२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सडकमै उखुको रस बेचेर दत्तबहादुर बने करोडपति

उखु पेलेर रस निकाल्दै ५४ वर्षीय दत्तबहादुर कार्की। तस्बिर: नागरिक

कालिकोट कार्कीबाडाका ५४ वर्षीय दत्तबहादुर कार्की २३ वर्षअघि कैलालीको लम्कीमा भाडाको घरमा बस्थे। उनी त्यतिबेला मासिक सात सय रुपैयाँ भाडा तिर्थे। अहिले उनी लम्की बसपार्क नजिकै आफ्नै घरमा बस्छन्।

उनले अर्को घर ‘डिपार्टमेन्ट स्टोर’ लाई भाडामा दिएका छन्। उनले त्यहाँको प्रसिद्ध देउती बज्यै मन्दिरनजिकै पनि घर बनाएका छन्। त्यो घर पनि भाडामै लगाएका छन्। लम्कीमै दुई वटा घडेरीसमेत जोडेका उनले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि घडेरी किनेका छन्।

कार्कीका चार छोराछोरी उच्च शिक्षा लिइरहेका छन्। जेठी छोरी कोमल कार्की काठमाडौंको एक अस्पतालमा काम गर्छिन्। उनले जनकपुरबाट बिएन उत्तीर्ण गरेकी हुन्। अर्की छोरी निशा कार्की कानुन व्यवसायी हुन। उनी नेपालगन्जमा कानुन व्यवसाय मात्र गर्दिनन्, त्यहीकै एक कलेजमा कानुन विषय पढाउँछिन् पनि।

जेठा छोरा कृष्णले वेस्टर्न कलेज धनगढीबाट ‘प्लस टु’ सिध्याएका छन् भने कान्छा छोरा निसान काठमाडौंस्थित ग्लोबल कलेजमा कक्षा ११ मा पढ्दैछन्। उनको २३ वर्षअघिको आर्थिक अवस्थामा अहिले निकै प्रगति भएको छ। कुनै बेला अर्काको घरमा भाडामा बस्ने कार्की अहिले आफैं घरबेटी बनेका छन्। उनको जीवनशैली पनि फेरिएको छ।

उनले जीवनमा ठुलो उद्योगधन्दा सञ्चालन गरेका पनि होइनन्, न ठुलो व्यापार–व्यवसाय नै गरेका हुन्, न कि उनी सरकारी जागिरे नै हुन्। उनले त सामान्य व्यवसाय गरेरै जीवनमा ठुलो परिवर्तन ल्याएका हुन्। २३ वर्षअघि उनले लम्की चोकमा उखु पेलेर रस बेच्न थालेका हुन्। अन्ततः त्यही सामान्य व्यवसायले उनको जीवनमा आजसम्म आइपुग्दा ठुलो परिवर्तन ल्याइदियो। उनी अहिले पनि त्यही व्यवसायमा आबद्ध छन्।

कार्कीले यो व्यवसाय १६ हजार रुपैयाँमा सुरु गरेका थिए। त्यतिबेला ६० रुपैयाँमा एक क्विन्टल उखु पाइन्थ्यो। उनी प्रतिगिलास दुई रुपैयाँमा उखु रस बेच्थे। पहिलो वर्ष २८ हजार रुपैयाँ आम्दानी भएको उनले बताए।

अहिले उखुको मूल्य प्रतिक्विन्टल दुई हजार एक सय छ। त्यो पनि भारतबाट ल्याउनुपर्छ। उनको व्यवसाय वर्षभरि नै चल्छ। ‘अत्यधिक जाडो भयो भने एक महिना जति बन्द हुन्छ,’ उनले भने, ‘नत्र वर्षभरि नै चल्छ भने पनि हुन्छ।’

उनको यो व्यवसाय सुरु गर्नुको कारण बुबाको उपचारसँग जोडिएको छ। बुबा बिरामी परेपछि उपचारका लागि भारतको पिलिभित लगियो र त्यहाँकै अस्पतालमा भर्ना गरियो। फुर्सदको समयमा उनी अस्पतालबाहिर घुम्न निस्कन्थे। नजिकै एक जना सरदार उखु रस बेच्थे। उनले ती सरदारसँग सो व्यवसायबारे कुराकानी गरे।

बुबाको रेखदेखबाट बचेको समयमा उनले तिनै सरदारसँग काम सिके। सरदारले केही समयपछि उनलाई काम गरेको पैसा दिन थाल्यो। उनले त्यहाँ काम गरेर १६ हजार रुपैयाँ कमाए। यता बुबालाई सन्चो भयो। घर फर्कँदा उनले सरदारको सहयोगमा लखिमपुर पुगेर उखु पेल्ने मेसिन किने। त्यही मेसिनबाट उनले लम्कीमा उखु रस बेच्ने व्यवसाय सुरु गरेका हुन्।

सुरुसुरुमा व्यवसाय त्यति राम्रो चलेन तर पनि उनले हरेस खाएनन्। बिस्तारै व्यवसायले गति लिन थाल्यो। उनी अहिले दैनिक ७ हजार रूपैयाँसम्म आम्दानी हुने बताउँछन्। ‘राम्रो आम्दानी भइरहेको छ। यही व्यवसायले मलाई आत्मनिर्भर बनाएको छ,’ उनले भने, ‘यसबाहेक मेरो अरू कुनै आम्दानीको स्रोत छैन।’

उनी निकै हँसिला र फुर्तिला छन्। सबैसँग आत्मीय व्यवहार गर्छन्। लम्कीमा उनलाई नचिन्ने सायदै होलान्। उनी निकै सहयोगी पनि छन्। वृद्धवृद्धा, बालबालिका र अपांगता भएका व्यक्तिसँग उनी उखु रसको पैसै लिन्नन्। उनको यही व्यवहारले धेरैजसो मानिस बजारमा पाइने चिसो पेय पदार्थभन्दा उखु रस पिउन मन पराउँछन्।

‘सबैसँग सकेसम्म राम्रो व्यवहार गर्छु। त्यसैले पनि होला, व्यवसायमा पछाडि फर्केर हेर्नुपरेको छैन,’ उनले भने, ‘मैले पैसा र मान्छे दुवै कमाएको छु।’ उनी आफ्नो कामप्रति सन्तुष्ट छन्। आफूमा विदेश जानुपर्छ भन्ने सोच पनि कहिल्यै नआएको उनले सुनाए। छोराछोरीलाई पनि विदेश पठाउने सोचमा उनी छैनन्।

केही वर्षअघि जेठी छोरीले अस्ट्रेलिया जाने सोच बनाएकी थिइन् तर उनले सम्झाएर रोके। आफ्नो कुरा मानेर छोरी स्वदेशमै काम गर्न थालेकोमा उनी खुसी छन्। उनी अरूलाई पनि सकेसम्म स्वदेशमै काम गर्न सुझाउँछन्।

उनले व्यवसायलाई एकै ठाउँमा स्थिर नराखी दिनभर वरपर डुलाउने गरेका छन्। त्यसका लागि मोटरसाइकलको अगाडिको भागमा उनले मेसिन र जेनेरेटर जोडेका छन्। मोटरसाइकल चढेर वरपर गुडाएर उखु रस बेच्ने उपायले उनलाई थप आम्दानी गराएको छ।

प्रकाशित: ९ वैशाख २०८१ ०६:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App