१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पर्यटकमाथि शुल्कको भार थोपर्दै गाउँपालिका

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले पर्यटकसँग प्रवेश शुल्कका नाममा पर्यटन शुल्क उठाउने भएको छ।

गाउँपालिकाले एक सूचना निकालेर चैत १ गतेदेखि पर्यटकसँग पर्यटन शुल्क उठाउने जनाएको हो। योसँगै अब पर्यटकले तेहेरो शुल्क तिर्नुपर्ने भएको छ।

यसअघि नेपाल सरकारले ट्रेकिङ ईन्फर्मेसन म्यानेजमेन्ट सिस्टम (टिम्स) बापत २ हजार र अन्नपूर्ण कन्जर्भेसन एरिया प्रोजेक्ट (एक्याप)ले आफ्नो क्षेत्रमा प्रवेश गरेबापत छुट्टै ३ हजार शुल्क उठाउने गरेको छ। दुवै गरेर पर्यटकले हालसम्म प्रति व्यक्ति ५ हजार तिर्दै आएका छन्।

तर गाउँपालिकाले अबदेखि छुट्टै पर्यटन शुल्क उठाउने भएपछि पर्यटकले तेहेरो शुल्क तिर्नुपर्ने भएको छ। गाउँपालिकाले विदेशी पर्यटकसँग प्रति व्यक्ति ५ सय र स्वदेशी पर्यटकसँग १ सय रुपैयाँ पर्यटन शुल्क उठाउने निर्णय गरेको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए।

पर्यटकको डाटा संकलन र सेवाबापत प्रवेश शुल्क लिन लागिएको उनको भनाई छ। हामीले स्थानीय सरकार सञ्चालन ऐन, नेपालको संविधान, कानून र नियमावलीमा टेकेर पर्यटकसँग शुल्क लिने निर्णय गरेका हौं,उनले भने,‘उठाएको शुल्कपनि पर्यटकीय क्षेत्रहरुकै संरक्षण, सम्वद्र्धन, बाटो, खानेपानीलगायतका कामहरु गर्दा खर्च गर्छौँ।’ निर्णय भएपनि कार्यान्वयनमा नआइसकेको उनले जानकारी दिए।

पर्यटन शुल्क उठाउने निर्णय गरेको माछापुच्छ्रे गाउँपालिका एक्याप अन्तर्गतकै क्षेत्रमा पर्दछ। एक्यापले सो क्षेत्रमा प्रवेश शुल्क भनेर पर्यटन शुल्क उठाइरहेकै छ। एक्यापले प्रवेश शुल्क उठाइरहेका बेला सोही क्षेत्रमा पर्ने गाउँपालिकाले पनि छुट्टै प्रवेश शुल्क उठाएपछि एउटै शीर्षकमा पर्यटकले भने दोहोरो शुल्क तिर्नुपर्ने भएको छ। एक्यापले उठाएको शुल्कमा गण्डकी प्रदेश सरकार र पालिकाहरूले दाबी गर्दै आएका छन्। तर संघ सरकारले यसमा सहमति जनाएको छैन।

पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा भइरहँदा भएको प्रवेश शुल्कका नाममा पर्यटन शुल्क लिने निर्णयले नकारात्मक सन्देश दिएको छ। यसले पर्यटनमा सकारात्मक सन्देश गइरहेका बेला नकारात्मक असर गर्ने विश्लेषण गरिएको छ।

पर्यटन व्यवसायीहरुलेपनि पर्यटकलाई तेहेरो शुल्क लिँदा बामे सर्न लागेको पर्यटन क्षेत्र ध्वस्त हुने भन्दै चिन्ता व्यक्त गरेका छन्। यस्तो निर्णयले बौरिन लागेको पर्यटन क्षेत्रमा नकारात्मक असर गर्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए।

‘पर्यटनको राजधानी घोषणा गरेर हामी बढी भन्दा बढी पर्यटक बोलाउने प्रयासमा छौं, उनले भने, ‘तर यस्तो यसरी सबै पालिकाले पालैपालो पर्यटन शुल्क लिन थाल्ने हो भने यसको असर नकारात्मक पर्छ।’ उनले पर्यटनलाई चलायमान बनाउन र पर्यटकलाई बोलाउने वातावरण बनाउन उक्त निर्णय तुरुन्त खारेज गर्न आग्रह गरे।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद आचार्यले गाउँपालिकाले लिने भनिएको शुल्क तुरुन्त फिर्ता लिन माग गरे। कोरोना कालपछि भर्खर त बामे सर्दैछ पर्यटन क्षेत्र,उनले भने,‘यसरी तेहेरो शुल्क लिने हो भने बामे सर्दै गरेको पर्यटन क्षेत्रले मार खान्छ। त्यसैले यो तत्काल खारेज गर्नुपर्छ।’

प्रकाशित: ७ चैत्र २०८० १४:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App