सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारी सञ्चारमाध्यमहरू आर्थिक रुपमा आफैँ सक्षम हुनुपर्ने बताएका छन् ।आइतबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि भएको छलफलका क्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन ।
उनले रेडियो नेपाल र नेपाल टेलिभिजनजस्ता सरकारी सञ्चारमाध्यमहरू विगतमा जनताको सेवाको लागि मात्रै स्थापना गरिएको भन्दै उनले बदलिँदो परिवेश अनुसार यी संस्थाहरूले अब आर्थिक आयआर्जन पनि गर्नुपर्ने बताए। उनले यी संस्थाहरू राम्रो सेवा पनि दिन नसक्ने र प्रतिस्पर्धामा पनि जान नसक्ने अवस्थामा रहेका भन्दै यिनीहरूको पुनर्संरचना गर्नुपर्ने बताए।
उनले जनतालाई सेवा दिनुका साथै प्रतिस्पर्धी हुनुपर्नेमा पनि जोड दिए । सरकारी सञ्चारमाध्यमहरूले राजस्व वृद्धि गर्नुपर्ने उनको भनाई छ । उनले आफूले सरकारी सञ्चारमाध्यमहरूलाई आफैँ कमाएर खानका लागि निर्देशन समेत दिइसकेको बताए। उनले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सेतो हात्ती पाले जसरी पाल्न नसकिने भन्दै आवश्यक संरचना मात्रै राखिने बताए ।
उनले राज्यको सूचना प्रवाह गर्ने रेडियो नेपाल र नेपाल टेलिभिजनजस्ता संस्थालाई बलियो बनाउन सके मात्रै राज्य बलियो हुने बताए । उनले संगठन र राज्यलाई बलियो बनाउनुपर्ने बताए ।
प्रकाशित: १६ भाद्र २०८१ १९:२३ आइतबार