२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

३ सय ३३ वटा व्यवसायमा अनुगमन

खाद्य प्रविधि तथा गुण नियन्त्रण टोलीका प्रतिनिधि बजार अनुगमन गर्दै। तस्बिर : नागरिक

कर्णालीका ३ सय ३३ वटा व्यवसायमा अनुगमन गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले चालु आर्थिक वर्षमा ३ सय ३३ वटा व्यवसायमा अनुगमन तथा निरीक्षण गरेको हो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले खाद्य उद्योग र खाद्य बजार  अनुगमन, खाद्य वस्तुको गुणस्तर प्रयोगशालामा जाँच, उद्योग सञ्चालनका लागि सिफारिस तथा अनुज्ञापत्र जारी र नवीकरण गर्ने गर्दछ। पछिल्लो समय अखाद्य वस्तु, म्याद गुजे्रका खानेकरा बिक्री, व्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाइएको छ।  

कार्यालयमा गुनासा आएसँगै अनुगमनमा तीव्रता दिइएको कार्यालयका खाद्य निरीक्षक विवेककुमार सुवेदीले बताए। ‘गुनासा आएपछि तत्काल अनुगमनका लागि पुग्ने गरेका छौं।’ खाद्य निरीक्षक सुवेदीले भने, ‘धेरै ठाउँमा अनुगमन गरी गुणस्तर जाँच गर्ने काम भइरहेका छन्। गुणस्तरमा तलमाथि परेमा कारबाहीसमेत अगाडि बढाएका छौं।’

अनुगमनका साथै कार्यालयले उपभोक्ता सचेतना कार्यक्रमसमेत भइरहेको जनाइएको छ। सुर्खेतबाट दैलेख, सल्यान, जाजरकोट, डोल्पा, हुम्ला र रुकुमपश्चिम र जुम्लामा रहेका डिभिजन कार्यालयबाट जुम्लासहित कालिकोट र मुगु हेर्दै आएको छ।

अनुगमन गरिएका खाद्य व्यवसायमा १ सय ५०, दाना उद्योग ४, होटल, रेस्टुरेन्ट, खाजा घर मिठाई पसल ६९, खाद्य उद्योग ८२, संवेदनशील पदार्थ (पानी, दुध र तेल) २८ वटा रहेका छन्। सन्तोषजनक नरहेका व्यवसायलाई सचेत गराइएको कार्यालय प्रमुख क्षितिज श्रेष्ठले बताए।

५ सय ९९ नमुना परीक्षणमा ६९ वटा नमुना कैफियत देखिएको कार्यालयले जनाएको छ। गुणस्तर नभएको, लेबल नभएको, म्याद गुज्रेको पानी, तेल र मसलामा बढी कैफियत देखिएको खाद्य निरीक्षक विवेककुमार सुवेदीले बताए। केहीलाई कारबाहीका लागि अगाडि बढाएको र केहीलाई सचेत गराइएको जनाइएको छ।

१६ लाख ९ हजार ९ सय ४८ रुपैयाँ बराबरको खाद्य पदार्थ जफत तथा नष्ट गरिएको कार्यालयको भनाइ छ। जुम्लाबाट कार्यालयले तोकेका क्षेत्रमा शतप्रतिशत काम गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका प्रमुख पंकज दाहालले बताए।

प्रकाशित: २ जेष्ठ २०८१ १३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App