३० भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

‘समृद्धिका लागि जलस्रोत उपयोग गरौं’

पूर्व ऊर्जा मन्त्रीहरूले मुलुकको समृद्धिको लागि जलस्रोतको उपयोग गर्नुपर्नेमा जोड दिएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि पूर्व ऊर्जामन्त्रीहरूसँगको छलफलमा यस्तो धारणा राखेका हुन्।

सरकारले १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले पूरा गर्न सबै राजनीतिक दलले प्रतिवद्धता व्यक्त गर्नुपर्ने धारणा राखे।

पूर्व ऊर्जा मन्त्रीहरूले नेपालमा बिजुली उत्पादन गरी स्वदेशमा उपभोग वृद्धि र विदेश निर्यात गर्नुपर्नेमा जोड दिए। ऊर्जाको सही सदुपयोग गर्न सके समृद्धि आउन सक्ने बताए।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मंगलबार भएको भेटमा पूर्वमन्त्रीहरूले मुलुकको ऊर्जा क्षेत्रको विकासमा सबै राजनीतिक दलले एउटै धारणा बनाएर अगाडि बढ्नुपर्ने बताए।

छलफलमा ऊर्जामन्त्री खड्काले सरकारले विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्न सबैको सहयोग आवश्यक रहेको बताए। ‘मुलुकले सबैभन्दा ठूलो आयस्रोतका रूपमा ऊर्जा क्षेत्रलाई लिइएको छ,’ खड्काले भने, ‘यसलाई सही सदुपयोग गर्नुपर्छ।’

मन्त्री  खड्काले बुढीगण्डकी, दुधकोसी, नलगाड, फुकोट कर्णाली, पञ्चेश्वर, माथिल्लो अरूण जलविद्युत् आयोजनाजस्ता आयोजनालाई लगानी कसरी जुटाएर अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल गरेका थिए। उच्च क्षमताको विद्युत् प्रसारण लाइन निर्माण र विस्तारमा निजी क्षेत्रलाई कसरी आकर्षण गर्न सकिन्छ भन्नेबारे राय लिएका थिए।

छिमेकी मुलुक भारत, चीन र बंगलादेशसँग विद्युत् व्यापारमा सन्तुलन कायम गर्ने र अधिकतम लाभ लिने विषय, विद्युत् निर्यातमा भारत, चीनबाहेक अन्य मित्र राष्ट्रसँगको लगानीका लागि सम्भावनाका विषय, संसद्मा दर्ता भएको विद्युत् विधेयकसम्बन्धी विषयलाई अगाडि बढाउनेबारे छलफल भएको थियो।

पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको समृद्धिको क्षेत्र जलस्रोत क्षेत्र भएकाले यसलाई अधिकतम प्रयोग गरेर देशले फाइदा लिनुपर्ने बताए। ‘समयमै आयोजना नसकिँदा लागत बढेर गएको छ, यसलाई सूक्ष्म रूपमा विश्लेषण गरेर समाधानतर्फ लाग्नुपर्छ,’ उनले भने।

कार्कीले जलविद्युत् निर्यात गर्ने मुलुकको रूपमा नेपाललाई स्थापित गर्नका लागि मुलुकको ध्यान जलविद्युत् क्षेत्रको विकासमा हुनुपर्ने उल्लेख गरे। विद्युत् क्षेत्रको विकास नभई मुलुकको विकास हुन नसक्ने उनको भनाइ थियो।

 

अर्का पूर्व ऊर्जा मन्त्री प्रकाशशरण महतले विद्युत् उत्पादनसँगै प्रसारण लाइनको विकासलाई समेत प्राथमिकता दिनुपर्ने बताए। ‘जलविद्युत् गृहमा समयमै प्रसारण लाइन नजोडिँदा उत्पादित बिजुली खेर जाने अवस्था आएको छ, यसलाई सम्बोधन गर्न मन्त्रालयले विशेष ध्यान दिनुपर्छ,’ उनले भने।

डा.महतले डेडिकेटेड र ट्रंकलाइन क्षेत्रमा देखिएको विवादलाई कानूनबमोजिम टुंग्याउनुपर्ने बताए। उनले जलस्रोतसँगै सोलार इनर्जीलाई समेत प्राथमिकता दिनुपर्ने बताए।

पूर्व ऊर्जा मन्त्री जनार्दन शर्माले प्रसारण लाइन निर्माणको जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने बताए। राज्यको नेतृत्व रहने गरी प्रसारण लाइन निर्माणको जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने उनको भनाइ थियो। ‘प्रसारण लाइनको जिम्मा निजी क्षेत्रलाई दिनु उपयुक्त हुन्छ, किनभने हामीलाई हाई भोल्टेज आवश्यकता छ’, उनले भने।

 शर्माले देश समृद्धितर्फ अघि बढाउने हो भने बिजुली कसरी देशभित्रै खपत गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने बताए।

पूर्व ऊर्जा मन्त्री वर्षमान पुनले मुलुकको राष्ट्रिय प्राथमिकता ऊर्जा क्षेत्र भएकाले ऊर्जा विकासमा सबै पार्टीको एउटै धारणा हुनुपर्ने धारणा राखे। उनले ऊर्जा क्षेत्रको विकासका लागि आवश्यक नीतिलाई ग्यारेन्टी गरेर अगाडि बढ्नुपर्ने उल्लेख गरे।

पूर्वमन्त्री पुनले भूराजनीतिको संवेदनशीलता हेरेर छिमेकी मुलुकबाट लगानी भित्र्याउन सरकार लाग्नुपर्ने बताए। विद्युत् विधेयकलाई तत्काल अगाडि बढाउनुपर्ने उनको धारणा थियो।

पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र विद्युत् विकास विभागबीच समन्वय आवश्यक रहेको बताए। उनले ऊर्जा क्षेत्रलाई अगाडि बढाउन जलाशययुक्त आयोजनालाई अगाडि बढाउनुपर्ने बताए।

पूर्व ऊर्जामन्त्री गोकर्ण विष्टले मुलुकमा ऊर्जा सन्तुलनका लागि जलाशययुक्त आयोजनालाई अगाडि बढाउनुपर्ने बताए। उनले ऊर्जा क्षेत्रको समस्या समाधानका लागि ऊर्जा विद्येयकलाई चाँडो पास गर्नुपर्ने धारणा राखे।

पूर्वमन्त्री विष्टले आन्तरिक खपत बढाउने गरी सरकारले ऊर्जा क्षेत्रको विकासमा ध्यान दिनुपर्ने उल्लेख गरे। कम बोल्ने र परिणाम दिने गरी काम गर्नुपर्ने उनको भनाइ थियो।

पूर्व ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले निजी क्षेत्रलाई ऊर्जा क्षेत्रमा आकर्षण गर्न जरुरी रहेको उल्लेख गरे। नेपालको ठूलो आर्थिक स्रोत जलस्रोत भएकाले यसको विकासमा मन्त्रालय योजना बनाएर अगाडि बढ्नुपर्ने उनको धारणा थियो।

उनले विद्युत् विद्येयकलाई तयार गर्दा विद्युत् क्षेत्रका विज्ञसँग छलफल गरेर अगाडि बढ्नुपर्ने बताए। पूर्वमन्त्री शाहीले ऊर्जाको विकासका लागि वैकल्पिक ऊर्जालाई समेत ध्यान दिनुपर्ने धारणा राखे।

प्रकाशित: १३ भाद्र २०८१ ०७:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App