२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रारामा बढ्दै पर्यटक

कर्णालीकै उत्कृष्ट गन्तव्य रारा ताल। पछिल्लो समय यहाँ पर्यटक आउने क्रम बढेको छ। तस्बिर : नागरिक

घना जंगल नीलो ताल, दिनमै सातपटक रङ बदल्छ। चंखेली र कान्जीरोवा हिमाल साथमा हुन्छन्। सल्लाहरू पनि। त्यति मात्र होइन, तालको छालसँगैको सुन्दरताले पर्यटकको मनै लोभ्याउँछ।

कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल घुम्ने उपयुक्त मौसम सुरु भएसँगै पर्यटकीय गतिविधि बढ्दै गएको छ । फागुन पहिलो सातादेखि रारामा दैनिक घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटक बढेका हुन्।

गएको दुई वर्षयता रारामा घुम्न आउनेहरु बढेको रारा राष्ट्रिय निकुञ्ज कार्यलयका निमित्त संरक्षण अधिकृत राजु घिमिरेले बताए। नेपालकै ठूलो ताल रारा पर्यटकीय सुन्दरताको धनी भए पनि बास अभावले पर्यटक छोटो बसाइमा फर्किन विवश छन्।

होटल डाँफे र होटल हेरिटेजमा एक रात बिताएपछि प्रायः पर्यटक फर्कन्छन्। कारण अन्य होटल छैन। साना होटल, एक–दुई होमेस्टे र केही पर रहेको सल्लेरीले रारा जाने पर्यटकलाई धान्न सक्दैन।

अहिले रारा आउन सडकको व्यवस्था भएकाले पर्यटक बढेको छ। चैत, वैशाख र जेठलाई रारामा घुम्न आउने उत्तम समय मानिन्छ। आर्थिक वर्ष २०८०-८१ को हालसम्म वर्षमा मात्र आठ हजार तीन सय २० जना आन्तरिक पर्यटक आएका छन् भने बाह्य पर्यटक दुई सय १८ जना आएका छन्।

सार्क मुलुकबाहेक स्विट्जरल्यान्ड, नर्वे, फ्रान्स, अमेरिका, यूके, अस्ट्रेलियालगायतका मुलुकका पर्यटक आउने गरेको संरक्षण अधिकृत घिमिरेले बताए।  

कुन सिजनमा के अवलोकन गर्न सकिन्छ ?

रारा ताल क्षेत्रमा पुसदेखि फागुनसम्म हिउँ पर्ने भएकाले त्यो समयमा पुग्न सक्नेले हिउँको दृश्यसँगै राराको अवलोकन गर्न सक्छन्। चैतदेखि असारसम्म रारा किनारमा विभिन्न फूल र घाँसको हरियालीले रारालाई रोमाञ्चक बनाउँछ। असारदेखि असोजसम्म रारा तालसँगै तालको वरिपरि रहेका फूल फुल्छन्।

रारा राष्ट्रिय निकुञ्जभित्र पाइने जैविक विविधताको पनि अवलोकन गर्न सकिने स्थानीय भरत रावतले बताए। रारा क्षेत्रमा कस्तुरी, मृग, हाब्रे, हिम चितुवा, कालो भालुलगायतका ५१ प्रजातिका स्तनधारी वन्यजन्तु पाइने उनको भनाइ छ।

रारा तालमा पाहा भ्यागुतो, माछा र असला माछा तीन प्रजातिका हिमाली असला माछा अवलोकन गर्न सकिने उनी बताउँछन्। देवदार, भोजपत्र, लालीगुराँस, गोब्रेसल्लालगायत एक हजार २४ प्रकारका वनस्पति रहेको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ।

मुगु जिल्लामा रहेको रारा ताललाई राजा महेन्द्रले २०२० सालमा स्वर्गकी अप्सरा भनेर नामकरण गरेका थिए। राजा महेन्द्रले अप्सरा नाम दिएपछि राराको झन् महत्व बढ्दै गएको भनाइ छ।

समुद्र सतहबाट २९ सय ९० मिटरको उचाइमा रहेको रारा ताल जान अहिले सहज भइसकेको छ। रारा तालको लम्बाइ ३.२ किलोमिटर र गहिरा एक सय ६७ मिटर छ। रारा ताल कुल १०.८ किलोमिटरमा फैलिएको छ।

प्रकाशित: ७ वैशाख २०८१ १७:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App