४ माघ २०८२ आइतबार
image/svg+xml
अर्थ

बाँझो बारीमा तरकारी फलाएर दंग छ घोडेसिन गाउँ

घोडेसिनस्थित तरकारी बारी। तस्बिर : नागरिक

घोडेसिन गाउँ अर्थात् ’तरकारी गाउँ’ । बारीभरि लटरम्म झुलेका खुर्सानी, काँक्रो, सिमी, फक्रिएका बन्दा, काउली र फैलिएका गाँजर, आलु, फर्सी, मुलाहरु । एकदशक अगाडिसम्म गहुँ, जौ र मकै फल्ने घोडेसिनका खेतबारी यतिखेर तरकारीले ढाकिएका छन्।

अहिले ती बारीमा हरियो तरकारी उत्पादन गरेर किसानहरु अहिले लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन्। पातारासी गाउँपालिका– ६ मा पर्ने घोेडेसिन गाउँका अधिकांश नागरिक तरकारी खेतीमा आबद्ध छन्।

२०६८ सालदेखि गाउँलेले सुरु गरेको व्यावसायिक तरकारी खेतीले ठूलो रूप लिएको छ। कृषकले तरकारी खेती विस्तार गरेपछि गाउँका बाँझो जमिन पनि प्रयोगमा आएको देखिन्छ।

गाउँमा १ सय ४० घरधुरी छन्। युवाले रोजगार पाएका छन्। उनीहरू सबै तरकारी खेतीमै आबद्ध छन्। प्लास्टिक टनेल नहालेका कुनै घरपरिवार छैन। जुम्ला बजारनजिकै रहेको घोडेसिन गाउँका अधिकांश नागरिकले तरकारी खेती गर्न थालेका छन्। बजारीकरण र सिँचाइ समस्या भए पनि कृषकहरुले वार्षिक एक लाखदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गर्न थालेको स्थानीय जनक बुढाले बताए।

गाउँका स्थानीयमा उद्यम गर्नुपर्छ, तब मात्र आयआर्जन हुन्छ भन्ने सोच विकास भएपछि घोडेसिन गाउँ ‘तरकारी गाउँ’ का रूपमा विकास भएको जनक बुढाले बताए। सुरुमा एकदुईजनाले तरकारी खेती गरेर राम्रो कमाइ गरेपछि अहिले सिंगो गाउँ नै यसतर्फ आकर्षित भएको उनी बताउँछन्।

विगत सम्झँदै उनी भन्छन्, ‘पहिले बारीमा मकै, जौ र गहुँ उत्पादिन गरिन्थ्यो, वर्ष दिन खान पनि पुग्दैनथ्यो, अहिले तरकारी उत्पादन गर्न थालेपछि गाउँका सबै परिवारलाई किनेर खानुपर्ने अवस्था छैन । सबैका बारीमा तरकारी फलेका छन् । पैसा चाहिएमा एक डोको तरकारी बजारमा लगेर बेच्छन् । तरकारी खेती नगरेकाहरू पनि यसतर्फ जोडिँदै छन्’, जनक भन्छन्, ‘अहिले गाउँमा टनेल नबनाएको घर छैन, तरकारी खेतीले गाउँको दैनिकी फेरिएको छ।’

तरकारी खेतीले व्यावसायिक रुप लिएपछि गाउँलेको जीवनशैली नै बदलिएको सोही गाउँकी बिजुला बुढा बताउँछिन्। आफूहरूले उत्पादन गरेको तरकारीले राम्रो बजार नपाएको उनले गुनासो गरिन्। ‘बजार व्यवस्था भए त कृषक थप उत्साहित हुने थिए’, उनले भनिन्।

तरकारी खेती गर्न कृषि विकास कार्यालय र जिल्लाका विभिन्न संघसस्थाले पनि राम्रो सहयोग गर्दै आएको माया थापाले बताइन्। तरकारी खेती गरेपछि आर्थिक समस्या भोग्नु नपरेको आफ्नो अनुभव सुनाइन्।

उनले भनिन्, ‘अहिले त गाउँका खाली जग्गामा पनि तरकारी खेती हुन थालेको छ। हामी चकित परेका छौं । लगनशीलता र परिश्रमले त जीवन फेरिँदो रहेछ । पहिले धेरैजसोले मजदुरी गरेरै जीविकोपार्जन गर्नुपथ्र्यो, अहिले आफ्नै बारीमा पैसा फलेको छ ।’

छोराछोरीको पठनपाठन, लालनपालन, घरखर्च व्यवस्थापन तरकारी बेचेर प्राप्त भएको पैसाले नै धान्छ। गाउँको तरकारीले बजारको माग झन्डै चार महिना धान्छ । घोडेसिन गाउँ उर्वर भूमि हो।

तरकारी खेतीका लागि उपयुक्त माटो भएकाले पनि कृषक सक्रिय भएको स्थानीय बताउँछन्। स्थानीयका अनुसार तरकारी बिक्री गरेर वार्षिक ७० देखि ८० लाख बढी गाउँ भित्रिने गरेको छ।

यता पातारासी गाउँपालिकाले घोडेसिन गाउँलाई तरकारी पकेट क्षेत्र तोकेको छ। रैथाने बाली संरक्षणका लागि सातवटा पकेट क्षेत्र निर्धारण गरेको हो। एक गाउँ, एक उत्पादनलाई प्रोत्साहन दिन रैथाने बाली संरक्षणको योजना अघि सारिएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर रावलले बताए।

रावलका अनुसार वडा नं १ स्यालागडीलाई फापर, २ नम्बरको पेरेलाई सिमी, वडा नं ३ लाई कालीमार्सी धान र ४ नम्बर वडाको लुमलाई चिनो तथा कागुनोको पकेट क्षेत्र घोषणा गरेको छ। ५ नम्बर वडाको लोर्पामा ओखर, ६ नम्बरको उर्थुमा तरकारी र वडा नं ७ को पट्मारामा आलुको पकेट क्षेत्र तोकिएको छ।

रैथाने बाली संरक्षणमार्फत युवालाई गाउँमै स्वरोजगार बनाउने पालिकाको योजना रहेको रावलले बताए। उनले भने, ‘जसका लागि कृषि विकास कार्यालयसहित अन्य निकायसँग सहकार्य भइरहेको छ।’

प्रकाशित: ३ जेष्ठ २०८१ ०९:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App