२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

बागमतीमा सबैभन्दा धेरै आर्थिक गतिविधि

५७ खर्बको अर्थतन्त्रमा ३६.४ प्रतिशत हिस्सा

मुलुकको करिब ५७ खर्ब रूपैयाँको अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान (हिस्सा) बागमती प्रदेशको रहेको पाइएको छ। सात प्रदेशमध्ये सबैभन्दा धेरै आर्थिक गतिविधि बागमतीमा भएको तथ्यांकले देखाएको हो। वार्षिक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा बागमती प्रदेशको योगदान ३६.४ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता हेमराज रेग्मीले बताए।

‘बागमती प्रदेशको अर्थतन्त्रको आकार २० खर्ब ७४ अर्ब रूपैयाँ पुगेको छ,’ उनले भने। सबैभन्दा कम आर्थिक क्रियाकलाप कर्णाली प्रदेशमा भएको छ। अर्थतन्त्रको कुल आकारमा कर्णाली प्रदेशको हिस्सा ४.३ प्रतिशत मात्र छ। प्रवक्ता रेग्मीका अनुसार चालु आर्थिक वर्ष २०८०-८१ मा नेपाली अर्थतन्त्रको आधार ३.८७ प्रतिशतले विस्तार भएर ५७ खर्ब ५ अर्ब रूपैयाँ पुग्ने अनुमान छ।

जिडिपीमा योगदान गर्ने दोस्रो स्थानमा कोसी प्रदेश छ। अर्थतन्त्रमा कोसीको हिस्सा १५.८ प्रतिशत छ। अर्थतन्त्रमा लुम्बिनीको योगदान १४.३, मधेसको १३.१, गण्डकीको ९.१ र सुदूरपश्चिम प्रदेशको ७.१ प्रतिशत छ।  

अर्थतन्त्रका विविध पक्षलाई मापन गरी आर्थिक नीति निर्माण तथा आर्थिक विकासका गतिविधिको अनुगमन तथा मूल्यांकन गर्न राष्ट्रिय तथ्यांक कार्यालयले नियमित रूपमा राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनलगायत समष्टिगत आर्थिक सूचक तयार गर्दै आएको छ।

प्रादेशिक अनुमान प्रचलित मूल्य र स्थिर मूल्य दुवैमा मापन गरी सार्वजनिक गरिएको हो। प्रचलित मूल्यको कुल गार्हस्थ्य उत्पादनबाट अर्थतन्त्रको आकार अनुमान गरिन्छ भने स्थिर मूल्यको कुल गार्हस्थ्य उत्पादनबाट आर्थिक वृद्धिदर अनुमान गरिन्छ।

विभागका अनुसार कोसीको अर्थतन्त्रको आकार ९ खर्ब ३ अर्ब, लुम्बिनीको ८ खर्ब १४ अर्ब, मधेसको ७ खर्ब ४८ अर्ब, गण्डकीको ५ खर्ब १७ अर्ब, सुदूरपश्चिमको ४ खर्ब ४ अर्ब र कर्णालीको २ खर्ब ४४ अर्ब रूपैयाँबराबर पुगेको छ।

उपभोक्ता मूल्यमा प्रादेशिक कुल गार्हस्थ्य उत्पादनका आधारमा आर्थिक वृद्धिदर सबैभन्दा धेरै ४.५५ प्रतिशत गण्डकी प्रदेशमा छ। सबैभन्दा कम आर्थिक वृद्धिदर कर्णालीमा ३.३९ प्रतिशत रहने प्रारम्भिक अनुमान छ। आर्थिक वृद्धिदर लुम्बिनीमा ४.०५ प्रतिशत छ।

त्यसैगरी, उपभोक्ताको मूल्यमा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ३.८७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएकोमा गण्डकी, लुम्बिनी र बागमती प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा धेरै र बाँकी प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा थोरै हुने प्रारम्भिक अनुमान छ।

विभागका अनुसार औद्योगिक वर्गीकरणअनुसारका आर्थिक क्रियाकलाप हेर्दा गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा बागमतीबाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी छ।

बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी रहेको तथ्यांक कार्यालयले जनाएको छ। चालु आव २०८०-८१ मा राष्ट्रिय तहमा दोस्रो हिस्सा ओगटेको व्यापार क्षेत्रले मधेस प्रदेशमा पनि दोस्रो हिस्सा ओगटेको छ।

बागमती प्रदेशमा घरजग्गासम्बन्धी कारोबार तथा आफ्नै आवास सेवाको हिस्सा दोस्रो स्थानमा छ। कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको योगदान दोस्रो स्थानमा छ।

चालु आवको औद्योगिक वर्गीकरणअनुसार औद्योगिक क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर राष्ट्रिय तहमा आवास तथा भोजन सेवाको सबैभन्दा धेरै २१.८४ प्रतिशत रहने प्रारम्भिक अनुमान छ।

त्यस्तै चालु आवमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेश र सबैभन्दा कम मधेस प्रदेशमा हुने अनुमान छ। गत आव २०७९-८० मा पनि प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती र सबैभन्दा थोरै मधेस प्रदेशको रहने संशोधित अनुमान छ।

चालु आवमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन अमेरिकी डलरमा बागमतीको २४ सय ८४, गण्डकीको १५ सय ५७, कोसीको १३ सय ३६, लुम्बिनीको ११ सय ५९, सुदूरपश्चिमको ११ सय ११, कर्णाली प्रदेशको एक हजार ६६ र मधेस प्रदेशको आठ सय ९२ हुने प्रारम्भिक अनुमान छ।

चालु आवका लागि राष्ट्रिय तहमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन अमेरिकी डलरमा १४ सय ३४ हुने प्रारम्भिक अनुमान छ। यस हिसाबले हेर्दा बागमती र गण्डकीबाहेक अन्य प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन राष्ट्रिय औसतभन्दा कम देखिन्छ।

प्रकाशित: १० जेष्ठ २०८१ ०६:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App