१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

कृषि कर्जाको अनुदान दुरूपयोग भएको छैन: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानको रकम दुरूपयोग नभएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २३ औं वार्षिकोत्सव कार्यक्रममा गभर्नर अधिकारीले कृषि कर्जाको ब्याजदरमा दिइएको हालसम्मको अनुदान विश्लेषण गर्दा त्यसमा दुरूपयोग नदेखिएको बताएका हुन्।

केही व्यक्तिबाट दुरूपयोग भएको देखिएकामा असुली प्रक्रिया पनि प्रारम्भ भइसकेको उनले बताए।‘कृषि कर्जाको अनुदान दुरूपयोग भएको भन्ने सतही कुरा हुन्। यो सफल कार्यक्रम देखिएको छ र अनुदानको प्रभावकारिता राम्रो छ’, गभर्नर अधिकारीले भने, ‘हाम्रो अध्ययनका क्रममा निकै सानो संख्यामा मात्रै यस्तो कर्जा दुरूपयोग भएको देखिएको छ। यसलाई असुल गर्ने प्रक्रिया पनि अघि बढिरहेको छ।’

सरकारको योजनाअनुसार अर्थ मन्त्रालयले युवाहरूलाई व्यावसायिक कृषि कर्जामा प्रदान गर्ने ब्याज अनुदानसम्बन्धी कार्यविधि तयार पारेर कार्यविधिअनुसार नै अनुदान उपलब्ध गराइएको दाबी गभर्नर अधिकारीले गरे।

हालसम्म एक लाख २६ हजार ऋणीले कृषि कर्जामा अनुदान पाएको जनाउँदै त्यस्तो अनुदान पाउने अधिकांश महिला तथा साना किसान रहेका उनले बताए। यो कार्यक्रम विवादमा परेपछि २०७९ असोज यता अनुदान नदिइएको उनले स्पष्ट पारे।

उद्यमशीलता विकास एवं रोजगारी सिर्जना र वित्तीय पहुँच तथा साक्षरता विस्तारका लागि साना किसान विकास लघुवित्त र साना किसान सहकारीले महत्त्वपूर्ण भूमिका खेलेको पनि गभर्नर अधिकारीले बताए। पछिल्लो समय सहकारी क्षेत्रमा समस्या देखिन थाले पनि साना किसान सहकारी संस्थाहरूमा भने यस्तो समस्या नआएको उनको भनाइ छ।

विगतमा कृषि कर्मलाई हेला गर्ने समाजले अहिले सम्मान गर्ने अवस्था आएको पनि गभर्नर अधिकारीले बताए। राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कृषि कर्जामा दिइएको अनुदानको दुरूपयोग भएको धारणा राख्नुभएको थियो। नीतिगत स्थायित्वको अभावमा निजी क्षेत्रको मनोबल खस्किँदै गएकाले उनीहरूले लगानी गर्न नचाहेको उनले बताए।

साना किसान विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत शिवरामप्रसाद कोइरालाले सरल कर्जा प्रवाहमार्फत युवा उद्यमशीलता विकास, समावेशी वित्तीय पहुँच विस्तारमा संस्थाले महत्त्वपुर्ण भूमिका खेलेको बताए। ‘यस लघुवित्तले साना किसान कृषि सहकारीमार्फत कर्जा प्रवाह गर्ने भएकाले उद्यमशीलता विकास र रोजगारी सिर्जना गरी आन्तरिक उत्पादनमा योगदान पुगेको छ’, उनले भने ।

साना किसान लघुवित्तबाट कर्जा पाएकामध्ये ७९ प्रतिशतभन्दा बढी महिला रहेको बताउँदै कार्यकारी अधिकृत कोइरालाले देशभरका पाँच सय ५० स्थानीय तहमा साना किसान लघुवित्तको सेवा पुगिसकेको जानकारी दिए। हाल साना किसानले ११ लाखभन्दा बढी परिवारका ४५ लाख जनसंख्यालाई सेवा दिइरहेको उनले बताए।

कृषि प्रविधि सिक्ने युवालाई इजरायल पठाइएको भन्दै उनीहरू स्वदेश फर्किएर कृषि कर्ममा लागेका लघुवित्तका प्रमुख कार्यकारी अधिकृत कोइरालाले जानकारी दिए। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट कृषि तथा भेटनरी पढ्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको, किसानलाई भारतसहित विभिन्न देशमा अवलोकन भ्रमणलगायत विविध क्रियाकलापमा सहभागी गराइएको उनको भनाइ छ।

एसियाली विकास बैंकबाट कर्जा लिएर लघुवित्तले ग्रामीण उद्यम कर्जा (आरइएफ) सञ्चालन गरेको जानकारी कार्यकारी अधिकृत कोइरालाले दिए। साना किसान, विपन्न तथा पछाडि परेका समुदाय, महिला, सीमान्तकृत वर्गका लागि सरल र सहज कर्जा उपलब्ध गराइरहेकाले साना किसान लघुवित्तबाट सञ्चालित कामको नतिजा प्रभावकारी देखिएको दाबी उनले गरे।

प्रकाशित: २३ असार २०८१ ०६:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App