१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

पर्यटक बढ्ने आसमा धमाधम होटल निर्माण

पर्यटक आगमन बढ्ने आसमा व्यवसायीले होटलमा धमाधम लगानी गरिरहेका छन्। व्यवसायीहरू सुविधा सम्पन्न तारे र बुटिक होटलहरूको सञ्चालन तथा निर्माण गरिरहेका छन्।

कोभिड  महामारी अगाडिसम्म १० लाख पर्यटकलाई सेवा सुविधा उपलब्ध गराउने क्षमता रहेकोमा अहिले वार्षिक करिब ३५ लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमताका होटल निर्माण भएको व्यवसायीहरू बताउँछन्।

होटल क्षेत्रमा भविष्य सुनिश्चित देखेर नै व्यवसायीहरूले लगानी गरिरहेको होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाहले बताए। नेपालमा ‘नेपालको होटल क्षेत्रको भविष्य एकदमै राम्रो छ’, उनले भने, ‘पछिल्लो समय धमाधम बनिरहेका तारे होटलहरूमा भइरहेको अर्बौंको लगानी व्यावसायिक योजनासहित भविष्य विचार गरेरै निर्माण भइरहेका छन्।’

पर्यटन विभागको तथ्यांक अनुसार हालसम्म २० वटा पाँच तारे होटलहरू विभागमा दर्ता भएका छन्। जसमा फुलबारी होटल बन्द रहेको र एभरेष्ट होटलको वातावरणीय प्रभाव मूल्यांकन अन्तिम चरणमा पुगेको होटल विभागका शाखा अधिकृत चुनबहादुर तामाङले बताए। उनले २० वटामध्ये चार वटा पाँच तारे होटलले नवीकरण नगरेको बताए।

होटल निर्माणको क्रमले समग्रमा नेपालको पर्यटनको अपार सम्भावनालाई दर्शाउँछ। क्षेत्रफलको हिसाबले विश्वमा सानो मुुलुक भए पनि पर्यटनको दृष्टिबाट अथाह सम्भावना बोकेको नेपालको पर्यटनमा भौतिक पूर्वाधारहरूको विकासले पनि पर्यटनको सबल अवस्थालाई चित्रण गर्छ।

पर्यटक भित्र्याउन हवाई सम्पर्क विस्तार गर्नु आवश्यक छ। अन्तर्राष्ट्रिय हवाई सम्पर्क जति धेरै विस्तार गर्न सकिन्छ त्यति नै धेरै पर्यटक मुलुक भित्रिन्छन्।

पछिल्लो समय सञ्चालनमा आएको भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखराको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पनि मुलुकको पर्यटनको आयतन फराकिलो बनाएको छ।

हाल गौतबबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई उडान गर्न नसकिएको अवस्था रहे पनि सधैं त्यही अवस्था नरहने अध्यक्ष शाहले बताए। ‘अहिले पो अन्तर्राष्ट्रिय उडान भएको छैन। यसको मतलब सधैं हुँदैन भन्ने त होइन नि !’, उनले भने, ‘भविष्यमा अन्तर्राष्ट्रिय उडान हुन्छ नै त्यसलाई हेरेर पनि होटल निमार्ण र सञ्चालनमा राम्रो भविष्य छ।’  

नेपालमा पर्यटनको राम्रो सम्भावना देखेर नै अन्तर्राष्ट्रिय चेन होटलहरू धमाधम निर्माण भइरहेका छन् भने कतिपय सञ्चालनमा आइसकेका छन्। होटल मेरियट, हायात होटल, सांग्रिला होटल, र्‍याडिसन होटल नेपालका अन्तर्राष्ट्रिय पाँचतारे चेन होटलहरू हुन्। यस्तै शेराटन, हिल्टन होटलहरू निर्माणधीन अन्तर्राष्ट्रिय तारे होटलहरू हुन्।

गत वर्ष १० लाख पर्यटक भित्रिएकाले सरकारी लक्ष्य पूरा गरेको थियो। कुल १० लाख १४ हजार ८७४ जना पर्यटक हवाई मार्गबाट मुलुक भित्रिएका थिए। यसअघि सन् २०१९ मा अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएका थिए। त्यसबेला ११ लाख ९७ हजार १९१ जना पर्यटक नेपाल भित्रिएका थिए।

सन् २०१९ को तुलनामा २०२३ को पर्यटक आगमनमा ८५ प्रतिशतले वृद्धि भएको विभागले बताएको छ। यस्तै पछिल्लो समय भारत र चीनबाहेक अमेरिका, रुस र युरोपियन मुलुकबाट आउने पर्यटकको संख्या पनि क्रमिक रूपमा बढिरहेको छ। पछिल्लो समय होटल व्यवसायीहरू पनि पर्यटक आगमनको वृद्धि देखेर उत्साहित भएका छन्।

कोभिडपछिको पर्यटनक्षेत्रको सुधार र पछिल्लो समय आन्तरिक पर्यटकको गतिविधि बढेसँगै होटल क्षेत्रलाई निकै लाभ पुगेको व्यवसायीहरूको धारणा छ। यस्तै हवाई माध्यमबाट मात्रै नभएर सडकमार्गबाट पनि उल्लेख्य मात्रामा पर्यटक भित्रिरहेका छन्।

विषेशगरी भारतबाट नेपाल भ्रमणमा आउने पर्यटक हवाईमार्ग मात्र होइन सडकमार्गबाट पनि उत्तिकै आइरहेका छन्। जसको सरकारी तथ्यांक भने छैन। हाल पर्यटन क्षेत्रको व्यवसाय उकालो लाग्नुको अर्को मुख्य कारण भनेको नेपालीहरूमा घुमफिरमा खर्च गर्ने बानीको विकास हुनु पनि हो।

पछिल्लो समय पर्यटकीय स्थानहरूमा विदेशी पर्यटक सँगसँगै आन्तरिक पर्यटक पनि उत्तिकै मात्रामा घुमफिर गर्न थालेपछि होटल क्षेत्रलाई थप राहत भएको हो।  

यसैक्रममा आर्थिक वर्ष २०७९-८० मा नौ लाख ३२ हजार ५३२ जना स्वदेशी तथा विदेशी पर्यटकहरूले संरक्षित क्षेत्र भ्रमण गरेको तथ्यांक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांकले देखाएको छ। यो बाह्य तथा आन्तरिक पर्यटकको एकीकृत तथ्यांक हो। त्यसैले आन्तरिक पर्यटकको सम्भावनालाई देखेर पनि पछिल्लो समय होटल क्षेत्रमा लगानी बढिरहेको अध्यक्ष शाहले बताए।

पर्यटन विभागको तथ्यांक अनुसार हाल ३२ वटा चार तारे होटल, एउटा पाँच तारे डिलक्स होटल, तीनवटा डिलक्स-हेरिटेज, दुई वटा लक्जरी हेरिटेज बुटिक र एक सामान्य हेरिटेज बुटिक स्तरका तारे होटलहरू विभागमा दर्ता भएका छन्। व्यवसायीहरूका अनुसार पर्यटन प्रवद्र्धन र विकासको सम्भावनामा हाल हवाई सम्पर्क र बाटोहरूको व्यवस्था सरल र सहज भए तारे होटलहरू मजाले सञ्चालन हुने बताएका छन्।

होटल निर्माणमा अर्बौं रूपैयाँ लगानी गर्ने मात्र होइन लाखौंको रोजगारी सिर्जना गरेर सरकारलाई आर्थिक रूपमा सशक्त योगदान पुर्‍याउने होटल क्षेत्र सरकारलाई धेरै राजस्व तिर्ने क्षेत्र पनि हो।

यस्तै हरेक वर्ष १० देखि १५ प्रतिशत पर्यटकको संख्या क्रमशः बढ्नु, अन्तर्राष्ट्रिय एयरपोर्ट सञ्चालनमा आउनु, पर्यटनको आयतन क्रमशः फराकिलो हुँदै जानु, पूर्वाधार विकासले प्राथमिकता पाउनुले पनि होटल व्यवसायको सम्भावना बलियो देखिन्छ।

प्रकाशित: १३ फाल्गुन २०८० ०६:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App