१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

‘स्प्रिङ सिजन’मै निराश भैरहवा र लुम्बिनीका व्यवसायी

मार्च, अप्रिल र मे महिनामा पर्ने को सुरुमा हिमाली क्षेत्रमा घुमफिर गर्ने पर्यटकहरूको आगमन क्रमशः बढिरहँदा भैरहवा र लुम्बिनीका पर्यटन व्यवसायीहरू भने त्यति उत्साहित देखिँदैनन्।

पछिल्लो समय भैरहवामा विदेशी पर्यटकलाई लक्ष्य गरेर धमाधम होटल निमार्ण भएका छन् तर यहाँका होटल व्यवसायमा अपेक्षा गरेअनुसार पर्यटक नआउँदा संकट बढ्न थालेको लुम्बिनीका होटल सञ्चालक रविन्द्र शर्माले बताए।

उनले सरकारले विदेशी पर्यटकलाई नेपाल भित्र्याउन प्रभावकारी काम गर्न नसकेका कारण पर्यटक नआएको आरोप लगाए।

हिमाली भेगका होटलहरूमा अहिले पर्यटकको आगमन राम्रो हुँदै गर्दा तराइको रूपन्देही र लुम्बिनीमा भने अपेक्षा अनुरूप विदेशी पर्यटक आएका छैनन्। विदेशी पर्यटक अपेक्षा गरे अनुरूपमा नआउँदा त्यहाँका पर्यटन व्यवसायी मारमा परेका हुन्।

‘हामीसँग विश्वमै परिचित बुद्धभूमि लुम्बिनी छ, सँगै चितवन राष्ट्रिय निकुञ्ज पनि छ, नभएको त पर्यटक मात्र हो’, शर्मा भन्छन्, ‘अरू मुलुकमा पर्यटकीय स्थान नहुदाँ त पछि बनाएर प्रचारप्रसार गरेर असंख्य पर्यटक मुलुकमा भिœयाइरहेका छन् तर हामीकहाँ त प्राकृतिक रूपमै रहेका पर्यटकीय स्थलहरूको उचित प्रचारप्रसार र व्यवस्थित कार्ययोजना ल्याउन नसक्दा व्यवसायबाट पलायन हुनुपर्ने अवस्थामा छ।’

पर्यटकले सानो क्षेत्रफलमा असीमित कुराहरूको अनुभव बटुल्ने क्षमता मुलुकमा विद्यमान रहँदा पनि विदेशी पर्यटक ल्याउन नसकेकाले व्यवसायीहरू चिन्तित भएका छन्। धार्मिक स्थल, वनजंगल, खोलानाला, चराचुरूंगी, बोटविरूवा, जनावर सबै हेर्न पाइने लुम्बिनी र चितवनमा पर्यटनको लागि पर्याप्त सम्भावना भएको सहर हो।

लुम्बिनी मन्दिर परिसरभित्रै विदेशी पर्यटकलाई बस्न दिने व्यवस्था गरिएकाले बाहिर सञ्चालन गरिएका होटलहरू मारमा परेको व्यवसायीहरूले बारम्बार बताउँदै आएका छन्।

मन्दिर क्षेत्रभित्र विभिन्न मुलुकले धर्मशालाको रूपमा निश्चित संख्यामा आफ्ना देशका नागरिकलाई बस्न पाउने व्यवस्था गरेका छन्। लुम्बिनी मन्दिर परिसरभित्रको थाइल्यान्ड, भियतनाम, कम्बोडिया र भारत लगायतका मठहरूमा धार्मिक पर्यटकहरू बस्ने गरेकाले पनि बाहिर भएका होटलहरू थप मारमा परेको व्यवसायीहरू बताउँछन्।

अहिले होटलको अकुपेन्सी १० प्रतिशत जति मात्र भएको लुम्बिनीका होटल व्यवसायीहरू बताउँछन्। ‘देशलाई रोजगार दिउँ, युवा जनशक्तिलाई देशमै बस्ने वातावरण सिर्जना गरौं भन्नु अपराध भएको छ’, व्यवसायी शर्माले भने।

यस्तै चितवनमा पनि पर्यटकीय सिजन सुरू हुँदै गर्दा कुल ४० प्रतिशत जति होटल अकुपेन्सी भइरहँदा १०/१५ प्रतिशत मात्र विदेशी पर्यटकको अकुपेन्सी रहेको व्यवसायीहरू बताउँछन्।

आन्तरिक पर्यटक नभएको अवस्थामा चितवनमा पर्यटन क्षेत्रको व्यवसाय संकटमा पुगेको पर्यटन व्यवसायी सुमन घिमिरेले बताए। ‘पछिल्लो समय आन्तरिक पर्यटक नआउने हो भने तराइका पर्यटन व्यवसायीलाई व्यवसाय धान्न धेरै गाह्रो छ’, घिमिरेले भने, ‘व्यवसायीले अपेक्षा गरे अनुरूप विदेशी पर्यटक  आएकै छैन्।’

पर्यटकलाई पर्याप्त सेवा सुविधासहितको व्यवस्था चाहिन्छ। आर्कषक सेवा सुविधासहितको व्यवस्था गर्नुपर्दा पर्यटन व्यवसायमा अर्बौ लगानी गर्नुपर्ने हुन्छ।

 विदेशी पर्यटक भिœयाउन सरकारले जति सरकारी कार्ययोजना बनाएर काम गर्नुपर्ने हो त्यो नगरेको कारण नै पर्यटनको पर्याप्त सम्भावना हुँदा पनि मुलुकमा पर्यटक भित्रिन नसकेको व्यवसायीको तर्क छ। यसले व्यवसायीहरू विस्थापित हुनुपर्ने अवस्था आएको उनीहरूको गुनासो छ।

यस्तै भारतबाट आउने धार्मिक पर्यटकहरू आफ्नै नाइटबसमा आउने गरेका छन्। सोही बसमै उनीहरूले आफूलाई चाहिने खाने, बस्ने सबै सामानहरू बोकेर आउने गरेका छन्। उनीहरू खुला चौर, सडकपेटी, पेट्रोलपम्प जस्ता ठाउँमै खाना पकाउने र खुला चैर तथा बसमै सुत्ने भएकाले उनीहरूले मुलुकको पर्यटनमा कुनै योगदान नगर्ने व्यवसायीहरू बताउँछन्।

व्यवसायी शर्माले भने, ‘नेपालमा तिर्थालु पर्यटक भनेर भन्सारमा पनि सबै समान छिराउन दिन्छ’, उनले भने, ‘त्यस्ता पर्यटकले न व्यवसायलाई सहयोग गर्छ न त मुलुकमा केही योगदान हुन्छ। यस्तो कुरा गरियो भने फेरि राज्य विरोधी भइन्छ।

पर्यटकीय याम सुरु हुँदै गर्दा उच्च पहाडी क्षेत्रमा भने विदेशी पर्यटकको आगमन सुध्रिएको छ। खुम्बु गाउँपालिकाका कर्मचारी पेम्बाछिरी शेर्पाका अनुसार सिजनको सुरुमै दैनिक दुई सयभन्दा बढी विदेशी पर्यटक खुम्बु क्षेत्र आगमन गरिरहेको बताए। उनका अनुसार चाइना र जापानबाट धेरै पर्यटक खुम्बु क्षेत्र भित्रिरहेको बताए।

यस्तै अन्नपूर्ण आधार शिविरमा पनि दैनिक सयभन्दा बढी विदेशी पर्यटक भित्रिरहेको छोमरूङस्थित रहेको एक्यापका इन्चार्ज नेत्र शर्माले बताए। उनले गत आर्थिक वर्षमा सन् २०२२ को तुलनामा ८१ प्रतिशत विदेशी पर्यटकको आगमनमा वृद्धि भएको बताउँदै यस वर्ष पनि पर्यटक वृद्धि हुने अपेक्षा गर्न सकिने बताए।

 उनका अनुसार सन् २०२२ मा १३ हजार चार सय पर्यटक अन्नपूर्ण आधार शिविरको भ्रमण गरेका थिए भने गत वर्ष २४ हजार तीन सय जना विदेशी पर्यटक आएका थिए।

प्रकाशित: ४ चैत्र २०८० ०७:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App