१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

पर्यटक आगमन थपिँदै, तर, चिनियाँ पाहुना बढेनन्

मे महिनामा ९० हजार २ सय ११ जना पाहुना भित्रिए

नेपालमा विदेशी पर्यटक आगमन निरन्तर उकालो लागिरहेको तथ्यांकले देखाएको छ। सन् २०२४ को मे महिनामा नेपालमा ९० हजार २ सय ११ जना विदेशी पाहुना आएका छन्। ती सबै हवाई माध्यमबाट भित्रिएका विदेशी पाहुना हुन्।  

पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार नेपालमा सबैभन्दा बढी विदेशी पाहुना भित्रिएको वर्ष २०१९ हो। त्यो वर्षको मे महिनामा नेपालमा ७८ हजार ३ सय २९ जना विदेशी पाहुना भित्रिएका थिए। तर, २०१९ मे को तुलनामा २०२४ मे मा १५ प्रतिशत बढी विदेशी पाहुना नेपाल आएको लामिछानेले बताए।  

‘२०१९ मे को भन्दा २०२४ मे को आगमन १५ प्रतिशत बढी छ,’ उनले भने। २०१९ पछि कोरोना भाइरस संक्रमणले गर्दा नेपालमा विदेशी पाहुना आगमन ह्वात्तै घटेको थियो। त्यो आगमन २०२० मे महिनामा जम्मा ३१ थियो। सन् २०२१ मे मा १५ सय ३१, सन् २०२२ मे मा ५४ हजार ९३ र २०२३ मे महिनामा ७७ हजार ७ सय ३ जना विदेशी पाहुना नेपाल भित्रिएका थिए।  

‘२०२३ मे मा भन्दा २०२४ मे मा १६ प्रतिशत बढी विदेशी पाहुना नेपाल भित्रिएका छन,’ लामिछानेले भने, ‘पर्यटन क्षेत्र अब कोरोना अघिको अवस्थामा फर्किन थालेको पुष्टि भएको छ।’ कोरोना भाइरस संक्रमण फैलिरहँदा व्यावसायीले २०२४ पछि मात्र पर्यटन क्षेत्र सतप्रतिशत रिकभर हुने अनुमान गर्दै आएका थिए। त्यही पूर्वानुमान अनुसार नै अहिले पाहुना आमगनले गति लिएको उनले बताए।

उनका अनुसार कोरोना संक्रमणपछि ओरालो लागेको विश्वको पर्यटन क्षेत्र २०२४ को अहिलेसम्म ९७ प्रतिशत रिकभर भईसकेको छ। नेपालको पर्यटन क्षेत्र भने ९८ प्रतिशत नै रिकभर भईसकेको छ। सरकारले पर्यटक आगमन बढेपछि आगामि आर्थिक वर्ष २०८१/८२ को बजेटमा १६ लाख विदेशी पर्यटक भित्र्याउने गरि पर्यटन प्रर्वद्धन कार्यक्रम संचालन गर्ने लक्ष्य समेत सार्वजनिक गरेको छ। त्यसका लागि नयाँ गन्तव्यको पहिचान गर्ने बजेटमा उल्लेख छ। पर्यटक भित्र्याउनका लागि छिमेकी मुलुक भारत र चीन तथा अन्य मुलुकका प्रमुख सहरमा पर्यटक लक्षित रोड–सो, मेला, महोत्सव जस्ता पर्यटन प्रर्वद्धन कार्यक्रम संचालन गर्ने पनि बजेटमा छ।  

बोर्डका अनुसार मे महिनामा सबैभन्दा बढी भारतीय पाहुना नेपाल भित्रिएका छन। सबैगरि ३८ हजार २ सय ८८ जना भारतीय पाहुना नेपाल भित्रिएका छन। दोश्रो नम्बरमा अमेरिकी पाहुनाको संख्या बढी छ। मे महिनामा ८ हजार ५ सय २७ जना अमेरिकी पाहुना नेपाल भित्रिएका छन। तेश्रो नम्बरमा चिनियाँ पाहुनाको आगमन छ। चिनियाँ पाहुनाको संख्या ८ हजार ३ सय ८१ रहेको छ। चौथो नम्बरमा बंगलादेशी पाहुनाको संख्या ३ हजार ४ सय ५८ रहेको छ।  

नेपालको पर्यटन बजारले चिनियाँ र भारतीय पर्यटनसँग बढी नै आशावादी छ। भारतीय पर्यटक आगमनकै कारण पर्यटन क्षेत्र चलायमान बनेको व्यवासायीले बताउँदै पनि आएका छन। तर, चिनियाँ पाहुना भने सोचे अनुरुप आगमन हुन नसकेको उनीहरुको भनाई छ। किनकी कोरोना संक्रमण अघिको समयमा नेपालमा भारतीय पछि चिनियाँ पाहुनाको आगमन संख्यात्मक रुपमा बढी हुने गरेको थियो। भारत पछि चीन र तेश्रो नम्बरमा अमेरिकी पाहुनाको संख्या बढी हुनेमा अहिले चिनियाँ भन्दा अमेरिकी पाहुना बढी रहेको तथ्यांकले देखाएको छ।  

लामिछानेले पनि पर्यटन क्षेत्रले आशा गरे अनुरुप चिनियाँ पाहुनाको आगमन हुन नसकेको बताए। ‘भारतीय पछि चिनियाँको संख्या बढी हुनुपर्ने हो तर, चिनियाँको संख्या सोचेजस्तो उकालो लाग्न सकेको छैन,’ लामिछानेले भने, ‘भारतीय बजार त निकै नै राम्रो छ। त्यसपछिको बजार चिनियाँ हुनुपर्ने हो, तर, अहिले अमेरिकी बजारले जितेको छ।’ नेपालले चिनियाँ बजारबाट पर्याप्त पाहुना पाउन नसकेको उनले बताए।  

‘चिनियाँको आर्थिक अवस्था केही कमजोर भएको सुनिने गरेको छ। त्यसले पनि असर पारेको हुनसक्छ। त्यसबाहेक नेपाली गन्तव्य महंगो परेको पनि चिनियाँको गुनासो सुनेका छौं,’ लामिछानेले भने, ‘कोरोनापछि चीनमा उत्तिसारो प्रचारप्रसार पनि भएको छैन। उचित प्रचारप्रसार नहुँदा पनि पाहुना आगमन कमजोर बनेको आँकलन छ।’

प्रचारप्रसार अभावमा चिनियाँ बजारले गति लिन नसक्दा तथ्यांकमा पनि कमजोर देखिएको उनले बताए। ‘लामो समयपछि केही साता अघि बल्ल चीनमा प्रवद्र्धनात्मक अभियान भयो। लामो ग्यापले गर्दा पनि बजार सुस्ताएको अनुभव भएको हो,’ उनले भने, ‘लामो समयसम्म नेपालको प्रर्वद्धनात्मक अभियान चीनमा सुस्तायो। त्यसले असर परेको हो।’

अमेरिकी बजारमा भने निजी क्षेत्रले पनि बारम्बार प्रर्वद्धन गरिरहेको छ। त्यसले गर्दा पनि आगमन बढिरहेको उनले बताए। ‘अमेरिकाको अर्थतन्त्र पनि चलायमान बनिसकेको छ। बजारीकरण पनि भएको छ। निजी क्षेत्रले पनि बजारीकरण गरेको छ,’ उनले भने, ‘अमेरिकी बजारमा नियमित उपस्थितिले गर्दा केही सहज भएको छ।’

प्रकाशित: २० जेष्ठ २०८१ १३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App