१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

पर्यटन क्षेत्रमा कामदारको चिन्ता, नयाँ जनशक्ति पटक्कै पाइदैन

फेवाताल पारिको रानीवनबाट देखिएको पोखराको पर्यटकीय क्षेत्र लेकसाइड। तस्बिरः सन्तोष/नागरिक

पोखरा क्षेत्रका पर्यटन व्यावसायीको लामो समयदेखिको गुनासो छ–दक्ष जनशक्ति पाउनै सकिएन, काम सिक्नासाथ विदेश उड्ने युवापुस्ताका कारण पर्यटन क्षेत्रमा जहिल्यै कामदार अभाव छ। पर्यटन क्षेत्रमा तल्लो देखि माथिल्लो तहसम्म पनि दक्ष जनशक्ति अभाव रहेको उनीहरुको भनाई छ।  

पर्यटन व्यावसायीका अनुसार गण्डकी प्रदेशमा मात्र करिब एकहजार होटल छन। त्यस्तै दुइसय हाराहारीमा रेस्टुरेन्ट छन। होटल र रेस्टुरेन्ट बाहेक ट्राभल, ट्रेकिङ, प्याराग्लाइडिङ लगायतका सयौं पर्यटकीय उद्योग संचालनमा छन, जहाँ हजारौंले रोजगार पाएका पनि छन। ठूलो जनशक्तिले पर्यटन क्षेत्रमा रोजगार पाइरहँदा त्यो अझै अपुग रहेको पर्यटन क्षेत्रकै गुनासो छ। मागेजति र खोजेजति दक्ष जनशक्ति नपाएको व्यावसायीले बताउने गरेका छन।  

यतिसम्म की दक्ष जनशक्ति अभाव हुँदै गए पर्यटन क्षेत्र थप जोखिममा पर्न सक्ने पनि उनीहरुको चिन्ता छ। पर्यटन व्यावसायमा नयाँ जनशक्ति आउनै छाडेको उनीहरुको गुनासो छ। पर्यटन व्यावसायीका अनुसार अहिले गण्डकीमा मात्र करिब ७५ हजारले प्रत्यक्ष रोजगारी पाएका छन्। अप्रत्यक्ष रोजगारी पाउनेको आकार त्यो भन्दा पनि ठूलो रहेको छ।  

पर्यटन क्षेत्र फस्टाउँदै जाँदा जनशक्ति अभावको खड्को पर्यटन क्षेत्रले देखेको छ। तर पोखरामै पर्यटनका विभिन्न विषय अध्यापन गराउने शिक्षण संस्थाले भने विद्यार्थीले पर्यटन क्षेत्रमा पर्याप्त रोजगारी पाउन नसकेको गुनासो पनि गर्ने गरेका छन। होटल व्यवस्थापन, ट्राभल एण्ड टुरिजम लगायतका विषय अध्यापन गराएर वर्षेनी सयौं विद्यार्थी उत्पादन गर्दा पनि ती विद्यार्थीले पर्यटनको राजधानी पोखरामा सहजै रोजगार नपाएको गुनासो शैक्षिक क्षेत्रको छ।  

पर्यटन क्षेत्रको माग र शिक्षण संस्थाको उत्पादनमा तादम्यता नमिल्दा अन्योल भएको दुवै क्षेत्रको ठहर छ। गैहपाटनस्थित पश्चिमाञ्चल माविले पर्यटन क्षेत्रका अगुवा व्यावसायीसँग गरेको छलफलमा व्यावसायीले भने, ‘पढेका विद्यार्थी नेपालमा बस्नै चाहेनन। उनीहरुलाई रोक्ने आधार पर्यटन क्षेत्रमा रहेन। व्यावसायीले दिएको पारिश्रमिक अपुग हुने भन्दै विदेश पलायन बढेको छ। सरकारले पर्यटन क्षेत्रमा सहुलियत नदिँदा मागेजति पारिश्रमिक दिन पर्यटन क्षेत्र असक्षम बनेको छ। सरकारले सहुलियतपूर्ण ऋण दिने हो भने व्यावसायीले कामदारलाई भनेजति पारिश्रमिक दिन सक्छन, त्यसो हुँदा पर्यटन क्षेत्रमा जनशक्ति अभाव हुँदैन।

छलफलमा सहभागि व्यावसायीले जनशक्ति अभाव बढ्दै गएमा पर्यटन क्षेत्रको भविश्य पनि अन्योलमा पर्ने चिन्ता जनाए। होटल संघ गण्डकी अध्यक्ष हरि शर्माले भन्छन, ‘होटल व्यवस्थापन विषय पढाउँदैमा दक्ष जनशक्ति उत्पादन भयो भन्न मिल्दैन। पर्यटन क्षेत्रका लागि चाहिने सबै विषयका विद्यार्थी उत्पादनमा ध्यान दिन जरुरी छ।’  

शर्माका अनुसार इतिहासदेखि संस्कृति र भूगोल जान्ने जनशक्ति पनि पर्यटनमा चाहिन्छ, न की होटल व्यवस्थापन मात्र पर्याप्त होईन। विदेशी पाहुनालाई आवश्यक गाइड गर्ने जनशक्ति पनि अभाव रहेको उनले बताए। ‘विदेशीको बसाई अवधि बढाउने हो भने प्रकृतिदेखि संस्कृतिसम्म बुझाउने जनशक्ति चाहिन्छ,’ शर्माले भने, ‘अहिलेकै गतिमा जनशक्ति अभाव हुँदै गए भविश्यमा पर्यटन क्षेत्र जोखिममा पर्नसक्ने डर पनि छ।’

पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटाका अनुसार अहिले पर्यटन क्षेत्रमा मात्र ७५ हजार जनशक्ति कार्यरत छ। यो प्रत्यक्ष कार्यरत जनशक्ति हो। अप्रत्यक्ष रुपमा पर्यटन क्षेत्रमा निर्भर जनशक्ति पनि रहेको उनले बताए। कोरोना भाईरस संक्रमणका कारण करिब ३० प्रतिशत जनशक्ति पलायन भएपनि केही जनशक्ति फेरि पनि पर्यटनमै फर्केको पनि उनले बताए।

‘युवापुस्ता पलायन हुँदै जाँदा पर्यटन क्षेत्र कतै पाको जनशक्तिको भरमा मात्र टिक्नुपर्ने चिन्ता पलाएको छ। पाको जनशक्ति पनि उमेर ढल्किँदै जाँदा कुनैपनि बेला पर्यटन क्षेत्रलाई थप कामदारको अभाव हुनसक्ने जोखिम छ,’ सापकोटाले भने, ‘नयाँ जनशक्ति पर्यटनमा आउनै चाहेन। आएको जनशक्ति पनि काम सिकेर फुत्त विदेश उड्ने गर्दा अभाव खड्किँदो छ।’ पोखरामा केही तारे होटल थपिने क्रममा रहेको, अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुँदाका दिन थप विदेशी पाहुना आउने हुँदा अहिले भन्दा दक्ष जनशक्ति चाहिने भएकोले बेलैमा सोच्नुपर्ने अवस्था आएको उनले सुनाए।

रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) अध्यक्ष नरेश भट्टराईले पर्यटन क्षेत्रमा प्राविधिक जनशक्ति अभाव रहेको बताए। ‘होटललाई चाहिने इलेक्ट्रिसियनको अभाव हामीलाई छ। त्यसैले अब प्राविधिक शिक्षा दिएर जनशक्ति उत्पादनमा जोड दिनुपर्छ,’ उनले भने, ‘वेटर, कुक, सेफ त अभावै छ नै प्राविधिक धारको जनशक्तिको खाँचो  पनि उत्तिकै छ।’

ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकी अध्यक्ष धर्मराज पन्थी शिक्षण संस्थाले विद्यार्थीलाई इन्टर्नशीप अनिवार्य गर्ने हो भने जनशक्ति अभावलाई केही हदसम्म पुरा गर्न सकिने बताउँछन। ‘एकैपटक कमाउन खोज्दा नयाँ जनशक्ति निराश बन्ने गरेको छ। अनुभव बिना काममा लगाउँदा पनि समस्या छ। अनुभव बटुल्दै गर्दा विदेश पलायनको त्रास छ,’ पन्थीले भने। होटल संघ पोखराका महासचिव राजेन्द्र ढकालले त खोजेको जनशक्ति स्वदेशमा नपाएपछि विदेशीलाई महंगो पारिश्रमिक दिएर राख्नुपर्ने अवस्था रहेको बताए।  

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले तल्लो तहमा मात्र नभई माथिल्लो तहमा पनि जनशक्ति खाँचो रहेको बताए। ‘अब शिक्षण संस्थाले पर्यटनका लागि चाहिने सबैखालको जनशक्ति उत्पादनमा ध्यान दिनुपर्छ,’ उनले भने, ‘पोखरामै काम र दाम पाइने अवसर छ भनेर नयाँ पुस्तालाई बुझाउनुको विकल्प छैन। त्यसको महत्व बुझाउने हो भने स्वदेशमै रोक्न सकिन्छ।’

पश्चिमाञ्चल माविका संयोजक देव क्षेत्रीले पोखरामा करिब दर्जन संस्थाले होटल व्यवस्थापन विषय अध्यापन गराएर जनशक्ति उत्पादन गरेपनि पोखराकै लागि टिकाउ हुन नसकेको बताए। ‘विदेश जाने मानसिकता नै हावि छ। जो कोही पनि रोक्ने अवस्था छैन,’ उनले भने। विद्यालयका अध्यक्ष प्राडा रामनाथ ओझले पाठ्यक्रम विकास केन्द्रले तोकेको भन्दा बढी पाठ्यक्रम पढाएर भएपनि अब्बल विद्यार्थी उत्पादनमा शिक्षण संस्थाले जोड दिनुपर्ने बताए। छलफलमा पश्चिमाञ्चल माविका प्राचार्य सरोज कोइरालाले पर्यटन क्षेत्रका लागि आवश्यक कु्नैपनि खालको जनशक्ति उत्पादनमा विद्यालयले सघाउने बताए।  

प्रकाशित: १३ असार २०८१ १८:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App