७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘पुँजीगततर्फ ५० प्रतिशत बजेट छुट्याइनुपर्छ’

आगामी आर्थिक वर्ष २०८१/८२ देखि लागु हुने १६औं पञ्चवर्षीय योजनाले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य लिएको छ। योजना अवधिभर ७.१ औसत आर्थिक वृद्धिको लक्ष्य लिएको यो योजनाले समृद्ध नेपालको चाहना राखेको छ। त्यो लक्ष्य हासिल गर्न ठुलो स्तरमा पुँजीगत लगानी बढाउनु आवश्यक छ। 

तर पछिल्ला १० वर्षको बजेट खर्चको अनुपात हेर्ने हो भने चालुतर्फ दुई तिहाईभन्दा बढी, पुँजीगत खर्च २० प्रतिशतभन्दा तल र करिब १५ प्रतिशत ऋण भुक्तानीमा खर्च भएको देखिन्छ। समृद्धिको चाहना र बजेट खर्च अनुपातबीच डरलाग्दो असमानता देखिन्छ । नेपालमा चालु खर्चले प्रत्येक आर्वमा पुुँजीगतलाई निरन्तर उछिनेको छ।

सरकारले दीर्घकालीन लगानीभन्दा तलब, मर्मतसम्भार र प्रशासन सञ्चालनलाई प्राथमिकतामा राखेको देखिन्छ। यसले परिवर्तनकारी योजनामा पर्याप्त स्रोतहरू विनियोजन गर्नुको सट्टा सरकारका दैनिक कार्यहरू व्यवस्थित र नियमित गर्नमा मात्र ध्यान केन्द्रित भएको देखिन्छ।

देश विकासका लागि चालु र पुुँजीगत दुवै खर्च आवश्यक भए पनि उच्च चालु खर्चले दीर्घकालीन विकासका लागि पर्याप्त स्रोत विनियोजन गर्ने सरकारको क्षमतामाथि नै प्रश्न खडा भएको छ। दिगो विकास सुनिश्चित गर्न र तत्कालीन आवश्यकता पूरा गर्न सन्तुलित दृष्टिकोण र अभ्यास अत्यावश्यक देखिन्छ। 

नेपालजस्तो देशका लागि कति पुँजीगत खर्च, कति चालु खर्च सही हो भन्नेमा ठ्याक्कै कुनै सूत्र नभए पनि यो झन्डै ५०–५० प्रतिशत हुनुपर्नेमा अर्थशास्त्री तथा तथ्यांकविज्ञ डा. रुद्र सुवाल जोड दिन्छन्। नेपाल विकास अनुसन्धान प्रतिष्ठानसँग आबद्ध डा. सुवालका अनुसार नेपालले विकासको क्षेत्रमा अझै धेरै लगानी गर्नुपर्ने भएकाले पुँजीगत खर्चमा झन् धेरै जोड दिनु आवश्यक छ। 

विकसित राष्ट्रहरू यसअघि नै विकासका खास अवस्थामा पुगेका कारण उनीहरूले ठुलो स्तरमा पुँजीगत खर्च गरिरहनुपर्दैन। उनीहरूको खर्चको अनुपात र नेपालजस्तो अल्पविकसित राष्ट्रको खर्चको अनुपात फरक रहन्छ।

अर्थशास्त्री सुवालका अनुसार कुनै बेला नेपालमा चालु र पुँजीगत खर्चको हिस्सा आधाआधीजस्तो रहेकोमा पछिल्ला १० वर्षमा यसको असमानता बढ्दै गएको देखिन्छ। चालु खर्चमा राज्य सञ्चालन, तलबमान, सामाजिक सुरक्षालगायत नियमित खर्च पर्ने गर्छन् भने भौतिक संरचना तथा पूर्वाधार विकासदेखि आर्थिक वृद्धिका लागि गरिने अन्य दिर्घकालीन परियोजनाहरूको सञ्चालन पुँजीगत खर्चमा पर्छन्।

प्रतिष्ठानले हालै गरेको एक विश्लेषणअनुसार नेपालमा आर्थिक वर्ष २०३१/३२ मा चालु खर्च कुल गार्हस्थ उत्पादनको ३.२ प्रतिशत थियो भने पुँजीगत खर्च ५.८ प्रतिशत थियो। त्यसैगरी आर्थिक वर्ष २०५४/५५ सम्म आइपुग्दा कुल गार्हस्थ्य उत्पादनको तुलनामा चालु खर्च ७.७ प्रतिशत र पुुँजीगत खर्च ९.६ प्रतिशत थियो।

पछिल्ला वर्षहरूमा कुल गार्हस्थ्य उत्पादनको तुलनामा चालु खर्चको प्रतिशत बढ्दै गएको र पुुँजीगत खर्चको प्रतिशत लगातार घट्दै गएको देखिन्छ। आव २०७८/७९ मा चालु खर्च कुल गार्हस्थ्य उत्पादनको १९.३ प्रतिशत थियो भने पुँजीगत खर्च ४.४ प्रतिशत मात्र थियो। त्यसको एक वर्षपछि अर्थात् आर्थिक वर्ष २०७९/८० को कुल गार्हस्थ्य उत्पादनमा चालु खर्चको अनुमानित हिस्सा १८.७ प्रतिशत र पुुँजीगत खर्चको अनुमानित हिस्सा ४.३ प्रतिशत थियो।  

यसरी पुुँजीगत खर्चको तुलनामा चालु खर्च अत्यन्त बढी हुनु र पुँजीगत खर्चका लागि अत्यन्तै कम बजेट विनियोजन हुनुले कुल लगानीमा गिरावट ल्याउने देखिन्छ। 

 

प्रकाशित: १७ असार २०८१ ०६:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App