२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

चुलाचुलीका किसान सिमल तरुल खेतीतर्फ आकर्षित

फाइल तस्बिर

पछिल्लो समय इलाम चुलाचुलीका किसान सिमल तरुल खेतीतर्फ आकर्षित भएका छन्। धान, मकै तथा कोदोलगायत अन्नबाली उब्जनी हुने खेतीयोग्य जमिनमा किसानले तरुल खेती गरेर मनग्य आम्दानीसमेत लिन थालेका हुन्।

अन्य बालीभन्दा सिमल खेती गर्न सजिलो र आम्दानीसमेत बढी हुने भएकाले त्यसतर्फ किसानको आकर्षण बढेको चुलाचुली गाउँपालिका– ५ का किसान मतिराज राईले जानकारी दिए। ‘सिमल खेती गर्न अन्य खेतीभन्दा सजिलो र बढी मेहनत गर्नुनपर्ने भएकाले यसको खेतीतर्फ किसानको आकर्षण बढेको हो’, उनले भने।

थोरै लगानीबाटै राम्रो आम्दानी लिन सकिने भएकाले यहाँको किसानको रोजाइमा सिमल खेती परेको हो। यहाँका किसानले एकल तथा सामूहिक रूपमा व्यावसायिक सिमल खेती गर्दै आएका छन्।

घरमा खाजाका लागि रोपण हुँदै आएको सिमल तरुलको माग पछिल्ला दिनमा बजारमा बढेसँगै व्यावसायिक खेती विस्तार हुन थालेको चुलाचुली– ४ का किसान धनबहादुर योगीले बताए। ‘पहिले पहिले सिमल घरमा खाजा खानका लागि मात्र रोप्ने गरिन्थ्यो, तर पछिल्लो समय बजारमा माग बढेपछि अन्य खेती मासेर व्यावसायिक रूपमा नै यसको खेती गर्न थालेका छौँ’, उनले भने।

उन्नाइस बिघा १३.६ कट्ठा क्षेत्रमा व्यावसायिक सिमल खेती हुँदै आएको चुलाचुली गाउँपालिकाको तथ्यांक छ। यहाँका धेरै किसानले करेसाबारीमा सिमल खेती लगाएका छन्। यहाँ उत्पादिन सिमल तरुल निर्यातका लागि बजारको कुनै समस्या छैन। सिमल तरुल किन्न स्थानीय व्यापारी किसानको बारीमा नै पुग्ने गरेका छन्।

व्यावसायिक उत्पादन बढेसँगै सिमल तरुल खरिद गर्न चुलाचुली आउने स्थानीय व्यापारीको संख्यासमेत बढ्दै गएको योगीले बताए। तरुल बजार निर्यातका लागि स्थानीय व्यापारीबाट संकलन हुने गरेको छ। सङ्कलन भएको तरुल व्यापारीमार्फत दैनिकरूपमा झापाको दमक, बिर्तामोड, मोरङको उर्लाबारी, सुनसरीको इटहरी र धरानसम्मका बजार पुग्ने गरेको छ।

सिमल तरुलको खरिदबिक्री पुस, माघ र फागुनमा बढी हुन्छ। बजारमा यसको माग बढ्दै गएपछि किसानको मुख्य आम्दानीको स्रोतसमेत बन्न थालेको छ। सुगर, प्रेसरलगायत दीर्घरोगीले समेत खान मिल्ने सिमल तरुल किसानको बारीबाट प्रतिकिलो  ३० देखि ४० रूपैयाँमा बिक्री हुँदै आएको छ।

तरुल प्रायः बोक्रा तासेर उसिनेपछि खाने गरिन्छ। यसलाई सुकाएर पीठो बनाई रोटी खाने पनि चलन छ। आदिवासी जानजाति समुदायले भने स्थानीय रक्सी उत्पादन गरी बिक्रीसमेत गर्दै आएका छन्।

तरुल खेती प्रवद्र्धन गर्न चुलाचुली गाउँपालिकाले किसानलाई अनुदान दिँदै आएको छ। चुलाचुलीले गत आर्थिक वर्ष तरुलको व्यावसायिक खेती गर्ने ३८ जना किसानलाई १२ लाख २४ हजार दुई सय ९३ रुपैयाँ अनुदान दिएको थियो।

चुरेको फेदीमा रहेको चुलाचुली गाउँपालिकामा तरुल खेतीका लागि उपयुक्त रहेको कृषि विज्ञ टोलीको निष्कर्षपछि चुलाचुली गाउँपालिकाले यस खेतीलाई प्रवद्र्धन गर्न थालेको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुले बताए।

‘उपभोक्ता र बजार बढेसँगै पछिल्लो समय सिमल तरुल खेती गर्ने किसानको संख्या बढ्दो छ’, उनले भने, ‘फलफूल उत्पादनको प्रथम सूचीमा राखेर सिमल तरुल खेती विस्तार गर्ने योजनामा छौँ।’

यस वर्ष चुलाचुली गाउँपालिकाले तरुल खेतीलाई व्यावसायिक बनाउन पीठो उत्पादन गर्ने उद्योग स्थापना गर्ने तयारीमा रहेको अध्यक्ष केरुङले जानकारी दिए। चुलाचुली– २ मा ६० लाखको लागतमा पीठो उत्पादन गर्ने उद्योग स्थापना गर्न लागेको उनले बताए।

इलामको १० स्थानीय तहमध्ये चुलाचुली र माङसेबुङ गाउँपालिका एवं माई नगरपालिकाको तल्लो क्षेत्रमा व्यावसायिक तरुल खेती हुँदै आएको छ। –रासस

प्रकाशित: २९ माघ २०८० ०९:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App