङका अनुसार अहिले आधारशिविरसम्मका सबैठाउँका लजलाई सजाएर चिटिक्क पारिएको छ। लज सजाउने मात्र नभई आएका पाहुनाका लागि खुवाउने खजाना र सुताउने ठाउँको पनि बन्दोबस्त गरिसएिको छ। ‘भान्सामा कुनै चिज सकियो भनेर तत्काल किन्न जान सकिन्न। पाहुनाको दैनिकीमा आवश्यक पर्ने सबै खजाना लगेर भण्डारण गरिसकेका छौ। मात्र अब पाहुना आउन बाँकी छ,’ उनले भने, ‘खाद्यान्नदेखि पकाउने भाँडाकुँडा होस वा सुताउने बेड बिस्तारा, सबै तयारी गरेर राखेका छौं।’  

उनको अनुमानमा अबको दुइ हप्तापछि त्यहाँका व्यावसायीलाई खाने बस्ने फुर्सद पनि मिल्दैन। बिहान सबेरैदेखि राती अबेरसम्म कामदारदेखि व्यावसायीलाई व्यस्त बनाउँछ। ‘चाँडबाँडका बेला आन्तरिक पाहुनाको घुँइचो लाग्छ। तर सिजनमा त तेश्रो मुलुकका विदेशी पाहुना आउँछन,’ उनले भने, ‘सबैखाले पाहुनालाई हामीले स्वागत गर्ने हो। उनीहरुलाई खुवाउने पियाउने देखि सुताउनेसम्मका काम गर्नुपर्छ। ती सबै व्यवस्थापनको पूर्वतयारी गरिसकेका छौं।’  

उनका अनुसार लजमा मात्र नभई पदमार्ग पनि तयारी अवस्थामा राखिएको छ। ‘बाटोघाटो मर्मतसम्भार गरिसकियो। खोल्सीमा भत्केका पुल पुलेसा बनिसकेका छन। कर्मचारीलाई निर्देशन र तालिम पनि दिइएको छ। होटलमा सुरक्षाका पूर्वाधार थपिएको छ। सबै लजमा सिसिटिभी जडान गरिसकिएको छ,’ उनले भने, ‘आधारशिविरदेखि झिनु (गाडी पुग्ने ठाउँ) आउने सम्म फोहोर उठाइसकेका छौ। ठाउँठाउँमा डस्टविन राखेका छौ । अब कुनै काम बाँकी छैन। मात्र पाहुना पर्खेका छौं।’  

उनका अनुसार प्रत्येक लजमा कम्तिमा ७ जना कामदार छन। भान्सामा खटिनेदेखि भारी बोक्नेसम्मका मजदुर तयारी अवस्थामा राखेको उनले सुनाए। गाडी नजाने भएकोले कतिपय अवस्थामा सामान बोकेरै लैजानुपर्दाको अवस्थामा मजदुर तयारी अवस्थामा राख्नुपर्ने उनले बताए। ‘पर्यटनको दसैं पनि हो। चाँडबाँडको बेला पनि पर्ने भएकोले अबको समय फुर्सद हुँदैन,’ उनले भने, ‘दसैंअघिको समयमा आउने मध्ये करिब ७० प्रतिशत पाहुना विदेशी हुन्छन। त्यसपछि आन्तरिक पनि थपिन्छन।

उनका अनुसार एबिसीमा ६ वटा लज छन। त्यस्तै एमबिसीमा ५ वटा लज छन्। ती लजमा करिब ३ सय पाहुना एकरातमा अट्छन। पदमार्गका देउरालीमा ५, हिमालयमा ३, दोभानमा ५, बम्बोमा ६, सिनुमा १५ वटा लज छन। ती सबै पदमार्गका लज हुन।

प्रकाशित: २५ भाद्र २०८१ १७:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App