चितवनमा तेस्रो वासस्थान नवप्रवर्धन सम्मेलन हुने भएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयको संयुक्त आयोजनामा भदौ ३१ देखि असोज १ गतेसम्म चितवनको रामपुरमा सम्मेलन हुन लागेको हो।
फोहोर व्यवस्थापन समाधानहरूलाई ऊर्जा उत्पादन, खाद्य सुरक्षाको प्रवर्धन र वातावरण संरक्षणसँग एकीकृत गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको आज भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ। नेपाल फोहोरमा आधारित उद्यमशीलतामा अगाडि बढ्नुपर्ने धारणा सहित सम्मेलनको आयोजना गर्न लागिएको पूर्व मन्त्री गणेश साहले जानकारी दिए।
‘अहिले देशभरका नगरप्रमुखहरुलाई फोहोर व्यवस्थापनको टाउको दुखाइको विषय बनेको छ। त्यो फोहोर व्यवस्थापनबाट आर्थिक अर्थतन्त्र बलियो बनाउनका लागि वासस्थान नवप्रवर्धन सम्मेलन गर्न लागेका हौँ’, उनले भने ‘वातावरण सफा राख्ने हो भने खाद्यान्नको उत्पादनमा वृद्धि ल्याउन सक्छौँ।’
यस सम्मेलनले चुनौतीहरूको पहिचान र समाधान गर्न विद्यार्थीहरूलाई सशक्त बनाउन सहयोग पुग्ने उनले बताए। कार्यक्रममा प्राज्ञ, नीति निर्माता, लगानी कर्ता, केन्द्रीय र स्थानीय सरकारी निकाय, गैरसरकारी संस्था, कृषि विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी र सरसफाइ प्रविधिमा विशेषता भएका व्यक्तिहरूको उपस्थिति रहने छ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा वातावरण, दिशाजन्य फोहोर व्यवस्थापन र खाद्य सुरक्षाका विषयमा कार्यपत्र प्रस्तुत गरिने भएको छ। सम्मेलनमा भर्चुअल मार्फत समेत विशेषज्ञले आफ्नो प्रस्तुति राख्नेछन्।
यस्तै सम्मेलनमा प्यालन छलफल, प्राविधिकहरुको सत्र, नगरपालिका प्रमुखहरूले फोहर व्यवस्थापनमा झेलिरहेका समस्या, स्नातकोत्तर विद्यार्थीहरूका प्रस्तुति, रोजगारी मेला र भर्ना, नेटवर्किङ, प्रदर्शनी, सरकारी निकायको प्यानल जस्ता विषयहरू प्रस्तुत गरिने । यसले खाद्य सुरक्षा, सरसफाइ र वातावरण व्यवस्थापनमा रहेका चुनौतीहरूको समाधान गर्न सहयोग पुग्ने अपेक्षा लिइएको छ। कार्यक्रममा नेदरल्याण्डको ग्लोबल ग्राजुयट स्कुल (जीएसजीएस) तथा अन्य अन्तर्राष्ट्रिय सरोकारवालाहरूको पनि सहकार्य हुनेछ।
पोखरा विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयले ८० जना विद्यार्थीलाई फोहर व्यवस्थापन, खाद्य सुरक्षा तथा सरसफाइजस्ता विषयमा स्नातकोत्तरसम्मको शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ। अहिलेसम्म ३० जना पास आउट भइसकेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले बताए।
प्रकाशित: २० श्रावण २०८१ १६:४२ आइतबार





