७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

हजारौं छोरीहरूलाई कसरी उद्यमी बनाउन सकिन्छ भन्नेबारे सोचिरहेको छुः अर्थमन्त्री पुन

महिला उद्यमी महासंघ नेपालले आर्थिक वर्ष २०८१-८२ को बजेटमा महिला उद्यमीलाई प्राथमिकता दिन आग्रह गरेको छ। अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटबारे सुझाव लिन सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा महिला उद्यमीले यस्तो सुझाव दिएका हुन्।

अर्थमन्त्री पुनले महिला उद्यमी महासंघ नेपाल (एफविन) पदाधिकारीसँग छलफल गरेका थिए। कार्यक्रममा महासंघकी अध्यक्ष शोभा ज्ञवालीसहित महिला उद्यमीहरूबीच महिला उद्यम प्रवद्र्धनका लागि बजेटमा समेट्नुपर्ने विषयबारे सुझाव दिइन्। महासंघले अर्थमन्त्री पुनलाई १४ बुँदे सुझाव दिएको छ।

महासंघकी अध्यक्ष ज्ञवालीले महिलाद्वारा सञ्चालित व्यवसायलाई सघाउन सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन, औद्योगिक ग्राम स्थापना गर्न आवश्यक बजेट विनियोजन गर्न र सबै जिल्लामा महिला उद्यमी व्यापार मेला सञ्चालन गर्न बजेटको व्यवस्था गरिदिन माग गरिन्।

महासंघले महिला उद्यमशीलता विकासका लागि सबै स्थानीय तहमा महिला उद्यमशीलता सहजीकरण केन्द्र स्थापना गर्नुपर्ने, महिला उद्यमशीलता प्रवद्र्धनका लागि कार्यक्रम सञ्चालन गर्नुपर्ने, महिलाद्वारा सञ्चालित उद्यमबाट उत्पादित २० लाख रूपैयाँसम्मको स्वदेशी वस्तु सार्वजनिक निकायले जुनुसुकै विधिबाट खरिद गर्ने व्यवस्था मिलाइदिन पनि माग गरेको छ।

कार्यक्रममा अर्थमन्त्री पुनले महिलाको आर्थिक अवस्था बलियो नभएसम्म मुलुकको अर्थतन्त्र सबल नहुने बताए। बजेट निर्माण गर्दा महिला उद्यमी लक्षित सहुलियतपूर्ण व्यवस्थाहरू गर्ने सोचमा आफू रहेको उनको भनाइ थियो। बढीभन्दा बढी महिलालाई कसरी उद्यमी बनाउन सकिएला भन्नेबारे आफूलाई सुझाव दिन उनले आग्रह गरे।

‘महिलाको आर्थिक अवस्था राम्रो भए छोरीहरूले अनिवार्य गुणस्तरीय शिक्षा पाउने अवस्था बन्छ,’ उनले भने, ‘राम्रो शिक्षा भएपछि छोरीहरू आफैं आत्मनिर्भर बन्छन्।’ मन्त्री पुनले राजनीतिक क्षेत्रमा महिला सहभागिता राम्रो भए पनि व्यवसायमा पनि अघि बढाउनुपर्नेमा जोड दिए।

मन्त्री पुनले महिलाका नाममा पास गर्दा घरजग्गाको रजिष्ट्रेसनमा शुल्क छुट दिने नीतिका कारण २७ प्रतिशत महिला सम्पत्तिको मालिक भएको पनि स्मरण गरे। ‘२७ प्रतिशत महिलासँग सम्पत्ति भएकाले व्यवसाय गर्दा बैंकले ऋण पत्याउने अवस्था छ। बाबुआमाले पनि सम्पत्तिको हक राख्ने भएकाले छोराछोरी दुवैलाई पढाउनुपर्छ भन्ने धारणाको विकास भएको छ।’

‘यो सम्पत्ति सम्बन्धका कारण भएको परिवर्तन हो। पुरुषलाई सम्पत्ति धितो राखेर व्यवसाय गर्छु भन्ने अवस्था पर्याप्त छ। छोरीहरूका हातमा कमै मात्र सम्पत्ति भएकाले ऋण लिएर व्यवसाय गर्ने अवस्था अझै तयार भएको छैन’, पुनले भने, ‘यो वर्षको बजेटमा हजारौं छोरीहरूलाई कसरी उद्यमी बनाउन सकिन्छ भन्ने विषयमा सोचिरहेको छु।’

उनले नयाँ महिला उद्यमीलाई अहिले व्यवसाय गरिरहेका महिलाहरूले बाटो देखाउनुपर्ने बताए। महिलाको हातमा सम्पत्ति भएपछि उनीहरूको आत्मविश्वास पनि बढ्ने उनको भनाइ थियो।

प्रकाशित: २५ वैशाख २०८१ १०:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App