२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

पर्यटन क्षेत्रको चिन्ताः न बाटो, नत आकाश सबैतिर असुरक्षा

पर्यटकीय सहर पोखरा। हवाई र स्थलमार्गमा बारम्बार घटना दोहोरिन थालेपछि पर्यटन क्षेत्र चिन्तित छ। तस्बिरः नागरिक

दुईसाता अघि नारायणगढ–मुग्लिन सडक खण्डको पहिरोमा परेर दुइवटा यात्रुबाहक बस त्रिशूली नदीमा हेलिए। बसका केही यात्रुको अहिलेसम्म अत्तोपत्तो छैन, पहिरोमा बगेका बस पनि भेटिएका छैनन्। बस दुर्घटनामा परेका मध्ये केही यात्रुको दुर्घटनास्थल भन्दा निकै नै तल शव फेला परिसकेका छन्। हराएका अरु यात्रुको अहिले पनि खोजी जारी छ।  

काठमाडौंबाट पोखराका लागि उडान भरेको सौर्य एयरलाइन्सको सीआरजे ७–९एनएएमई जहाज बुधबार बिहान उड्नासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै दुर्घटनामा पर्यो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको जहाज नियमित मर्मतसम्भार र परीक्षणका लागि पोखरा आउँदै थियो। जहाजमा चालकदलका सदस्य सहित १९ जना सवार थिए। जहाजमा सवार १९ मध्ये १८ जनाको ज्यान गएको पुष्टि सरकारले गरिसकेको छ।  

पछिल्लो समय सार्वजनिक यातायातका क्षेत्रमा भएका यी दुई ठुला दुर्घटना हुन्। हवाई र स्थलमार्गको यातायात क्षेत्रमा भएका यी दुर्घटनापछि यतिबेला सबैतिर प्रश्न उब्जेको छ–नेपालमा स्थल र हवाई दुवैखाले मार्गको यात्रा जोखिमपूर्ण बन्यो। सामाजिक सञ्जालदेखि सबैतिर यतिबेला स्थल र हवाईमार्गको सुरक्षा र जोखिमबारे टिप्पणी गर्न थालेका छन्। अझ पर्यटन क्षेत्रले त झनै यी ठुला दुर्घटनाले ठूलो असर पार्ने भन्दै गुनासो गरेका छन्।  

पोखरा पर्यटन परिषद् (पिटिसी) का पूर्व अध्यक्ष गोपि भट्टराई भन्छन, ‘दुइसाता अघिको बस दुर्घटना र बुधबारको हवाई दुर्घटनापछि पर्यटन मात्र नभई सर्वसाधारणको यात्रामा पनि त्रास छाएको छ। यी घटनापछि आन्तरिक पर्यटनमा झनै बढी प्रभाव परेको छ।’ सामाजिक सञ्जालका कारण अहिले कुनैपनि घटना तत्कालै भाइरल हुने हुँदा घटना तत्कालै सार्वजनिक हुने र त्यसको पहूँच अन्तर्राष्ट्रियस्तरसम्म पनि पुग्ने हुँदा त्यसले पर्यटनमा प्रभाव पार्ने उनले बताए।

‘बुधबारको हवाई दुर्घटनाको खबर मैले भन्दा चिनियाँ पर्यटकले पहिल्यै थाहा पाएका थिए। नेपालमा हवाई दुर्घटना भएछ भन्दै मलाई चिनियाँ पर्यटकले मोवाइलमा देखाए,’ भट्टराईले भने, ‘सामाजिक सञ्जाल हावी छ। मोवाइलमा तत्कालै सन्देश आउँछ। नकारात्मक उक्त सन्देश केही क्षणमै भाईरल बन्छ।’

नेपाली हवाई उड्डयन असुरक्षित रहेको भन्ने लामो समयदेखिको गुनासोमा यस्ता घटना थपिँदा पर्यटन क्षेत्रलाई झनै धक्का लाग्ने उनले सुनाए। ‘पर्यटन क्षेत्रमा कनेक्टिभिटी सबैभन्दा महत्वपूर्ण मानिन्छ। तर, यतिबेला नेपालको यातायात क्षेत्रको कनेक्टिभिटी निकै नै असुरक्षित रहेको सन्देश प्रवाह भएको छ,’ उनले भने, ‘कनेक्टिभिटीमा असुरक्षाको प्रभाव कत्तिको पर्छ भनेर हेर्ने हो भने दुइसाता अघिको बस दुर्घटनापछि पोखरामा भारतीय पाहुना आगमनमा एकाएक कम भयो, भारतीय पाहुनाको आगमनमा करिब ७० प्रतिशत गिरावट आयो।’ उनका अनुसार त्रिशूलीमा बस दुर्घटनापछि भारतीय पर्यटकको आगमनमा एकाएक गिरावट आएको थियो। किनकी नारायणगढ–मुग्लिन सडक अति नै असुरक्षित रहेको भन्ने सन्देश भारतीय पर्यटनमाझ एकाएक फैलिएको थियो।  

‘यो बेला चिनियाँ पाहुना आउन थालेका थिए। बुधबारको हवाई दुर्घटनापछि चिनियाँको आगमनमा प्रभाव पार्ने पक्का छ। त्यसमा पनि काठमाडौंबाट पोखरा आउँदै गरेको जहाज भनेपछि पोखराको पर्यटन क्षेत्रलाई अझै असर पार्ने पक्का छ,’ उनले भने, ‘यसअघि पनि पोखरामै हवाइ दुर्घटना भएको र अहिले पनि काठमाडौंबाट पोखरा आउन थालेको जहाज दुर्घटनामा परेको भन्ने सन्देश प्रवाह भएको छ।’ नेपालको यात्रा नै ज्यानामारा जस्तो बनेको सन्देश अहिलेका घटनाले देखाएको उनले बताए।  

नेपालको स्थल र हवाई कनेक्टिभिटी असुरक्षित रहेको भन्ने सन्देश प्रवाह भएको उनले सुनाए। ‘भोलिका दिनमा यस्तो नहोस भनेर सरकारले चाँसो दिनुपर्छ। विदेशी मात्र नभई पाहुना पनि स्वदेशी नागरिक पनि हिडडुलमा डराईरहेका छन। अहिले पोखरा–मुग्लिन यात्रा सुन्नासाथ डराउने अवस्था छ। हवाई मार्ग पनि उस्तै डरलाग्दो बन्यो,’ उनले सुनाए, ‘चिनियाँ पाहुना बढ्ने बेलामा फेरि मार थपिएको छ।’ उनका अनुसार नेपालमा विदेशी पाहुना आउन चाहन्छन, तर, यात्रा असुरक्षित रहेको भन्ने सन्देश उनीहरुमा पुग्दा त्रसित बनेका छन्।

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली पनि अहिलेका घटनाबाट पर्यटन क्षेत्र त्रसित बनेको बताउँछन्। ‘हुन त यो बेला सबैतिरको यात्रा नै डरलाग्दो बनेको छ। तर, पोखराको पर्यटन क्षेत्रलाई धक्का लाग्नेगरि गतिविधि जोडिँदा त्यसको मार झनै परेको छ,’ पराजुली भन्छन्, ‘कुनै न कुनै रुपमा पोखरा जोडियो। स्थल र हवाईमार्ग सबैतिर असुरक्षा भन्ने सन्देश प्रभाव भएको छ। यसले आन्तरिक पर्यटन झनै बढी प्रभावित हुन्छ।’  पराजुलीले पनि बस दुर्घटनापछि भारतीय पाहुना प्रभावित भएको बताए।

 ‘भारतीय मात्र नभई आन्तरिक पाहुना आउन त्रसित बने,’ उनले भने, ‘नेपालको हवाई सुरक्षा असुरक्षित छ भन्ने भनाईलाई पुष्टि गर्न पछिल्लो दुर्घटनाले बल पुगेको छ।’ नेपालमा लगातार दुर्घटना हुँदा त्यसको मार पर्यटनमा पर्ने उनले बताए। ‘न बाटो, नत आकाश सबैतिर असुरक्षा रहेको सन्देश प्रवाहित भएको छ,’ पराजुलीले भने।

टुर अपरेटर्सको छाता संस्था नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकीका अध्यक्ष हरि अधिकारी पनि अहिलेको घटनाक्रमले सर्बत्र त्रास छाएको बताउँछन्। अधिकारी भन्छन्, ‘हवाई मात्र नभई स्थलमार्गप्रति पनि उत्तिकै त्रास बढेको छ। यसैमा पनि स्थलमार्गको यात्रा सकसपूर्ण छ । त्यसमा पनि बारम्बार दुर्घटना हुन थालेपछि यात्रु हिड्नै डराएका छन्। बस र हवाईजहाज भन्ने नै रहेन, यात्रा असुरक्षित भयो भन्ने सर्वत्र हल्लाखल्ला फैलिएको छ।’  

स्थल र हवाईमार्ग दुवैतिर त्रास देखिएको उनले बताए। त्यसको असर पर्यटनमा स्वतः पर्ने अधिकारीको भनाई छ। ‘नेपालमा भएका घटनाबारे यतिछिटो प्रचारप्रसार भएको छ की अन्तर्राष्ट्रियस्तरमा तत्कालै सन्देश प्रवाह हुने गरेको छ। त्यसले यात्रामा निस्कन लागेको पर्यटकलाई रोक्न सघाएको छ,’ अधिकारीले भने, ‘यतिबेला विदेशी मात्र नभई आन्तरिक पर्यटन पनि प्रभावित भएको छ। अत्यावश्यक काम नपरेसम्म नेपालमा हिडडुल गर्नै नपरोस भन्ने मानसिकता नागरिकमा फैलिएको छ।’  

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठ पनि नेपालमा स्थलमार्ग र हवाईमार्ग नै असुरक्षित रहेकोले यात्रा जोखिमपूर्ण भन्ने सन्देश प्रवाह हुँदा त्यसको असर पर्यटनमा पर्ने बताउँछन्। ‘कुनैपनि यात्रा सुरक्षित हुनुपर्छ। यात्रा सुरक्षित भएमात्र पर्यटन फस्टाउने हो। तर, अहिलेका घटनाक्रमले यात्राप्रति नागरिकको अविश्वास बढेको छ,’ श्रेष्ठले भने, ‘त्यसको असर पर्यटनमा पर्ने नै भयो । पर्यटन क्षेत्रलाई सानातिना घटनाक्रमले पनि प्रभावित पार्छ। त्यसैमाथि गन्तव्य जोड्ने मुख्य यातायात साधनमाथिको भरोसा गुमेको छ।’  

अहिलेका घटनाक्रमले आन्तरिक र बाह्य पर्यटनमा प्रभाव पार्ने उनले बताए। ‘घटनाक्रमले सबैलाई स्तब्ध तुल्याएको छ। पर्यटन क्षेत्र त झनै संवेदनशील हुन्छ। सानातिना गतिविधिले पनि अप्ठेरो पार्छ। अहिलेका घटनाबाट पर्यटन क्षेत्र जोगिन सक्दैन,’ उनले भने। सरकार, व्यावसायी सहित सरोकारवाला सबै मिलेर अहिलेको घटनालाई बिर्साउने गरि प्रयास गर्ने हो भने सकारात्मक सन्देश प्रवाह हुने र त्यसले पर्यटन क्षेत्रलाई पनि जोगाउने उनले बताए।  

प्रकाशित: १० श्रावण २०८१ १७:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App