१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पर्यटनलाई ध्यानमा राखेर भाेलिदेखि २४सै घण्टा ठमेल र दरबारमार्ग खुल्ने

पर्यटनलाई ध्यानमा राखेर भाेलि वैशाख १ गतेदेखि २४ सै घण्टा काठमाडौंका प्रमुख पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग खुल्ने भएको छ।

सुरक्षा प्रशासनको प्रस्तावमा हाललाई भगवान् बहाल क्षेत्रमा रहेका व्यवसायीले भने २४ सै घण्टा व्यवसाय सञ्चालन गर्न नपाउने ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले बताए।

‘भगवान् बहाल क्षेत्र भित्रका सबै व्यवसायीहरूले ठमेलक्षेत्रमा भने पूर्णकालीन व्यवसाय गर्न पाउनेछन्’ अध्यक्ष शर्माले भने, ‘भगवान् बहाल क्षेत्र मूलतः आवासीय क्षेत्र भएकाले अहिलेलाई व्यावसायिक चहलपहल नगर्ने निर्णय भएको छ।’

शान्ति सुरक्षाको अवस्थालाई हेरेर केही समयपछि स्थानीयको सहमतिमा खुला गर्न पनि सकिने उनले बताए।

‘गृह मन्त्रालय, सुरक्षा प्रशासन, ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डका प्रतिनिधि तथा सरोकारवालहरूको निरन्तरको छलफल तथा सहकार्यले ठमेल र दरबारमार्ग क्षेत्रको व्यवसाय रातदिन अनवरत रूपमा सञ्चालन हुन सकेको हो।

व्यवस्थित ठमेल, सुरक्षित ठमेल’को अवधारणा अनुरूप घरधनी, व्यवसायी तथा पर्यटकको शान्ति सुरक्षा व्यवस्थापन आचारसंहिता–२०८०अन्तर्गत रही ठमेल बजारक्षेत्र २४सै घन्टा सञ्चालन गरिने अध्यक्ष शर्माले बताए।

परिषद्का अध्यक्ष शर्माले भने, ‘अब ठमेल बजार जाउँ, घुमौं, रमाऔं’ भन्ने भावना वृद्धि गर्न लागि परेकाले यस पटकको कार्ययोजना हतारको होइन परिपक्व हो। आचारसंहितासहितको व्यावसायिक योजना भएकाले निश्चय नै सफल हुने उनले बताए।

शर्माका अनुसार अब पर्यटक र १८ वर्ष माथिका कुनै पनि नागरिकले ठमेलमा २४ सै घण्टा घुम्न, डुल्न, बस्न, रमाइलो गर्न र किनमेल गर्न सक्छन्। त्यस क्षेत्रमा भएका सबै व्यवसायीले पनि आफ्नो पसल तथा व्यवसाय २४ सै घण्टा खोल्न पाउनेछन्।

ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खोल्ने तयारी गरिरहँदा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ती क्षेत्रहरूमा हरक्षण सुरक्षा व्यवस्थापन गर्न त्यहाँका व्यवसायी, सम्बन्धित घरधनी, उपभोक्ता र सेवाग्राहीका बारेमा मूल्यांकन गरिरहेको बताएका थिए।

सोही क्रममा उनले सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय काठमाडौंले गर्ने हुँदा जिल्ला सुरक्षा समितिले सोहीअनुसार योजना बनाएको र कसैको पनि अधिकार हनन नहुने गरी सरोकारवालहरूसँग समन्वय गरेर काम गरिरहेको जानकारी दिए।

हाल ठमेलक्षेत्रमा आठ हजार पाँच सयको हाराहारीमा व्यवसायीहरू रहेका छन् भने करिब ६० हजारले रोजगारी पाइरहेका छन्। यस्तै दरबारमार्ग क्षेत्रमा लगभग दुई सय जना व्यवसायीले झन्डै सात हजार जनालाई रोजगारी दिइरहेका छन्।

ठमेल २४सै घण्टा खोलिरहँदा अबको ६ महिनामा साबिकको भन्दा पाँच करोड बढीको कारोबार थप हुने अनुमान परिषद्का अध्यक्ष शर्माको छ। ‘ठमेलमा अहिले दैनिक लगभग २०/२५ करोडको कारोबार हुन्छ’, उनले भने, ‘६ महिनाभित्रमा आर्थिक कारोबार बढेर ३०/३५ करोड पुग्ने आकलन गरेका छौं।’

गत कात्तिकमा ठमेल पर्यटन विकास परिषद्को पहल तथा काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सहयोगमा ठमेलमा सिसी क्यामेरा जडान गरिसकिएको छ।

यस्तै ठमेल क्षेत्रको शान्ति सुरक्षा बलियो बनाउन र ती क्षेत्रहरूलाई सफा, सुन्दर र सुरक्षित एवम् व्यवस्थित बनाउन सय वटाभन्दा बढी सिसी क्यामेरा जडान गरिसकिएको र पछिल्लो समयमा ठमेल क्षेत्रको सुरक्षा एवम् सौन्दर्यका लागि लागि चार सय सडक बत्ति पनि जडान गरिएको छ।

प्रकाशित: ३० चैत्र २०८० ०८:१६ शुक्रबार

सुरक्षा प्रशासन काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग