२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणका लागि झर्न थाल्यो उपकरण

भैरवी गाउँपालिका –१ जलजलेमा पेट्रोलियम पदार्थ अन्तिम अन्वेषणको लागि चीनबाट आएको उपकरण तान्दै।

दैलेखको भैरवी गाउँपालिका –१ जलजलेमा हुन लागेको पेट्रोलियम पदार्थ अन्तिम अन्वेषणका लागि चीनबाट सामानहरू आउन थालेका छन्। २०७६ साल असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम ड्रिलिङ सर्वेको कामका लागि नेपालगन्ज नाका रुपैडियामा रोकिएको ठुला उपकरणहरु आउन थालेको हो।

ड्रिलिङ सर्वेको लागि ल्याइने ठुला उपकरणहरु राख्ने पाउण्डेशन तयारी भईसकेको छ। मेशिन चीनबाट कलकत्ता हुँदै अन्वेषण स्थलमा ल्याइएको हो। शनिवार साँझ उपकरण बोकेको ३ वटा ट्रक दैलेख आएसँगै काम गर्न ३ सिफ्टमा विभाजन भएर गर्न थालिएको जनाइएको छ।

अन्वेषण परियोजनाका अनुसार २४ घण्टा नै ३ सिफ्टमा काम गर्ने गरी व्यवस्थापन गरिएको जनाइएको छ। २४ घण्टा काम गर्ने कार्य योजना भएपछि सशस्त्र प्रहरी बलले सुरक्षा दिने गरी सुरक्षा व्यवस्था मिलाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए। चीनबाट सामानहरू आउन थालिसकेका छन्। प्रमुख जिल्ला अधिकारीले भने, कामहरू दिनरात नभनेर गर्ने कार्य योजना अनुसार सशस्त्र प्रहरीलाई सुरक्षा जिम्मेवारी दिएका छौँ। तत्कालका लागि चिनियो टोलीसँगै स्थानीय १२ जनालाई अन्वेषणले रोजगारी दिएको छ। काम अघि बढेसँगै स्थानीयहरूलाई बढी रोजगारी दिइने परियोजनाले जनाएको छ।

अब हुने अन्तिम अन्वेषण भएकाले दैलेखमा कति क्षमता (भण्डारण) को पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउनुका साथै गहिराई पनि मापन हुने जनाइएको छ। परिणाम कति छ? कहाँ कहाँसम्म फैलिएको छ? उत्खननका लागि खर्च र फाइँदाबारे भने अन्तिम अन्वेषण ड्रिलिङ गर्ने कार्यपछि थाहा हुने भूगर्भ विभागका पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेश नापितले बताए। ‘ड्रिलिङ हुने स्थानमा फाउन्डेसन लगायत सबै तयारी पुरा भएको छ’ पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेश नापितले भने, मेशिन झन थालेसँगै ड्रिलिङ गर्न सुरु हुन्छ।’ उनका अनुसार ड्रिलिङ भएको ४ देखि ५ महिनाभित्र अन्वेषणको काम सकिने छ।

अन्वेषणका लागि आवश्यक पर्ने ठुला उपकरण सुर्खेतदेखि दैलेख ल्याउन कर्णाली राजमार्ग हुँदै साँगेतडा बजारबाट चामुण्डाविन्दासैनी नगरपालिकाबाट पुष्पलाल (मध्यपहाडी) राजमार्ग हुँदै ड्रिलिङ सर्वे हुने स्थान भैरवी गाउँपालिकाको जलजलेसम्म ल्याइएको छ। सडक डिभिजन सुर्खेत मार्फत सडकको मोडहरू फराकिलो पार्न ४ करोड ३६ लाखमा ठेक्का सम्झौता गरी ठाउँठाउँमा सडकका मोडहरू चौडा बनाइएको छ। १५ मिटर लम्बाइ र ४० देखि ४५ टनको ठुलो ड्रिलिङ मेशिन ल्याउन सडक साँगुरो भएको हो।

नेपाली र चीनको प्राविधिक टोलीले पहिलो चरणअन्तर्गतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी ४ वटा सर्भेका काम भईसकेको छ। यसअघि टोलीले पहिलो चरण सम्भाव्यता अध्ययन र दोस्रो चरणमा ड्रिल मेसिनमार्फत अन्वेषण सकिसकेको छ। दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषणका लागि खानी तथा भूगर्भ विभाग र चिनियाँ जिओलोजिकल सर्वे कम्पनीसँग २ अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगमा खानी अन्वेषण र उत्खननको काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। सरकारले भैरवी गाउँपालिका–१ जलजलेका २७ घरपरिवारको ४५ रोपनी जग्गाको मुआब्जा विवाद समाधान भएसँगै सरकारले प्रतिरोपनी १ लाख ७५ हजार रुपैयाँका दरले मुआब्जा दिएर अधिग्रहण गरिसकेको हो।

प्रकाशित: १८ चैत्र २०८० १६:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App