जुम्लाको सिंजा गाउँपालिका- ६ का जोडु, रुघा भाडगाउँ र काडागाउँ सडक सञ्जालसँग जोडिएका छन्। स्थानीय सरकार आउनुपूर्व गाउँपालिकाको उच्च तथा ग्रामीण भेगका धेरै गाउँ बस्तीमा सडक पुगेको थिएन। गाउँपालिकाले सबै गाउँ बस्तीमा सडक पुर्याएर सडक सञ्जालसँग जोडेको हो।
सिँजा– ६ का ८७ वर्षीय मोतीराम बुढाले गाउँमा सडक आएपछि गाउँलेको जीवनशैली बदलिएको बताए। बजारभन्दा गाउँ निकै टाढा हुँदा यहाँका नागरिकले दुई दिन लगाएर नुन, तेल, लुगाफाटो, चामललगायतका खाद्यान्न जोहो गर्नुपरेको बुढाले स्मरण गरे। उनले भने, ‘जुम्लाको सदरमुकाम खलंगा पुग्न ठ्याक्कै दुई दिन लाग्थ्यो। जुम्लामा २०६३ सालमा सडक आएको थियो, यहाँबाट सदरमुकाम पुगेर सामान ल्याउने गथ्र्यौं पहिला, त्यहाँ जान–आउन दुई दिन लाग्थ्यो, अहिले घरमै सामान आउँछ।’
गाउँपालिकाका ६ वटै वडामा सडक पुगेको छ। गाउँपालिका आलु, फापर, कोदो, चिनो, कागुनो, ओखर, स्याउ, मकै, जौँ, गहुँ, तोरी, सिमी र भाँगो उत्पादनमा उर्वर मानिन्छ। सडक सञ्जालसँग जोडिएपछि यहाँका कृषिउपज बजारीकरणमा सहज भएको स्थानीय धनबहादुर बुढाले बताए।
विगतमा कृषकले उत्पादन गरेका आलु, सिमी, स्याउ, ओखर र भाँगो खेर जाने गरेको भन्दै अहिले सहजरुपमा बजार पाउने गरेको उनले बताए। उनी भन्छन्, ‘गाउँ र गाउँले सडकसँग जोडिएपछि कृषि उपज बेच्न सहज भएको छ। गाडी आएर सामान लिई जान्छ ।’
अर्को स्थानीय ७० वर्षीया राजकली बुढाले पछिल्लो एक दशकयता सिंजा– ६ का सबै बस्तीमा ठूलो परिवर्तन आएको बताइन्। गाउँमा कोही बिरामी परे डोलामा बोकेर अस्पताल पु¥याउने गरेको स्मरण गर्दै अहिले जहाँ भने त्यहीं गाडी पुग्ने हुँदा उपचार सहज भएको उनले बताइन्।
आफूहरुले २०-२५ वर्षअगाडि सुर्खेत, नेपालगन्ज काठमाडौंलगायतका ठाउँबाट दैनिक उपभोग्य सामान किनेर उपभोग गर्ने गरेको सम्झिन्। ‘हाम्रा पालामा मोटर, बस, एम्बुलेन्स र सडक थिएनन् । हामी साँघुरो गोरेटोमा हिँड्थ्यौं, बिजुली थिएन, टुकी र वन जंगलमा पाइने झरोका भरमा रात कटाउँथ्यौँ, पढ्ने लेख्ने चलन थिएन, नुन, चामल, तेल आदि सुर्खेत नेपालगन्जबाट ल्याउन हप्तौं लगाउँथ्यौं’, बुढाले विगत स्मरण गर्दै भनिन्।
सडकसँग जोडिएपछि अहिले यही ठाउँ तराईसरह भएको उनले बताइन्। ‘अहिले केही कमी छैन यहाँ । सबैथोक गाउँमै छ। पहिले–पहिले मान्छेहरु यहाँ विकट भयो, विकास भएन भनेर तराईतिर बसाइँसराइ गए, अहिले यही तराई भयो।’
गाउँपालिकाका ६ का वडाध्यक्ष लालबहादुर बुढाले भौगोलिक कठिनाइका बाबजुद विकासको ढोका खुलेको बताए। उनले सुरुका वर्षहरुमा सडक निर्माणमा जोड दिएको तर अहिले ती सडकलाई फराकिलो र बाह्रै महिना सवारीसाधन गुड्ने बनाइएको बताए।
सडक विकासको मुख्य आधार भएकाले यसलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ। उनी भन्छन्, ‘अहिले पालिकाका अधिकांश गाउँमा कच्ची सडक पुगेकाले नागरिकको दैनिकीमा सहज भएको छ। कच्ची सडकलाई पनि विस्तारै व्यवस्थित बनाउँदै लगिने वडाको योजना छ।’
प्रकाशित: ४ जेष्ठ २०८१ १४:१७ शुक्रबार





