नेपाल चिया विकास निगम लिमिटेड अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ।
नेपाल चिया तथा कफी विकास बोर्डको आयोजना तथा उद्योग वाणिज्य संघ चितवन, होटल व्यवसायी संघ चितवन र भरतपुर महानगरपालिकाको सह-आयोजनामा चितवनको नारायणी नदीको किनारमा २६/२७ माघमा सञ्चालित ‘बृहत् चिया प्रदर्शनी तथा टी टेस्टिङ’ कार्यक्रममा निगमले सम्मान पाएको हो।
मेलामा चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाको सहभागिता रहेको थियो। विभिन्न चिया उत्पादक कम्पनीहरुले आफ्नो उत्पादनको प्रदर्शनी गरेका थिए।
प्रदर्शनीमा ८ औं एसिया टी कम्पिटिसन-२०२३ आयोजना गरिएको थियो। सो कम्पिटिसनमा नेपाल चिया विकास निगमको कन्याम बगानको चियाले गोल्ड विजेता भएकाे हाे।
गोल्ड विजेता निगमका कार्यकारी अध्यक्ष सुभाषचन्द्र संघइलाई कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले सम्मान गरेका थिए।
प्रत्येक वर्ष चीनमा विश्वभरिका १७ चिया उत्पादन गर्ने देशहरु बीच हुने प्रतियोगितामा नेपालको तर्फबाट नेपाल चिया विकास निगमले सहभागिता जनाएको थियो। निगमको कन्याम चिया बगानले २०२३ को उत्कृष्ट चिया भनेर गोल्ड विजेता पाएको हो।
कम्पनीको अनुसार यस पुरस्कारले नेपाली चियालाई अन्तर्राष्ट्रिय बजारमा थप चिनाउन र प्रवर्द्धन गर्न निकै ठूलो टेवा दिने छ।
प्रकाशित: २ फाल्गुन २०८० १८:१६ बुधबार