१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

राजस्व छल्ने सफ्टवेयर कम्पनीविरुद्ध १० अर्बको मुद्दा

राजस्व छलीको आरोपमा राजस्व अनुसन्धान विभागले एक कम्पनीविरुद्ध सवा १० अर्ब रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ। कोटिभिटी नेपाल प्रालि नामक सफ्टवेयर उत्पादन गर्ने कम्पनीले राजस्व छली गरेको भन्दै विभागले ५ अर्ब १८ करोड २२ लाख रुपैयाँ बिगो र त्यसको शतप्रतिशत  जरिवानासहित कुल १० अर्ब ३६ करोड ४५ लाख रुपैयाँ मागदाबी गर्दै आइतबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो। कोटिभिटी नेपाल प्रालि पूर्ण अमेरिकी लगानी रहेको विदेशी कम्पनी हो।

सेयर स्वामित्व परिवर्तनमा पुँजीगत लाभकर, सफ्टवेयर बिक्री गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) तथा आयकर नतिरेको पाइएको विभागले जनाएको छ। त्यसले प्रचलित कर कानुनअनुसार राजस्व चुहावट भएकाले मुद्दा दायर गरेको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बताए।

ढुंगानाका अनुसार उक्त कम्पनीले आयकर ऐन, २०५८ बमोजिमको कर, मूल्य अभिवृद्धि ऐन, २०५२ बमोजिमको कर राजस्व दाखिला गरेको छैन। यो कम्पनीले नेपालमा सफ्टवेयर उत्पादन गरेर विदेशमा बिक्री गर्ने गरेको छ। शतप्रतिशत विदेशी लगानी रहेको यो कम्पनीमा ६२० जना नेपाली कम्युटर इन्जिनियरले काम गर्दै आएका छन्। अमेरिकाको तुलनामा नेपालमा कम तलबमा इन्जिनियर पाइने भएकाले कम्पनीले नेपालमा सफ्टवेयर तयार गरेर उतै लैजाने गरेको हो।

यो कम्पनीले नेपालको कर कानुनअनुसार पुँजीगत लाभकर, मूल्य अभिवृद्धि कर (भ्याट), आयकर छलेको विभागको ठहर छ। विभागले ५ अर्ब १८ करोड २२ लाख ६१ हजार ३२१ रूपैयाँ बिगो र त्यसको दोब्बर सजायसमेत गरी कुल १० अर्ब ३६ करोड ४५ लाख रूपैयाँ मागदाबी गरेको छ। कम्पनीले सेयर स्वामित्व परिवर्तनमा कुनै जानकारी नदिई करछली गरेको विभागले जनाएको छ।

सेयरधनी दर्ता किताबअनुसार भेरिस्क इन्फर्मेसन टेक्नोलोजिज प्रालिका नाममा २०७१ पुस ६ मा सेयरधनी दर्ता किताबमा डिटु हकाई, इंक, २०७१ चैत १३ मा सेयरधनी दर्ता किताबमा भेरिस्क हेल्थ इंक, २०७२ असार ४ मा सेयरधनी दर्ता किताबमा भेरिस्क हेल्थ इन्क (सेयर वृद्धि) उल्लेख भएको, भर्सेन्ड टेक्नोलोजिज प्रालिका नाममा २०७५ जेठ ३० मा सेयरधनी दर्ता किताबमा भर्सेन्ड टेक्नोलोजिज इन्क उल्लेख भएको, कोटिभिटी नेपाल प्रालिका नाममा २०७६ भदौ २६ मा सेयरधनी दर्ता किताबमा कोटिभिटी इंक उल्लेख रहेको विभागले जनाएको छ।

विभिन्न आर्थिक वर्षमा सेयर स्वामित्व परिवर्तन भएको देखिएको भए पनि कम्पनीको सेयर स्वामित्व भएको परिवर्तनअनुसार मध्यमस्तरीय करदाता कार्यालय, कम्पनी रजिस्ट्रारको कार्यालयलाई जानकारी नै नदिई कर छली गरेको पाइएको छ। ‘कर कानुनबमोजिम बुझाउनुपर्ने राजस्व दाखिला नगरी राजस्व चुहावट गरेको पाइयो,’ महानिर्देशक ढुंगानाले भने। कम्पनीले वार्षिक करिब १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरे पनि भ्याट र आयकर पनि तिरेको छैन।

प्रचलित कानुनबमोजिमको कर दायित्व पूरा नगरी राजस्व चुहावट गर्ने उद्देश्यले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ४ को देहाय (क) र (च) बमोजिमको कसुर पुष्टि भएकाले ४१ करोड ६४ लाख १७ हजार ९६५ रुपैयाँ र राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ४ को देहाय (क), (ग) र (झ) बमोजिमको कसुर गरेको पुष्टि भएकाले ४ अर्ब ७६ करोड ५८ लाख ४३ हजार ३५५ रुपैयाँ गरी कुल बिगो ५ अर्ब १८ करोड २२ लाख रुपैयाँ बिगो र त्यसको शतप्रतिशत जरिवानासहित कुल १० अर्ब ३६ करोड ४५ लाख रुपैयाँ मागदाबी गर्दै मुद्दा दायर गरेको हो।

पुँजीगत लाभकरसहित अन्य कर पनि छलेको हो। एउटै समूहको लगानी रहेको कम्पनीले नेपालमा सफ्टवेयर उत्पादन गरेर अमेरिकामा रहेको आफ्नै कम्पनीलाई बिक्री गर्दै आएको छ।

करिब वार्षिक १ अर्ब रुपैयाँको सफ्टवेयर निर्यात गरे पनि करिब ८० प्रतिशत कर्मचारीको तलबमा खर्च देखाउने र अन्य यातायातलगायत क्षेत्रमा खर्च देखाएर मुनाफा नभएको भन्दै आयकरसमेत तिरेको छैन। त्यसैगरी वार्षिक करिब १ सय करोड रुपैयाँको सफ्टवेयर निर्यात गर्दा पनि भ्याट पनि नतिरेर छलेको विभागका अधिकारीले बताए।

‘नेपालबाट अमेरिकामा रहेको आफ्नै कम्पनीलाई सफ्टवेयर बिक्री गर्दै आइरहेको छ,’ ती अधिकारीले भने, ‘तर नेपालको प्रचलित कर कानुनअनुसार कुनै पनि कर तिरेको छैन।’

प्रकाशित: १९ चैत्र २०८० ०६:३० सोमबार

राजस्व अनुसन्धान विभाग पुँजीगत लाभकर राजस्व छलीको आरोप