२ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

गरिबीको रेखामुनिको जनसंख्या १२ प्रतिशतमा झार्ने लक्ष्य

गरिबीको रेखामुनिको जनसंख्या १२ प्रतिशतमा झार्ने महत्वाकांक्षी लक्ष्यसहित कोशी प्रदेश योजना आयोगले दोस्रो पञ्चवर्षीय आवधिक योजना तयार पारेको छ।

बिहीबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०८१/८२ देखि ०८५/८६ सम्मको दोस्रो आवधिक योजनाले आर्थिक वर्ष २०८५/८६ सम्ममा कोशी प्रदेशमा गरिबीको रेखामुनिको जनसंख्या १२ प्रतिशतमा झार्ने लक्ष्य लिएको हो।

सार्वजिक गरिएको लक्ष्य अनुसार कोशी प्रदेशको आर्थिक वर्ष २०८०/८१ मा गरिबीको रेखा मुनिको जनसंख्या १७.२० प्रतिशत रहेको छ। यसैगरी १० प्रतिशत रहेको बेरोजगारी दरलाई पनि घटाएर ५.४ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ।

यस्तै ३.८१ प्रतिशत रहेको आर्थिक वृद्धिदरलाई बढाएर २०८५/८६ सम्ममा ७.५५ प्रतिशत पुर्‍याउने लक्ष्य दोस्रो आवधिक योजनाले लिएको छ। दोस्रो आवधिक योजनाको अन्त्यसम्ममा कोशी प्रदेशको प्रतिव्यक्ति आय एक हजार तीन सय ३६ अमेरीकी डलरबाट बढाएर एक हजार ६ सय ४५ अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको छ।

आर्थिक वर्ष २०८५/८६ मा कोशी प्रदेशका जनताको अपेक्षित आयु ७२ वर्षको अनुमान गरिएको छ। मातृमृत्यु दर (प्रतिलाख जीवित जन्ममा) ७० मा झार्ने लक्ष्य दोस्रो आवधिक योजनाले लिएको छ। त्यस्तै पाँच वर्ष मुनिको बाल मृत्युदर (प्रतिहजार जीवित जन्ममा) २० मा झार्ने लक्ष्य लिइएको छ।

त्यसैगरी आर्थिक वर्ष २०८५/८६ सम्ममा साक्षरता दर ९० प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ भने श्रमशक्ति सहभागिता दर ६० प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ। लैंगिक विकासको सूचकांक ०.९२ पुर्‍याउने लक्ष्य राखिएको छ भने मानव विकासको सूचकांक ०.६२ पुर्‍याउने लक्ष्य छ।

आवधिक योजनामा डिजिटल साक्षरता ९० प्रतिशत पुर्‍याउने, विद्युत् उत्पादन दुई हजार दुई सय मेगावट पुर्‍याउने लक्ष्य लिएको छ। आवधिक योजनामा उल्लेख भएको क्षेत्रगत परमाणात्मक लक्ष्य अनुसार कुल गार्हस्थ्य उत्पादन (उपभोक्ता मूल्यमा) एक हजार तीन सय १७.९५ अर्बमा पुर्‍याउने लक्ष्य रहेको छ भने कृषि क्षेत्रको वार्षिक वृद्धिदर ६ प्रतिशत पुर्‍याउने, उद्योग क्षेत्रको वार्षिक वृद्धिदर १०.५६ प्रतिशत पुर्‍याउने, सेवा क्षेत्रको वार्षिक वृद्धिदर ७.४१ प्रतिशत पुर्‍याउने लक्ष्य आवधिक योजनाले राखेको छ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आवधिक योजना एकातिर नीति तथा कार्यक्रम र बजेट अर्कोतिर गइरहेको बताए। मुख्यमन्त्री कार्कीले प्रदेशको विकासको आधारको रूपमा रहेको आवधिक योजनासँग नीति तथा कार्यक्रम र बजेट मिल्न नसकेको बताउँदै अबका दिनमा यस्तो हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले पञ्च वर्षीय आवधिक योजनाको मुख्यमुख्य आयोजना प्रस्तुत गर्दै दोस्रो आवधिक योजनाको सोच: ‘सुशासित, खुसी, आर्थिक रूपले गतिशील र सम्मुन्नत प्रदेश’ रहेको जानकारी दिए।

आवधिक योजनाको मुख्य उद्देश्य कृषि, उद्योग र सेवा क्षेत्रमा लगानीको वातावरण तयार गरी प्रविधिमैत्री उत्पादन तथा उत्पादकत्व वृद्धिमार्फत सम्पन्न नागरिक र समुन्नत प्रदेश निर्माण गर्ने, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा लगायतका सामाजिक विकासका क्षेत्रमा लगानी अभिवृद्धि गरी सामाजिक न्याय सहित नागरिकमा खुसी वृद्धि गर्ने लक्ष्य राखेको बताए।

प्रकाशित: ४ भाद्र २०८१ ११:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App