१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

अनुदान दिएर ठगी नगरेको सहकारीको दाबी

मोरङ जहदा गाउँपालिका ७ स्थित श्री प्रकाश बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरूलाई अनुदानमा दिएको पाठा–पाठीको चर्को व्याज असुलेको आरोप सत्य नभएको दाबी गरेको छ।

बुधबार  विराटनगरमा पत्रकार सम्मेलन गरी सहकारी संस्थाले संस्थाका सदस्यलाई अनुदानमा पाठापाठी दिएर चर्को ऋण नअसुलेको दाबी गरेको हो।

विदेशी संस्थाले अनुदानमा दिएको बाख्रा र सुँगुरका पाठा–पाठीको सहकारीले चर्को ब्याज असुलेको सहकारीका सदस्यहरूले लगाएको आरोप सत्य नभएको सहकारीकी अध्यक्ष एलिजावेथ हेमरनले दाबी गरिन्। सदस्यहरूलाई वितरण गरेको बाख्रा र सुँगुरका पाठा–पाठी पूर्ण अनुदानमा नभई  २५ प्रतिशत अनुदान र ७५ प्रतिशत ऋणमा दिएका कारण सोही ऋणबापत रकम मागेको संस्थाकी अध्यक्ष हेमरनले बताइन्।

‘सहकारीका सदस्यहरूलाई पूर्ण अनुदानमा नभई ७५ प्रतिशत ऋणमा बाख्रा र सुँगुरका पाठा–पाठी वितरण गरिएको थियो’ हेमरनले भनिन्, ‘उक्त रकम नतिर्नेहरूसँग ऋणबापतको रकमको साउँ व्याजसहित मागेका हौँ।’ अध्यक्ष हेमरनले सहकारी संस्थाले बचतकर्ता सदस्यहरूको बचत रकमको हिसाब नदिएको आरोपको पनि खण्डन गरिन्। उनले बचतकर्ताले बचत गरेको र शेयर सदस्यहरूले शेयर लिएको सबै विवरण आफूहरूसँग भएको दाबी गरिन्। विगतको बचत समूह नै सहकारीमा रुपान्तरण भएका कारण पहिलेको ऋण र बचत सबै रकमको दायित्व सहकारीमा सरेकाले सहकारीसँग सबै हिसाब चुस्त रहेको हेमरनले स्पष्ट पारिन्।

बचत समूह स्थापना गर्ने संस्था दलित जनकल्याण डनवोस्कोका तत्कालीन सुपरभाइजर राम मुर्मुले बाख्रा वितरण गरेको समयमा फादरले नै अनुदानमा नभई ७५ प्रतिशत ऋणमा बाख्रा र सुँगुरका पाठा–पाठी वितरण गरेको दाबी गरे। उनले दोस्रो चरणको कार्यक्रममा  २५ प्रतिशत अनुदान दिने,  ६ महिनाको  व्याज मिन्हा गर्ने र १८ महिनाको १८ किस्तामा ७५ प्रतिशत रकम फिर्ता गर्नुपर्ने सर्तमा पाठा–पाठी दिएको बताए। यता पीडितहरूले फागुन २७ गते विराटनगरमै पत्रकार सम्मेलन गरी बचत समूह सहकारीमा परिणत भएपछि त्यतिवेला अनुदानमा बाँडेको पाठा पाठीको मनोमानी रकम असुली गर्न थालेको गुनासो गरेका थिए।

२०५८ सालमा विपन्न वर्गको उत्थानका लागि गाउँ छिरेको दलित जनकल्याण डनवोस्को  नामक गैरसरकारी संस्थाले तत्कालीन मझारे गाउँपालिकामा समूह स्थापना गरी अनुदानमा बाख्रा र सुँगुरको पाठा–पाठी वितरण गरे पनि यतिबेला चर्को ब्याज जोडेर महँगो मूल्य असुली रहेको उनीहरूको गुनासो छ। उनीहरूका अनुसार  २०५८ सालमा गाउँमा स्थापना गरिएको स्वयम बचत समूह डनवस्को मझारेले विदेशी संस्थाबाट आएको भन्दै अनुदानमा स्थानीयलाई  बाख्रा र सुँगुरको पाठा–पाठी वितरण गरेको थियो। पछि उक्त बचत समूह श्री प्रकाश बचत तथा ऋण सहकारी संस्थामा परिणत भएको थियो।

बचत समूह सहकारीमा परिणत भएपछि अनुदानलाई समेत ऋण बनाएर चर्को मूल्य असुली रहेको पीडितहरूको आरोप थियो। उनीहरूले विदेशी संस्थाले अनुदानमा दिएको पाठा–पाठीको सहकारीले चर्को व्याज जोडेर प्रति गोटा २० हजार देखि ३० हजार रुपैयाँसम्म मागिरहेको बताएका थिए। विदेशी संस्थाले दिएको अनुदानलाई ऋणमा बदलेर सहकारीले  मनोमानी रकम असुलेर पीडित बनाएको भन्दै उनीहरूले न्यायका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए। 

प्रकाशित: ७ चैत्र २०८० १९:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App