२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

आफुखुसी पदयात्रा जोखिमपूर्ण

माछापुच्छ्रे मोडल ट्रेकको पदयात्रामा रहेका विदेशी। तस्बिरः नागरिक

मर्दी हिमाल पदयात्राका क्रममा पुस दोश्रो सातादेखि सम्पर्कविहीन स्वीडेनका नागरिक माइकेल लीउ ब्लमबर्ग अझै फेला परेका छैनन्। सम्पर्कविहीन भएका ती पर्यटकको हवाई र स्थलमार्गबाट खोजी गरिएको थियो। तर, उनीबारे कुनै संकेत समेत फेला नपरेको प्रहरीको भनाई छ।  

त्यस्तै पदयात्रामा गएकी एकजना जर्मन युवतीको गत शनिबार बेलुकी भीरबाट खसेर मृत्यु भयो। कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ मिर्सामा भीरबाट खसेकी २१ वर्षिया पीया जोसको ज्यान गएको थियो। शनिबार बेलुकी भीरबाट खसेकी उनी आइतबार बिहान रुखमा अड्किएको अवस्थामा फेला परेकी थिईन। उद्धार गरेर अस्पताल ल्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

आफु जाने गन्तव्यबारे जानकारी नलिई घुमघाम गर्दा पर्यटनमा पुगेको क्षतिका यी केही उदाहरण हुन्। विदेशी पर्यटकहरुले आफु जाने गन्तव्यबारे जानकारी नलिई निस्फिक्रि घुमफीर गर्दा बेलाबेला यस्ता घटना हुने गरेका छन। यसले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश प्रवाह हुने पर्यटन व्यावसायीको चिन्ता छ।

प्रहरीका अनुसार मर्दी हिमाल आधारशिविर उक्लने गरि पुस १४ गते एकाबिहानै हाइक्याम्पस्थित होटलबाट निस्केका स्वीडेनका २० वर्षिय ब्लमबर्ग त्यसपछि कतैपनि सम्पर्कमा आएनन। होटलमा सामान राखेर निस्केका ती पर्यटक नफर्केको प्रहरीले बताएको छ। सम्पर्कविहीन पर्यटकको खोजीमा प्रहरी, स्थानीय होटल व्यावसायी र गाउँपालिकाका पदाधिकारी जुटेका थिए।  

‘मर्दीमा हराएका ती पर्यटक हिडेको बाटो निकै नै जोखिमयुक्त थियो। त्यो बेला हिउँ पनि परेको थियो,’ पर्यटक प्रहरी निरिक्षक जगदीश रेग्मीले भने, ‘मर्दी क्षेत्रको खोजी निकै नै जटिलपूर्ण पनि थियो। त्यस्तो बाटोमा हामीलाई त हिड्न सकस हुन्छ, विदेशी झनै कसरी पो हिड्नु।’ रेग्मीका अनुसार मर्दी बेसक्याम्प जाने भनेर उनी बिहानै ४ बजे नै होटलबाट एक्लै निस्केका थिए।  

‘मर्दीमा हराएका पर्यटक एकाबिहानै ४ बजे होटलबाट निस्केका थिए। त्यो समयको हिडाई जो कोहीका लागि पनि चूनौतीपूर्ण हुन्छ,’ उनले भने, ‘मध्य चिसो मौसममा एक्लै पदयात्रामा जानु जोखिम मोल्नु नै थियो।’ त्यसबाहेक शनिबारको घटनामा पनि पर्यटकले गन्तव्यबारे आवश्यक जानकारी नलिइ घुमघामका लागि जाँदा आइपरेको अप्ठेरो रहेको उनले बताए। कहाँ भीर र कहाँ खोला, कान्लो छ भनेर थाहा नपाई हिडडुल गर्दा समस्या पर्ने उनले बताए।  

‘पदयात्रामा जाँदा सकेसम्म गाईड लैजानु राम्रो हो। गाइड अनिवार्य नभएको ठाउँमा जानैपर्ने अवस्थामा पनि त्यहाँको भौगोलिक कठिनताबारे बुझेर जाने हो भने यस्ता घटना कम हुन्छन,’ रेग्मीले भने, ‘पर्यटक स्वयंले आफ्ना लागि आफै जोखिम मोल्ने गरेका छन। यसलाई कडाई नहुने हो भने आगामि दिनमा घटना दोहोरिन सक्छन्।’ संरक्षण क्षेत्रभित्र मात्र गाइड अनिवार्य भनिएपनि अन्यत्र जाँदा पर्यटक आफैले वेवास्ता गर्ने गरेको उनले बताए।  

‘योजना बनाएर जाने हो भने मानवीय क्षति रोक्न सकिन्छ। यसमा व्यावसायी पनि चनाखो हुनुपर्छ,’ उनले भने, ‘पर्यटकलाई पनि सचेत गराउन जरुरी छ। कडाई गर्न नसकेकैले यो अवस्था आएको हो। घुम्न जाने भनेर गन्तव्य, त्यहाँको भौगोलिक अवस्थाबारे नबुझि हिड्दा जोखिम निम्तिने गरेको छ।’ शनिबार मीर्सामा भएको घटनामा पर्यटक आफैले हेलचेक्रयाँइ गरेको देखिने उनले बताए।  

पर्यटन बोर्डले एकवर्ष अघि नै ‘फ्रि इन्डिभिजुअल ट्रेकर (एफआईटी)’ बन्द गरेको थियो। त्यो व्यवस्था लागु भएसँगै नेपालमा विदेशी पर्यटकले अनिवार्य रुपमा ट्रेकिङ कम्पनीमार्फत गाइड लिएर मात्र पदयात्रामा निस्कनुपर्ने बाध्यता थियो। तर, कतिपय पर्यटक एक्लै पदयात्रामा जाने गरेका छन। लगेका गाइडलाइ पनि बिचबाटै फिर्ता पठाउने गरेका छन। संरक्षण क्षेत्रभित्रैका लागि गाइड अनिवार्य भनिएपनि कतिपयले गाइड लैजान हिच्किचाउने गरेका छ । संरक्षण क्षेत्रबाहिरको क्षेत्रमा त झनै मनलाग्दी तरिकाले पर्यटक जाने गर्छन।  

‘गाइड अनिवार्य भन्दा पनि आफुजाने ठाउँको बारेमा पर्याप्त जानकारी लिएर जाँदा मानवीय क्षति हुने थिएन,’ पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थी भन्छन, ‘सबैठाउँमा गाइड अनिवार्य त होईन । संरक्षण क्षेत्रबाहिर गाइड जरुरी पनि छैन। तर, गाइड चाहिँदैन भन्दैमा आफुखुसी हिड्नु राम्रो होइन।’

अपरिचित गन्तव्यमा जाँदा जो कोहीले पनि गाइड लिएर जाँदा पदयात्रा सुरक्षित हुने उनले बताए। पन्थीका अनुसार पदयात्रा जाँदा कुन ठाउँमा जोखिम हुन सक्छ भनेर पर्यटकले बुझेर जाँदा पदयात्रा सुरक्षित बन्छ। ‘मर्दी जस्तो पदयात्रामा एकाबिहानै एक्लै हिड्नु जोखिम मोल्नु नै हो,’ मर्दीमा बेपत्ता भएका पर्यटकबारे पन्थीले भने, ‘पदयात्रा आफैमा साहसिक हुने भएकोले त्यस्तो ठाउँमा जाँदा विशेष होसियारी अपनाउनुपर्छ।’ 

उनले पदयात्रा क्षेत्रमा बारम्बार पर्यटकहरु समस्यामा पर्ने गरेको बताए। ‘कतिपय त हराएको हरायैं नै हुनसक्छन। यसअघि पनि बेलाबेला पर्यटकले ज्यानै गुमाउनु परेको थियो,’ उनले भने, ‘पर्यटक आफु सचेत नभएसम्म यस्ता समस्या दोहारिन सक्छन। व्यावसायीले पर्यटकलाई सचेत गराउने काम गरिरहेका नै छन्।’ 

प्रकाशित: १४ फाल्गुन २०८० १८:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App