१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

चाैबिसै घण्टा खुल्दै छ ठमेल र दरबारमार्ग

फाइल तस्वीर

नववर्ष २०८१ को वैशाख १ गते अघि नै ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सै घण्टा खुल्ने भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले नयाँ वर्षभन्दा अगाडि नै ठमेल र दरबारमार्ग क्षेत्र खुला गर्ने तयारी भइरहेको बताए।

‘ढिलोमा नयाँ वर्ष सुरु हुनुअघि नै खुला हुन्छ।’ बस्नेतले भने, ‘सुरक्षा व्यवस्थापन गर्न त्यहाँका व्यवसायी, सम्बन्धित घरधनी, उपभोक्ता र सेवाग्राहीका बारेमा मूल्यांकन गरिरहेका छौं।’ सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यलय (काठमाडौं) ले गर्ने र जिल्ला सुरक्षा समितिले सोहीअनुसार योजना बनाउने अन्तरिक तयारी सुरु भइसकेको हुँदा कसैको पनि अधिकार हनन नहुने गरी सरोकारवालहरूसँग समन्वय गरेर काम गरिने उनले बताए।

सुरक्षाको पूर्ण प्रत्याभूति गरेर नै बजार खुला हुने उनले बताए। प्रारम्भिक चरणमा ठमेल र दरबारमार्गको बजारलाई मूल्यांकन गरिने र सोही बजारको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४ सै घण्टा सञ्चालन गर्ने उनले बताए। उनले भने, ‘बजार खुलेपछि आउने समस्या, जानकारी र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्छाैं।’

ठमेलको रात्रिकालीन व्यवसाय रातभर खोल्ने योजना पटकपटक बनेको भए पनि सफल भएको थिएन। पहिला ठमेलको कुनै पनि व्यवसाय खोल्ने अवधारणा बनाइरहँदा आचारसंहितासँगै कार्ययोजना आएको थिएन तर यसपटक भने आचारसंहितासहित योजनाबद्ध रूपमा मस्यौदा ल्याइएको हो। ‘घरधनी, व्यवसायी, पिटिसी, सबै बारे क्राइटेरिया बनाएका छौं’, उनले भने, ‘कानुनले निर्दिष्ट गरेको नीति तथा व्यवस्था अनुरूप व्यवस्थित र मर्यादित रूपमा ठमेल बजार चलायमान बनाउने हो।’

ठमेल र दरबारमार्ग क्षेत्रमा अहिले पनि मनोरञ्जनात्मक रात्रीकालीन व्यवसायहरू चलिरहेका छन्। डिस्को, क्लब, डान्सबार जस्ता मनोरञ्जनात्मक रात्रीकालीन व्यवसायहरू चलेका छन्। बजार  २४ सै घण्टा खुल्ने भएपछि निश्चित व्यवसाय मात्र नभएर बजारमा भएका सबै सेवाग्राही व्यवसाय चल्ने वातावरण सिर्जना हुनेछ।

बजार २४ सै घण्टा खुला गर्दा सुरक्षा चुनौतीहरू आउन सक्छन् त्यसका लागि सुरक्षा व्यवस्थापनको तयारी कडासाथ भइरहेको बस्नेतले बताए। ‘आपराधिक घटना बढ्न सक्छ, हामी सुरक्षाको पूर्ण तयारीमा छौं।’ उनले भने, ‘सुरक्षाको लागि सम्बन्धित सबै पक्षको मूल्यांकन हुँदैछ।’

यसै क्रममा गत कात्तिकमा ठमेल पर्यटन विकास परिषद्को पहल तथा काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सहयोगमा ठमेलमा सिसी क्यामरा जडान गरिएको थियो। ठमेल क्षेत्रको शान्ति सुरक्षा बलियो बनाउन र उक्त क्षेत्रलाई सफा, सुन्दर र सुरक्षित एवम् व्यवस्थित बनाउन सय वटाभन्दा बढी सिसी क्यामरा जडान गरिएको थियो। पछिल्लो समयमा ठमेल क्षेत्रको सुरक्षा एवम् सौन्दर्यका लागि लागि चार सय सडक बत्ति पनि जडान गरिसकेको छ।

यस्तै ठमेलको बाटो स्तरोन्नतिका लागि मर्मत सम्भार तथा सौन्दर्यकरण भएको छ। साथै ठमेलका गल्ली पहिचान सहजको लागि नम्बरहरू पनि राखिसकिएको छ ‘ठमेललाई नमुना पर्यटकीय नगरी बनाउनुपर्ने माग गर्दै आइरहेका ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले नयाँ वर्ष अगाडि नै ठमेल सधैं खुला छ भन्ने बनाउन लागिएको बताए।

‘व्यवस्थित ठमेल, सुरक्षित ठमेल’को अवधारणा अनुरूप ‘घरधनी, व्यवसायी तथा पर्यटकको शान्ति सुरक्षा व्यवस्थापन आचारसंहिता-२०८०’ सहित अगाडि बढेको ठमेल सधैं खुला छ भन्ने बेला आइसकेको उनले बताए। ‘गृह मन्त्रालय, सुरक्षा प्रशासन, परिषद्का प्रतिनिधि तथा सरोकारवालहरूको निरन्तरको कडा मेहनतले गर्दा अन्तिम चरणमा पुगेका छौं।’ उनले भने, ‘नयाँ वर्ष अगावै ठमेल सधैं खुला हुने घोषणा गर्छाैं।’

परिषद्का अध्यक्ष शर्माले ‘ठमेल बजार जाउँ, घुमौं, रमाऔं’ भन्ने भावना वृद्धि गर्न लागि परेकोमा यस पटकको कार्ययोजना हतारको निर्णय नभएर आचारसंहितासहितको व्यावसायिक भएकाले नयाँ वर्ष अगावै परिणाम आउने बताए।

शर्माले भने, ‘हतारमा निर्णय गरेर ठमेल सधैं खोल्ने योजना गरिरहेका छैनौं, यसको लागि कानुनसम्मत, व्यवस्थित र व्यावहारिक योजना अनुसार काम गरेका छौं।’ यसपछि पर्यटक र १८ वर्ष माथिका कुनै पनि नागरिकले ठमेलमा २४ सै घण्टा घुम्न, डुल्न, बस्न, रमाइलो गर्न र किनमेल गर्न सक्ने उनले बताए। ठमेललाई २४ सै घण्टा चलायमान बनाउन सडक महोत्सव, विभिन्न सांस्कृतिक कार्यक्रम जस्ता योजनाहरू पनि क्रमिक रूपमा ल्याइने शर्माले बताए।

प्रकाशित: ९ चैत्र २०८० ०९:०३ शुक्रबार

ठमेल र दरबारमार्ग अब २४ सै घण्टा खुल्ने सुरक्षा व्यवस्थापन